+
+

सिर्सिया नदी प्रदूषण गर्ने ५ वटा उद्योगलाई १५ लाख जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १८:५५

१४ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषण गर्ने पाँच वटा उद्योगलाई १५ लाख रुपैयाँ जरिवाना गरेको छ । वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका पाँच वटा उद्योगलाई महानगरले ३/३ लाख रुपैयाँका दरले १५ लाख रुपैयाँ जरिवाना गरेको हो ।

वीरगञ्ज–२१ स्थित ग्लोबल लेदर, अर्निका प्रोसेसि, श्रीसिधि टेक्सटायल्स, मोरियम लेदर र वडा नम्बर ३२ मा रहेको दुर्गा पल्प्स एण्ड पेपर उद्योगलाई ३/३ लाखका दरले जरिवाना गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए ।

पाँच वटै उद्योगलाई मंगलबार पत्राचार गर्दै ७ दिनभित्र तोकिएको जरिवाना रकम महानगरपालिकामा बुझाउन निर्देशन दिइएको उनले बताए । ७ दिनभित्र जरिवाना वापतको रकम नबुझाएमा प्रचलित कानून अनुसार उद्योगहरु विरुद्ध थप कारबाही प्रकृया अगाडि बढाइने उनको भनाइ छ ।

महानगरको वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ को दफा ३७ मा नदी प्रदूषित गरेमा जरिवाना गर्न सक्ने व्यवस्था छ । यसअघि महानगगरले गत फागुन १६ गते उद्योगहरुबाट निस्केको खरानी सिर्सिया नदीमा फाल्न प्रयोग गरिएको तीन वटा ट्याक्टरलाई समेत नियन्त्रणमा लिएर १/१ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

बाराको रामवन झाडीबाट कञ्चन पानी सहित सुरु हुने र्सिसिया नदी पर्साको वीरगञ्ज महानगर हुँदै भारत बिहारको रक्सौलतर्फ बग्ने गरेको छ । औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टिलरी, टेक्सटायल, घ्यू, साबुन लगायतका उद्योगबाट निस्कने फोहोर, रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदो लगायतका विकारहरू नदीमा मिसिइँदा दुर्गन्धित बनेको स्थानीयबासिन्दा बताउँछन् । नदीे प्रदूषणले बारा पर्सामा नदी आसपास बसोबास गर्ने सर्वसाधरण मात्रै नभएर रक्सौलका बासिन्दा समेत प्रभावित हुँदै आएका छन् ।

सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन भनी महानगरले दुई महिनादेखि अभियान चलाईरहेपनि सन्तोषजनक परिणाम आउन सकेको छैन । महानगरका उपमेयरको संयोजकत्वमा गठित सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले निरन्तर नदी क्षेत्रका उद्योगको अनुगमन गर्ने भनिएपनि अहिले त्यो कार्य रोकिएको छ । सर्वसाधरणले प्रदूषित नदीमा नै यसवर्षको चैती छठ मनाएका छन् ।

यसअघि गरिएको अनुगमनका क्रममा नदी तटमा रहेका उद्योगबाट फोहोर (रसायनयुक्त पानी, छाला उद्योगको लेदो, कोइलाको खरानी लगायत नदी प्रदूषित गर्ने तरल तथा ठोस बस्तु ) सिधै नदीमा खसाल्दै आएको पाइएको थियो । गत फागुन ३ मा बसेको समितिको बैठकले नदी प्रदूषण गर्ने उद्योगहरुलाई कारबाही गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार महानगरले जरिवाना तोकेर बुझाउन पत्राचार गरेको हो ।

मौखिक तथा लिखित रुपमा नदीमा प्रदूषित पानी नछोड्न आग्रह गरेपनि अटेर गरेकोले जरिवाना लिन थालिएको गरिएको मेयर राजेशमान सिंहले बताए । सिंहले भने, ‘सिर्सिया नदी वीरगञ्ज सहरकै लाइफ लाइन हो । नदीलाई प्रदूषित बनाउने जो कसैलाई महानगरले कारबाही गर्छ, नदीलाई प्रदूषणमुक्त बनाउने अभियान अब रोकिँदैन ।’

अब अनुगमन पनि जारी राख्ने र नदीमा प्रशोधन नगरेको पानी खसाउने अन्य उद्योग कलकारखानालाई पनि कारबाही गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?