+
+

सम्माननीय सभामुखको अमर्यादित टिप्पणी, स्वतन्त्र प्रेसमाथि आपत्तिजनक आक्षेप

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते २०:०४

३ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले स्वतन्त्र प्रेसमाथि आपत्तिजनक आक्षेप लगाउँदै अमर्यादित टिप्पणी गरेका छन् । आज शुक्रबार उनलाई भेट्न संसद सचिवालय पुगेको पत्रकार महासंघ प्रतिनिधिमण्डलसँग कुरा गर्ने क्रममा सभामुख घिमिरेले पदीय मर्यादाबाहिरका गैरजिम्मेवारी टिप्पणी गर्न पुगेका हुन् ।

‘पत्रकारहरुले जति जिम्मेवारीका साथ पत्रकारिता गर्नुपर्दथ्यो, त्यो खालको छैन’, घिमिरेले भने, ‘पित पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ । जे जे कारणले भए पनि तिनीहरु प्रभावित छन् । अझ भन्ने हो भने बिक्रीमा छन् पत्रकारहरु ।’ पत्रकारहरुकै बीचमा रहेर सभामुख घिमिरेले अझ अगाडि बढेर भनेका छन्, ‘पत्रकारहरु बिक्रीमा छन् । संघ (पत्रकार महासंघ) बिक्रीमा छ भन्यो सभामुखले भन्लान कि भनेर मैले रोकि राख्नुपर्दैन ।’

आफ्नो यस्तो गम्भीर टिप्पणीलाई बाहिर नभन्न स्वयम सभामुख घिमिरेले पत्रकारहरुसित आग्रह पनि गरेका छन् । ‘यो (आफ्नो गम्भीर आरोप) भन्न पनि हुँदैन तपाईंहरुले किनभने यो हाम्रो आफ्नो भित्री कुरा हो नि,’ उनले भने ।

सभामुखजस्तो गरिमामय र तटस्थ संवैधानिक कर्तव्य निर्वाह गर्नुपर्ने पदमा बसेर घिमिरेले तल्लो स्तरको अभिव्यक्ति दिएकामा सरोकारवालाहरुले गम्भीर आपत्ति जनाएका छन् । चौतर्फी टिकाटिप्पणी हुन थालेपछि सभामुख सचिवालयका तर्फबाट त्यसलाई सच्याउन खोजिएको छ ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीको वक्तव्यमा भनिएको छ, ‘आएका प्रतिक्रियाहरुप्रति ध्यानाकर्षण भएको छ, सञ्चार क्षेत्रमा कतिपय विकृति पनि रहेको, त्यसलाई सुधार गर्नुपर्ने सन्दर्भमा व्यक्त धारणालाई अन्यथा नबुझिदिन अनुरोध छ ।’

तर पत्रकार महासंघले सभामुखको वक्तव्य सुधार र परिवर्तनका लागि नभई अक्षम्य आरोपका रुपमा प्रस्तुत हुनु लाजमर्दो भएको टिप्पणी गरेको छ । सामान्य शिष्टाचारका लागि भेट्न पुगेका बेला सभामुखबाट अत्यन्तै अनपेक्षित बोली सुन्नुपरेको भन्दै असन्तुष्टि जनाएको छ । संघका प्रतिनिधिहरुले पत्रकारहरु बिक्रीमा रहेको असंवैदनशील टिप्पणीलाई कि त तथ्यले पुष्टि गर्न, नत्र माफी माग्न माग गरेका छन् ।

‘सम्माननीय पदमा बसेर बोल्नै नहुने कुरा बोल्नुभएको छ, स्वतन्त्र प्रेसमाथिको आक्षेप आपत्तिजनक छ,’ महासंघ महासचिव रोसन पुरीले भने, ‘सक्नुहुन्छ भने तथ्यले पुष्टि गर्नुहोस्, नत्र माफी माग्नुपर्छ । यस्तो आक्षेप र धम्की पत्रकारहरुलाई अस्वीकार्य छ ।’

प्रेसमाथि उठ्ने आलोचना, सुझाव सुन्न महासंघ सदैव तयार रहेको भन्दै उनले गलत नियत राखेर गरिने आरोप सह्य नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?