+
+

पुस्तक लेख्दै महावीर पुन, पुस्तकको आम्दानी कृषि औजार कारखानामा लगाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १८:२७
महावीर पुन/फाइल तस्वीर

१४ चैत, वीरगञ्ज । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले पुस्तक लेख्न सुरु गरेका छन् । मंगलबार उनले सामाजिक सञ्जाल फेसबुक मार्फत पुस्तक लेख्न सुरू गरेको जानकारी गराएका हुन् ।

उनले पुस्तकको नाम ‘महावीर पुनको चकचके जीवनी’ भनी उल्लेख गरेका छन् । ‘लु, बल्ल बल्ल ११२ पेज लेखियो ‘महावीर पुन को चकचके जीवनी’ भन्ने किताब । घुम्ने र चकचक गर्न लागेको बानीले गर्दा थचक्क बसेर जीवनी लेख्न ता साह्रै नै गाह्रो पो हुँदो रहेछ । जे होस तोकिए कै समयमा किताब निस्कनेछ’ उनले लेखेका छन् ।

वीरगञ्जको कृषि औजार कारखाना सञ्चालनका लागि सरकारले सम्झौता बमोजिम रकम नदिएपछि उनले पुस्तक निकालेरै भएपनि कारखाना सञ्चालन गर्ने बताउँदै आएका छन् । किताब बिक्री गरेर आएको सम्पूर्ण रकम वीरगञ्जकोे कृषि औजार कारखाना सञ्चालन गर्नमा खर्च गरिने उनको भनाइ छ ।

राष्ट्रिय आविष्कार केन्द्रले प्रकाशन गर्ने किताबमा महावीर पुनको बाल्यकालदेखि अहिलेसम्मको सम्पूर्ण विवरण समाबेश गर्ने उनको भनाइ छ । किताबको मूल्य नेपालमा ९ सय रुपैयाँ र विदेशमा यूएस डलर ४ सय २५ हुने बताइएको छ ।

गत ११ असोजमा सरकारले ३० बर्षदेखि बन्द रहेको कृषि औजार कारखाना सञ्चालनका लागि महावीर पुन नेतृत्वको आविष्कार केन्द्रसँग सम्झौता गरेको थियो । कारखानामा मेसिन मर्मतसम्भारको काम धमाधम भइरहेको छ ।

कारखानामा खटिएका मेकानिकल इन्जिनियर प्रज्वल कोजु ५४ वटै मेसिन चल्ने अवस्थामा पुगिसकेको बताए । ‘कारखानामा ५४ वटै मेसिन चल्ने अवस्थामा ल्याइसकेका छौं, भित्री पार्टहरु मर्मत गर्न थालेका छौं,’ उनले भने, ‘कुन सामान धेरै बन्न सक्छ र त्यसको बजारको पनि अध्ययन गरिरहेका छौं ।’

कारखानाभित्र आविष्कार केन्द्रका स्वयंसेवी खटिएपछि साबेल, गैंती, कुटो, पाटे कुटो, चुच्चे कुटो, कल्टिभेटर (ट्याक्टरमा लगाउने हलो) लगायत कृषि सामग्री नमुनाका उत्पादन सुरु भइसकेको छ । साबेल बनाउने डाइ सबै पुरानो भइसकेको इन्जिनियर कोजुले बताए ।

कारखानामा नेपाली किसानलाई आवश्यक पर्ने कृषि औजार बनाउने, अनुसन्धान तथा विकास गर्ने उद्देश्य राखिएको छ । अनुसन्धान गरेर सफल भएका औजारको व्यावसायिक रुपमा उत्पादन र बजारीकरण गरिने केन्द्रले जनाएको छ । कारखानालाई पूर्ण क्षमतामा सञ्चालनका लागि आर्थिक स्रोत जुटेको खण्डमा अत्याधुनिक स्वचालित उपकरणहरु पनि जडान गर्ने केन्द्रको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?