+
+

तिलोत्तमा गोल्डकपको उपाधिका लागि मनाङ र सुदूरपश्चिम भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ११ गते १०:४८

११ चैत, बुटवल । २२औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आज सुदूरपश्चिम ११ र मनाङ मर्स्याङ्दी क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

दुई विभागीय सहित ८ टिमले भाग लिएको प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने यी दुवै टिमले हालसम्म तिलोत्तमा गोल्डकपको उपाधि जित्न सकेका छैनन् ।

चैत ४ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टर देविनगरमा आज दिउँसो तीन बजेदेखि सुरु हुने छ ।

सुदूरपश्चिम थ्री स्टारलाई पराजित गर्दै पहिलोपटक तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको हो । सुदूरपश्चिमले २ जना भारतीय खेलाडीसहितको टिम उतारेर मनाङको चुनौती सामना गर्दैछ ।

मनाङ भने फ्रेन्ड्स क्लबलाई ट्राइब्रेकरमा पाखा लगाउँदै उपाधि नजिक पुगेको हो । मनाङले तीनजना विदेशी खेलाडीसहितको टिम उतार्ने छ ।

फाइनलअघि भएको प्रिम्याच कन्फेरेन्समा दुवै टिमले उपाधी जित्ने दाबी गरेका छन् । यद्यपि सुदूरपश्चिमका प्रशिक्षक अनिल कठायतले मनाङ पुरानो ए डिभिजन क्लब र भर्खरै मात्र मकवानपुर गोल्डकपको उपाधि जितेकाले दबाब महसुस गरेको स्वीकारेका छन् ।

‘हामीले पक्कै पनि दबाब महसुस गरेका छौं तर युवा खेलाडीले भरिएको टिम भएकाले उच्च मनोबलका साथ खेल्छौं,’ कठायतले भने, ‘दर्शकको सपोर्ट हामीलाई छ, त्यसले पनि जितका लागि ऊर्जा दिनेछ ।’

मनाङका टिम म्यानेजर शिव लामाले राष्ट्रिय टिममा खेलेका अनुभवी खेलाडी भएकाले उपाधि जित्नेमा ढुक्क भएको बताए । ‘हामीले सुदूरपश्चिमलाई कमजोर टिम ठानेका छैनौं, तर उपाधि जित्नेमा कन्फिडेन्ट छौं ।’

गोल्डकपको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ, उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, विधागत रुपमा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले बताए ।

२१औं संस्करणको उपाधि क्यामरुनले दाउफिन्स क्लबले जितेको थियो । उसले नगद ८ लाख ८० हजार र उपविजेता नेपाल पुलिसले ५ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको थियो ।

तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि सुरू भएको प्रतियोगिताको २२औं संस्करण ४६ वर्षमा हुन लागेको हो ।

बुटवल उपमहनगरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।

हालसम्म को को विजयी भए ?

२०३३ सालमा भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद् रुपन्देही विजयी भएको थियो भने दोस्रोमा बम्बई फर्टिलाइजर मुम्बई, तेस्रो, नवौं, दशौं र तेह्रौमा महेन्द्र पुलिस क्लब, चौथो, पाँचौ र छैटौंमा कालिका स्पोर्टिङ क्लब, सातौं जनकपुर चुरोट कारखाना विजयी भएका थिए ।

त्यस्तै, आठौमा आरएनएसी, एघारौंमा महिन्द्र एण्ड महिन्द्र मुम्बई, बाह्रौं र सोह्रौमा त्रिभुवन आर्मी क्लब, चौधौं र अठारौंमा रुपन्देही ११, पन्ध्रौमा फ्रेन्ड्स क्लब, सत्रौमा जावलाखेल युथ क्लब र १९ औं संस्करणको उपाधि सिएमसी संकटा क्लवले जितेका थिए । २०औं तिलोत्तमा गोल्डकपको उपाधि थ्री स्टार क्लव काठमाडौंले जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?