+
+

स्मार्टफोन प्रयोगकर्ताले गर्नै नहुने ८ गल्ती

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते १८:१०

काठमाडौं । स्मार्टफोन हाम्रो दैनिकीको अभिन्न अंग बनिसकेको छ र हामीले आफ्ना दैनिक जीवनका धेरै कामहरुका लागि स्मार्टफोनमा निर्भर हुन थालेका छौं ।

मित्रजन तथा परिवारसँग कुराकानी गर्नेदेखि सोसल मिडियामार्फत् मानिसहरुसँग जोडिन र मनोरञ्जन तथा उत्पादनशील कामहरुका गर्नका लागि समेत हामीले स्मार्टफोन प्रयोग गर्दछौँ ।

तर स्मार्टफोन प्रयोग गरिरहँदा यस्ता धेरै कुराहरुमा हामीले ध्यान पूराउनुपर्ने हुन्छ, जुन हामीलाई थाहा नहुन पनि सक्दछ ।

यदि सावधानी नअपनाउने हो भने हाम्रो स्मार्टफोन ह्याक हुने तथा त्यसका डाटा गलत हातमा पर्ने जोखिम हुन्छ ।

त्यसैले स्मार्टफोन प्रयोगलाई सुरक्षित बनाउनका लागि तपाईँ यी ८ गल्तीबाट बच्नु पर्छ ।

१. पछिल्ला फार्मवेयर तथा सेक्युरिटी अपडेटलाई नजरअन्दाज गर्ने

आफ्नो स्मार्टफोनमा उपलब्ध भएका पछिल्ला अपडेटहरु इन्स्टल नगर्ने वा ढिलाइ गर्ने बानी हामीमध्ये धेरैको हुन्छ ।

यसो गर्दा नयाँ फिचर वा परिवर्तनहरु प्रयोग गर्न नपाइने मात्र होइन फोनको सेक्युरिटी पनि जोखिममा पर्ने सम्भावना रहन्छ ।

यस्ता अपडेटमा पछिल्लो सेक्युरिटी प्याच समेत संलग्न हुन्छन् जसले डिभाइसको सेक्युरिटीलाई सशक्त बनाउँदछ जसबाट फोन ह्याक हुने र मालवेयरले आक्रमण गर्ने जोखिम रहँदैन ।

२. एप इन्स्टल गर्दा सबै कुराको अनुमति दिने

आफ्नो फोनमा इन्स्टल गरेका एपहरुले राम्रोसँग काम गर्नका लािग विभिन्न कुराको अनुमति प्रदान गर्नुपर्ने हुन्छ । तर सबै खालका अनुमतिहरु प्रदान गर्नु अनिवार्य तथा आवश्यक हुँदैन ।

एपहरुले कहिलेकाहीँ विभिन्न काम नलाग्ने अनुमतिका लागि पनि माग गरेका हुन्छन्, जस्तै व्यक्तिगत जानकारीमा पहुँचको अनुमति वा क्यामरा तथा माइक्रोफोनमा पहुँचको अनुमति आदि ।

तर सो एपका लागि त्यस्ता जानकारीहरु आवश्यक हुँदैनन् । त्यसैले तपाईँले कुनै पनि एप डाउनलोड गर्दा एप चल्नका लागि अत्यावश्यक जानकारीहरु बाहेक अरुमा पहुँचका लागि अनुमति नदिनुहोस् ।

३. जस्तोसुकै केवल वा चार्जरले फोन चार्ज गर्ने

धेरै मानिसहरुले गर्ने गल्ती हो यो । अधिकांश फोनमा युएसबी टाइप सी चार्जिङ पोर्ट रहे पनि हरेकले चार्जिङका लागि फरक फरक चार्जिङ प्रविधिको उपयोग गरेका हुन्छन् ।

कमसल तथा अनधिकृत चार्जरबाट फोन चार्ज गर्नाले फोनको ब्याट्रीमा क्षति पुग्नुका साथै सुरक्षा खतरा पनि पैदा हुन्छ ।

४. रातभर फोन चार्जमा छाड्ने

हामी धेरैजसोले गर्ने अर्को एक आम गल्ती चाहीँ फोनलाई रातभर चार्जमा छाड्नु पनि हो । अधिकांश आधुनिक फोनहरु ब्याट्री जोगाउने प्रविधिले युक्त हुन्छन् ।

तर फोनलाई आवश्यकता भन्दा लामो समयसम्म वा धेरै पटक चार्ज गरिरहँदा त्यसले ब्याट्रीको आयु तथा टिकाउपना घटाइदिन्छ । कहिलेकाहीँ यसरी रातभर चार्जमा छाड्दा फोन तातेर पड्किने जोखिम पनि हुनसक्छ ।

५. नियमित रुपमा ब्याकअप नराख्ने

स्मार्टफोन चोरी भएको, हराएको वा बिग्रिएको खण्डमा फोनमा भएका विभिन्न डाटा, फोटो, भिडियो आदि पनि नासिन्छन् । तर फोनमा रहेका डाटा यसरी नास हुन नदिनका लागि फोनका डाटा नियमित रुपमा ब्याकअपमा राख्ने गर्नुहोस् । उसो एन्ड्रोइड डिभाइसमा गुगल ड्राइभमा अटोमेटिक ब्याकअप फिचर हुन्छ भने आइओएसमा पनि आइक्लाउडमा यो फिचर हुन्छ ।

६. अविश्वसनीय श्रोतबाट एप डाउनलोड गर्ने

एप्पलले थर्ड पार्टी एप स्टोर वा वेबसाइटबाट कुनै पनि एप डाउनलोड गर्न नदिने भएकाले यो कुरा चाहीँ केवल एन्ड्रोइड डिभाइसको हकमा मात्रै लागू हुन्छ ।

एन्ड्रोइडमा कुनै पनि वेबसाइट वा थर्ड पार्टी एपबाट एपीके फाइल डाउनलोड गरेर फोनमा इन्स्टल गर्ने सुविधा हुन्छ ।

तर यस्तो अविश्वसनीय श्रोतबाट कुनै पनि एप फोनमा डाउनलोड गर्नु सुरक्षाको दृष्टिले खतरनाक हुन्छ । त्यस्ता फाइलमा मालवेयर वा स्पाइवेयर हुन सक्दछन् जसले तपाईँको फोनलाई क्षतिग्रस्त बनाउने वा तपाईँका व्यक्तिगत जानकारीहरु चोरी गर्ने खतरा हुनछ ।

७. सार्वजनिक वाइफाइमा इन्टरनेट चलाउने

सार्वजनिक रुपमा उपलब्ध वाइफाइ विभिन्न कारणले असुरक्षित हुन्छ । उदाहरणका लागि यसमा मालवेयर हुन सक्दछन् । यसले फोनमा हानिकारक फाइल पठाएर प्रयोगकर्ताकोे फोनका डाटाहरुको जासूसी गर्ने र चोर्ने समेत गर्न सक्छन् ।

८. ब्लूटुथ सधैं खुल्ला राख्ने

काम नपरेको बेला समेत फोनमा ब्लूटुथ तथा एनएफसी खुल्ला राख्दा कुनै पनि फोन अनधिकृत गतिविधिको निसानामा पर्ने जोखिम उच्च हुन्छ । यसबाट तपाईँको फोन ह्याक पनि गर्न सक्दछ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?