+
+

जब मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ चैत १५ गते १३:२५
रामवती सिंह ।

१५ चैत, काठमाडौं । सिरहाको अर्नामा गाउँपालिका-१ कि रामवती सिंह १२ दिन पैदल हिँडेर न्याय माग्न बर्दिबासबाट काठमाडौं आउने मिटरब्याज पीडित टोलीकी सदस्य हुन् । मिटर ब्याजीले आफ्नो जमिन खाइदिएको भन्दै संघीय सरकारसँग न्याय माग्न आएकी उनलाई १२ चैतमा मातातीर्थमा पत्रकारहरुले भेटेर अन्तर्वार्ता लिए ।

१२ गते साँझ सिंहले दिएको एक भिडियो अन्तर्वार्तामा आफ्नो जग्गा हडप्ने मिटरब्याजी मधेश प्रदेशसभा सदस्य त्रिभुवन साह रहेको खुलाएकी थिइन् । १३ चैतको बिहानै उनीहरु बास बसेको मातातीर्थस्थित टहरोमा दुई जना नचिनेका मानिसहरु पुगे । ती मानिसहरुले सिंहलाई आन्दोलन छाडेर घर जान आग्रह गरे ।

‘१२ दिन हिँडेर आएँ, अब न्याय पाएपछि मात्र फर्किन्छु, म घर जान्न’ सिंहले ती मानिसहरुलाई भनेको सुन्ने उनका एक साथीले अनलाइनखबरसँग भने, ‘सिंह उनीहरुको कुरा नसुनी १३ औं दिन पनि पैदलयात्रामा सहभागी भएर खुलामञ्चतर्फ अघि बढिन् । तर कंलकी आउँदासम्म उनलाई ती व्यक्तिहरुले पछ्याउन छाडेनन्, घर फर्किन निकै कर गरे ।

संघर्ष समितिको संयोजन गरिरहेका अभियन्ता सन्तोष दाहालका अनुसार नातामा नाति पर्ने एक जना र सांसद साहका आफन्त बताउने मानिसले कुरा मिलेको भन्दै सिंहलाई घर फर्कन मरिहत्ते गरे ।

१३ गते साँझ खुल्लामञ्चमा महानगर प्रहरीसँग अन्य मिटरब्याज पीडितहरु संघर्ष गरिरहँदा दुई जना युवा भने सिंहलाई घर फर्काउन कर गरिरहेका संघर्ष समितिका संयोजक मनोज पासवानले बताए ।

त्यसको भोलिपल्ट मंगलबार बिहानै सिंहले आफू आन्दोलनमा सहभागी नहुने संघर्ष समितिलाई जानकारी गराइन् ।

संयोजक पासवानले सोधे- किन ?

‘मेरो काम सल्टियो, जग्गा फिर्ता हुने भयो म आजै घर जान्छु मलाई घरबाट बोलावट भएको छ’ सिंहले भनेको पासवानले सम्झिए ।

पासवानले फेरि प्रश्न गरे- कसरी ?

‘धेरै कुरा थाहा छैन मेरो समस्या सल्टियो, मेरो जग्गा फिर्ता आउने भयो’, रामवतीले जवाफ दिइन् । यसपछि सिंह घर जान्छु भन्दै आन्दोलनबाट छुट्टिइन् । मंगलबार बिहानैदेखि मिटरब्याज पीडितहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाने बाटो टंगालमा धर्नामा बसे, त्यसपछि भद्रकाली हुँदै माइतीघर र बानेश्वरमा उनीहरु न्याय माग्दै प्रर्दशनमा उत्रिए तर त्यहाँ १३ दिन सँगै हिंडेर आएकी सिंह थिइनन् ।

यसबारे संघर्ष समितिले बुझ्दै जाँदा खुल्यो बर्दिबासबाट हिंडेको १२ औं दिनमा उनले धेरै पत्रकारका सामुन्नेमा आफ्नो साहुबारे बोलेकी थिइन् । एक टेलिभिजनबाट प्रशारण भएको भिडियोमा सिंहले आफूलाई मिटरब्याजमा ऋण दिने व्यक्ति सिरहा–४ (१) बाट मधेश प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य त्रिभुवन साह भएको खुलाएकी थिइन् ।

साहले ४ मंसिरको प्रदेशसभा सदस्य चुनावमा  जनमत पार्टीबाट चुनाव जितेका थिए । टेलिभिजनमा आफ्नो नाम लिएर मिटरब्याजी भनेपछि सांसद साहले सिंहको आफन्त र आफ्नो मान्छे लगाएर सिंहलाई आन्दोलनबाट फिर्ता बोलाएको संघर्ष समितिको अरोप छ ।

वर्षौंसम्म नसल्टिएको समस्यामा सल्टाउन एक्कासी सांसद साह तयार हुनु शंकास्पद भएको संघर्ष समितिको व्यवस्थापन तथा संयोजन गरिरहेका सन्तोष दाहाल बताउँछन् । ‘सांसद साहले आफ्नो बदनाम लुकाउन यस्तो हर्कत गरेका हुन् उनको (रामवती सिंह) सुरक्षाको जिम्मा कसले लिन्छ ?’ दाहालले प्रश्न गरे ।

अनलाइनखबरसँगको कुराकानीमा प्रदेशसभा सदस्य साहले आफू र रामवतीबीचको समस्या समाधान भएको बताए । ३ लाख रुपैयाँ तिर्न नसकेको भन्दै सांसद साहले रामवतीको जग्गा हडपेका थिए । उक्त जग्गा फिर्ता गराउन रामवतीले जिल्ला अदालत सिरहामा निवेदन दिएकी थिइन् । तर उक्त निवेदनमाथि कारबाही भएको थिएन । मंगलबार भने रामवतीले जग्गा फिर्ता पाएकी सांसद साहले बताए ।

‘मैलै दिदीसँग मागेर रामवतीलाई नातिनीको बिहेमा गर्जो टार्न तीन लाख रुपैयाँ दिएको थिएँ, तर यसको दुरुपयोग गरेर मेरो बेइज्जत गरियो’, सांसद साहले भने, ‘उहाँ र म बीचमा केही लेनदेन थियो तर यसलाई हिजै अदालत गएर माफी मिनाहा गरिदिएको छु, लोकतन्त्रमा कसैले कसैलाई झुक्याउन ढाँट्न सक्दैन नि ।’

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?