१४ चैत, काठमाडौं । एउटा खेलाडीले कति वर्षको उमेरसम्म सक्रिय खेल जीवनलाई कायम राख्न सक्छ ? यसको उत्तर सहज छैन । तर बढ्दो उमेरमा शारीरिक रूपमा फिट रहनु पनि त्यति नै कठिन हुन्छ । त्यसैले धेरै खेलाडीले ३२/३४ वर्षको उमेर लागेपछि शीर्षस्तरमा खेल्दाखेल्दै संन्यास लिन्छन् ।
नेपाली क्रिकेटर ऋतु कनौजिया अपवाद हुन्, जसले ४१ वर्षको उमेरमा खेलिरहेकी मात्र छैनन्, टिमलाई जिताउन महत्वपूर्ण योगदान गरिरहेकी छन् ।
मेयर कप वुमेन्स च्याम्पियनसिपमा सुदूरपश्चिम प्रदेश टिमबाट खेलिरहेकी उनले शारीरिक र मानसिक रूपमा अब्बल भए उमेर त अंकगणित मात्र हो भन्ने प्रमाणित गरेकी छन् ।
विश्व खेलकुदमा ढल्किंदो उमेरका बीच खेलकुदमा उदाएका खेलाडीको संख्या कम छैन । इंग्ल्यान्डकी के ग्रीनले ४५ वर्ष २९२ दिनमा इंग्ल्याण्डको टिमबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेकी थिइन् । भारतकी मिथाली राज ४० वर्षको उमेरमा सक्रिय क्रिकेट खेलिरहेकी छन् । तर गैरव्यावसायिक खेल गतिविधि हुने नेपालमा एउटा खेलाडीको लगातारको लगाव उल्लेखनीय छ ।
राष्ट्रिय टिममा झण्डै १२ वर्ष बिताएकी ऋतु अहिले पनि शीर्ष स्तरमा क्रिकेट खेलिरहेकी छन् । ऋतुले बलिङ र ब्याटिङ दुवैतर्फ टिमको लागि ‘विनिङ गेम’ देखाइरहेकी छिन् । उनको फिटनेस कुनै युवा खेलाडीको भन्दा कम छैन ।
कहिलेसम्म खेल्ने ? भनेर प्रश्न गर्नेहरूलाई उनी सहज जवाफ दिन्छन्, ‘जहिलेसम्म सक्छु, खेल्छु । अनि मलाई पछि पार्न नयाँ कोही त आउनुपर्यो नि !’
२५ वर्षको उमेरमा डेब्यू
ऋतुको राष्ट्रिय टिममा आबद्धता पनि रोचक छ । क्रिकेटको हब मानिने सुदूरपश्चिम प्रदेशको बैतडीमा २०३९ सालमा जन्मिएकी उनले ८/९ वर्षको उमेरदेखि दाजुभाइसँग घर नजिकैको मैदानमा क्रिकेट खेल्थिन् । विद्यालयस्तरमा क्रिकेटसँगै भलिबल र ब्याडमिन्टन पनि खेलिन् । क्षेत्रीयस्तरका प्रतियोगिता जितिन् ।
अनि, २५ वर्षको उमेरमा राष्ट्रिय टिममा आबद्ध भइन् । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २००७ (वि.सं. २०६४)मा पहिलो पटक महिला राष्ट्रिय टिम बनाउने क्रममा देशभर छनोट प्रतियोगिता गरायो । सुदूरपश्चिमका डडेलधुरा, दार्चुला, बैतडी र कञ्चनपुर गरेर चार जिल्ला टिमबीच छनोट प्रतियोगिता गरिएको थियो । प्रतियोगिताको अन्तिम खेलमा पानी पर्यो । अनि, दुई टिम क्षेत्रीय छनोटका लागि काठमाडौं आए । बलिङ अलराउण्डर ऋतु पनि काठमाडौं आइन् र २५ वर्षको उमेरमा ऐतिहासिक राष्ट्रिय टिमका लागि छानिइन् ।
राष्ट्रिय टिममा परेपछि घर छाडेर काठमाडौं बस्न थालेपछि उनले अनेक प्रश्न सुन्नुपर्यो। बुवा टेकेन्द्र लाल पूर्व प्रहरी हुन् । उनलाई खेलबारे धेरथोर जानकारी थियो । त्यसैले परिवार र आफन्तको क्रिकेटर बन्ने उनको यात्रामा पूरा साथ थियो । ‘छिमेकीहरू भने घरजम गरेर बालबच्चा हुर्काउने उमेरमा क्रिकेट खेलेर समय खेर फालेको भन्दै नानाथरी कुरा गरिरहन्थे’, ऋतुले विगत सम्झिइन् ।
ऋतुले खेलमार्फत त्यसको जवाफ दिइन् । २०६४ देखि २०७६ सम्म राष्ट्रिय टिमबाट नियमित खेलेकी उनले नेपालका लागि एक खेलको कप्तानी समेत गरेकी छन् ।
२००९ को एसीसी वुमन्स टी–२० च्याम्पियनसिपमा सिंगापुरविरुद्ध नियमित कप्तान नीरा राजोपाध्याय उपलब्ध नभएपछि उनी पहिलोपल्ट कप्तान बनिन् । ‘मैले राष्ट्रिय टिममा खेल्न थालेपछि प्रदेश, जिल्ला र गाउँकै नाम आउन थाल्यो । मलाई किन खेलेको भनेर सोध्नेहरू चुप लाग्न थाले’, उनले सुनाइन् ।
क्रिकेट खेल्दै, सिकाउँदै
उमेरले चार दशक काटिसक्दा ऋतुको जीवनमा क्रिकेट बाहेक केही छैन । उनी हरदम क्रिकेटमा व्यस्त रहन्छिन् । नेपालमा प्रतियोगिता भएको समय त भइहाल्यो, नभएको समयमा उनी भारतका विभिन्न स्थानमा गएर खेलेकी छन् ।
‘नेपालमा हुने खेलमा भर परेर बस्दैनौं, भारतमा गएर प्रतियोगिता खेल्छु’ अहमदावाद र चण्डीगढमा पुगेर स्थानीय प्रतियोगिताको अनुभव लिएकी उनले भनिन्, ‘त्यहाँका लिगहरू पनि साह्रै व्यवस्थित हुन्छन् । सबै व्यवस्थापन राम्रो हुन्छ ।’
झण्डै एक दशक विभागीय टिम एपीएफबाट खेलेर घरेलु क्रिकेटमा सम्भव भएजति सबै उपाधि दिलाउन भूमिका खेलेकी ऋतु तीन वर्षयता आफ्नै क्षेत्रमा फर्केकी छन् ।
क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दको आग्रहमा प्रदेश टिम बलियो बनाउने लक्ष्यसहित फर्किएको उनले बताइन् । सुदूरपश्चिम प्रदेश टिमको कप्तानी युवा खेलाडी विन्दु रावललाई दिएर उनी आफ्नै प्रदर्शनमा केन्द्रित छन् । भन्छिन्, ‘कप्तान हुँदा टिमको सबै जिम्मेवारी हुन्छ, अहिले म मेरो खेलमा मात्र केन्द्रित छु ।’
टिममा सिनियर भएको नाताले बहिनीहरूलाई अह्राई–सिकाई गर्ने दायित्वलाई पनि उनले बिर्सेकी छैनन् ।
बैतडीमा उनको अर्को जिम्मेवारी छ । ऋतु यू–१६ र यू–१९ का महिला तथा पुरुष खेलाडीलाई सिकाउँछिन् । ‘त्यहाँ धीरेन्द्र चन्द र दीपेन्द्र चन्द दाइ हुनुहुन्छ, दाइहरूबाट धेरै कुरा सिक्दै म अब आउने पिंढीलाई सिकाउँछु’, कोरोना महामारीको समयमा पनि उनले जुनियर भाइबहिनीलाई क्रिकेट सिकाएको बताइन् ।
आगामी वैशाख १ गतेबाट बैतडी जिल्लास्तरीय प्रशिक्षक भएर काम गर्दैछिन् । आर्थिक अभावमा पनि बुवा र उनको इच्छाशक्तिले क्रिकेट खेलिरहेकी ऋतुले घरको अवस्था सुधार्न पनि यो जिम्मेवारी लिने तयारीमा छिन् । ‘जिम्मेवारी पाएँ भने मेरो क्रिकेट लगावलाई मैले सँगै डोहोर्याउन पाउँछु । मेरो घरको आर्थिक अवस्था पनि अलि सुधार हुन्छ’, उनले भनिन् ।
सानैमा आमालाई गुमाएकी ऋतुको घरमा अहिले बुवा र उनी मात्रै छन् । दिदी र बहिनीको विवाह भयो । भाइलाई कोरोना संक्रमणबाट गुमाउनुपर्यो । अहिले घरको हरेक जिम्मेवारी उनकै काँधमा छ । हालसम्म अविवाहित उनी भन्छिन्, ‘मलाई चाहिने बेलामा उहाँले साथ दिनुभयो, अब मैले गर्नुपर्छ ।’
राष्ट्रिय टिमको जर्सी लगाएर संन्यास लिने इच्छा
१० वर्षको उमेरबाट पछ्याएको क्रिकेटमा सक्रिय तरिकाले लागेको नै १५ वर्ष भयो । यो उमेरमा पनि यस्तो फिट रहनुमा खानपान र व्यायाम नै मुख्य भएको उनको अनुभव छ ।
फिटनेसका लागि बिहानै उठेर रनिङ गर्छिन् । डाइटमा पनि उत्तिकै ध्यान दिन्छिन् । नियमित व्यायामले फिजिकल रूपमा फिट बनाएको छ भने अनुभवले मानसिक रूपमा । ऋतु अब भने बढीमा एक वर्ष मात्र खेलाडी जीवन जिउन चाहन्छिन् ।
अनि, सक्रिय खेल जीवन अन्त्य गर्ने योजना सुनाउँदा पहिलो पटक नेपालको जर्सी लगाएको क्षण सम्झिन्छिन् । लामो करिअरलाई अविस्मरणीय बनाउन घरेलु समर्थक अघि संन्यासको सपना देख्न थालेको केही समय भयो । क्रिकेट संघमा औपचारिक प्रस्ताव राख्ने तयारीमा रहेकी ऋतुले भनिन्, ‘त्यही उत्साह र राष्ट्रिय टिमको जर्सी लगाएर नै संन्यास लिने मन छ ।’
संन्यासको निर्णय लिंदै गर्दा पनि उनले आफ्नो प्रदेशमा आफूलाई प्रतिस्थापन गर्ने खेलाडी भने भेटेकी छैनन् । यो नेपालको महिला क्रिकेटका लागि ठूलो समस्या समेत हो । त्यसले ऋतुले जिल्लामै बसेर नयाँ खेलाडी उत्पादनमा बाँकी जीवन बिताउने निर्णय गरेकी छन् । लेभल वान प्रशिक्षण कोर्स गरेकी उनले आफ्नो योजना सुनाइन्, ‘खेलाडीको रूपमा यत्तिका वर्ष क्रिकेटलाई दिएँ, अब केही नयाँ भूमिकामा महिला क्रिकेटलाई माथि उकास्न मद्दत गर्नेछु ।’
फोटो/भिडियो : शंकर गिरी/अनलाइनखबर
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4