+
+

एसियालीस्तरको महिला भलिबल प्रतियोगिता नेपालमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १६:११

३ चैत, काठमाडौं । नेपाल भलिबल संघले सेन्ट्रल एसियन भलिबल संघ (काभा) अन्तर्गत रहेका ८ टिमको संग्लग्नतामा काभा वुमेन्स च्यालेन्ज कप भलिबल प्रतियोगिता सन्चालन गर्ने भएको छ ।

यो प्रतियोगिता २०८० जेठ ६ देखि १५ गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सन्चालन हुनेछ । नेपालले सेन्ट्रल एसियालीस्तरमा पहिलोपल्ट महिलाको प्रतियोगिता आयोजना गर्न लागेको हो । पुरुषतर्फ भने सन् २०१९ मा आयोजना गरिसकेको छ ।

यो प्रतियोगितामा महिला भलिबलमा एसियाली वरीयतामा पाँचौं तथा काभामा शीर्ष स्थानमा रहेको काजाकस्तान र काभामा दोस्रो स्थानमा रहेको भारतसहित ८ टिमको संग्लग्नता रहेनछ । यी दुईसहित किर्गिस्तान, उज्वेकिस्तान, नेपाल, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले यो प्रतियोगिता खेल्नेछन् ।

नेपालले सन् २०१९ र २०२२ गरी दुईपल्ट सेन्ट्रल एसियन सिनियर वुमेन्स भलिबल प्रतियोगिताको उपाधि जितेको थियो । यो प्रतियोगिता त्यसकै निरन्तरता भए पनि काभामा उपल्लो वरीयताका टिमहरुसमेत सहभागी हुने भएकाले प्रतिस्पर्धात्मक बन्नेछ ।

‘काभाले यसअघि १४ सदस्य टोलीलाई वर्गीकरण गरी छुट्टाछुट्टै प्रतिस्पर्धा गराउने गरेको थियो,’ काभाका सदस्यसमेत रहेका नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले भने, ‘यसपल्ट सबैका लागि एउटै प्रतियोगिता आयोजन ागर्न लागिएको हो । १४ मध्ये ८ टिमले सहभागिता जनाउने निश्चतता गरेका छन् ।’

नेपालले यसअघि जितेको दुवै प्रतियोगिता तल्लो वरीयताका टिमहरुबीचको प्रतिस्पर्धामा थियो ।

प्रतियोगिताका लागि नेपाल टिमले अघिल्लो महिनादेखि तयारी सुरु गरिसकेको छ । विश्व भलिबल महासंघको सहयोगमा आएका बेल्जियन प्रशिक्षक जान डी ब्रेन्डिटले अघिल्लो सातादेखि प्रशिक्षण सुरु गरिसकेका छन् ।

प्रतियोगिताका लागि राखेपको ५० लाख बजेट

शुक्रबार प्रतियोगिताको लोगो सार्वजनिक गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगिता सन्चालनका लागि राखेपले ५० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।

उनले आसन्न वजेटमा पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना सहयोगका लागि छुट्टै शीर्षकमा वजेट विनियोजन हुने जानकारी दिँदै वजेट अपुग भएमा राखेपले जिम्मा लिने बताए । ‘तपाईंहरु प्रयास गर्नुहोला । सकारात्मक सोचबाट गरिएको कार्यक्रम सम्पन्न गर्ने जिम्मा राखेपको पनि हो । वजेटकै कारणले प्रतियोगिताको गरिमा कम हुँदैन,’ उनले भने ।

भलिबल संघले यो प्रतियोगितामा २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

सदस्यसचिव घिसिङले यही वर्षभित्र राष्ट्रिय खेल भलिबलको आफ्नै कभर्डहलका लागि डीपीआरको काम सम्पन्न गर्ने बताए । भलिबल संघ र राखेपको समन्वयमा यही महिनाभित्र जग्गा टुंगो लगाउने उनको दावी छ ।

सरकारले भलिबल कभर्डहलका लागि चालू आर्थिक वर्षमा १ करोड रुपैयाँ छुट्याएको छ । त्यसो त अघिल्ला दुई वजेटमा विजियोजित १–१ करोड रुपैयाँ फ्रिज भएको थियो । यसपल्ट संघले भक्तपुरको मध्यपुर नगरपालिका र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पाएको जग्गालाई शर्टलिष्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?