+
+

उपराष्ट्रपति उम्मेदवारमा सत्ता गठबन्धनभित्र जुटेन सहमति

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते १९:३०
सत्तारुढ गठबन्धनको बैठक ।

१ चैत, काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवारबारे साझा धारणा बनाउन बसेको १० दलको बैठक विना निश्कर्ष सकिएको छ ।

पर्सि ३ चैतमा हुने उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका १० दलबाट दुई जना उम्मेदवार छन् । जनता समाजवादी पार्टी (जसपा) का रामसहाय प्रसाद यादव र जनमत पार्टीकी मतता झा उम्मेदवार छन् ।

नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ ।

सत्ता गठबन्धनबाट साझा उम्मेदवार तय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार सरकारी निवास, बालुवाटारमा १० दलको बैठक बोलाएका थिए ।

बैठकमा एउटै उम्मेदवार बनाउने विषयमा छलफल भएपनि कुनै सहमति हुन सकेन । बैठकपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भने, ‘सकारात्मक छलफल भएको छ । भोलि बसेर एउटा धारणा बनाउने कुरा भएको छ ।’

गठबन्धनका ठूलो चार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा, यादवको पक्षमा छन् । चार दलबीच मंगलबार पनि छलफल भएको थियो । १० दलको बैठकमा पनि उनीहरुले साझा उम्मेदवार बनाउनुपर्नेमा जोड दिएका थिए । तर साना दलहरु ममताको पक्षमा छन् ।

बालुवाटार बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउतले उपराष्ट्रपति चुनावमा मित्रवत प्रतिस्पर्धा गर्ने प्रस्ताव गरेका थिए । उनले बरु केन्द्र र प्रदेशको सरकार पनि छाड्न तयार रहेको बताएको एक नेताले सुनाए ।

बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पनि उपराष्ट्रपति, प्रदेश २ को मुख्यमन्त्री र उपचुनावबारे प्याकेजमा सहमति गर्नुपर्ने प्रस्ताव राखेका थिए । उनको संकेत जसपाले उपराष्ट्रपति दिए प्रदेश २ को मुख्यमन्त्री र बारा २ को हुने उपचुनावको उम्मेदवारमा अरुलाई समर्थन गर्नुपर्ने थियो । तर जसपा अध्यक्ष उपेन्द्र यादवले तत्काल उनको प्रस्तावलाई अस्वीकार गरेका छन् ।

सहमति नजुट्ने संकेत देखेपछि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले दलहरुबीच छुट्टाछुट्टै छलफल गर्ने र भोलि संयुक्त बैठक बसेर साझा उम्मेदवार खोज्ने बताएका छन् । साथै उनले सात प्रदेशको मुख्यमन्त्रीबारे नयाँ शिराबाट सहमति खोज्ने बचन समेत नेताहरुलाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?