+
+

स्वर्णिमले कांग्रेस छाडेपछि विश्वले भने- यो डढेलो नलाग्ने झिल्को हो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १५:२४

१७ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता विश्व पौडेलले पार्टीबाट डा. स्वर्णिम वाग्लेको विद्रोहलाई डढेलो नलाग्ने झिल्कोको संज्ञा दिएका छन् ।

शुक्रबार फेसबुकमा एक सन्देश लेख्दै पौडेलले वाग्लेको विद्रोहलाई ‘आगोको फूल’ भनेका छन् ।

‘कांग्रेस चितवनको घना जंगलको रुख मात्र हैन, नारायणी जस्तै नदी पनि हो । यसमा खोलाहरु आएर मिसिन्छन, कुलाहरुबाट पानी निस्कन्छन्, र धेरै फेरि फर्केर आउँछन्’ उनले लेखेका छन्, ‘कांग्रेससँग गरेको विद्रोह झिल्कोबाट डढेलो हुने खासै हुँदैन । यी आगोका फूल हुन, बढ्दैनन् ।’

उनले कांग्रेसबाट भएका विद्रोहहरू सफल नभएको उदाहरणहरू दिएका छन् ।

यस्तो छ पौडेलको स्टाटस

आगोका फूल
==
चितवन कांग्रेसले सबभन्दा पहिले (२०१५ सालमा) संसद सदस्य हुन विश्वबन्धु थापालाई उठाएको थियो। चितवन कांग्रेसका संस्थापक सभापति बखानसिंह गुरुङ आफैं एक २००७ सालमा शहीद हुनुभएका आदरणीय धर्मध्वज गुरुङका पिता हुनुहुन्थ्यो। पूर्वी चितवनका उदयनाथ अधिकारी पनि संस्थापक जिल्ला समिति सदस्य हुनुहुन्थ्यो।इलाहाबादमा सूर्यबहादुर थापाहरुसँगै पढेर चितवन फर्केका शेरपानीका जमिनदार परिवारका किशोरचन्द्र ढुंगाना २०१४ सालमा जिल्ला सदस्य भए।

खोरिया फाँडेर, लामखुट्टेसँग लड्दैपड्दै आफ्ना सन्तानको भविष्य बनाउन चितवन झरेका धेरै मान्छेलाई मर्दापर्दा सहयोग गरेर यी जस्ता व्यक्तिहरुले चितवन कांग्रेसको संगठन विस्तार गरेका थिए ।

२०१५ सालमा पूर्वी चितवनका विश्वबन्धु थापा कांग्रेसका उम्मेदवार बने। ग्राउण्डमा प्रभाव कम भएपनि पढाइ राम्रो भएको र केन्द्रमा प्रभाव भएकोले उनले टिकट पाएका थिए। त्यसको विरुद्ध अस्ति भर्खर वित्नुभएकी स्व. मैयादेवी श्रेष्ठ, हरिकुमार श्रेष्ठ आदिले वागी उम्मेदवारको रुपमा उम्मेदवारी दिएका थिए। बागी नउठुन् भनेर जिल्लामा संभवत: सर्वाधिक लोकप्रिय रहेका बखानसिंह गुरुङलाई महासभामा (अहिलेको राष्ट्रिय सभामा) लैजाने सहमति भयो। थापाले ४४ प्रतिशत मतसहित चुनाव जिते।

महेन्द्रले बहुदल हरण गरेपछि थापा पंचायतमा गए, तर धेरै कांग्रेसीहरुलाई उनले माया गरिरहे भनिन्थ्यो। थापासँगै शुरुमा पंचायतलाई सहयोग गरेका किशोरचन्द्र ढुंगानाले आफू जिल्ला पंचायतको सभापति हुँदा २०२० सालमा पंचायत व्यवस्थाको विरुद्ध माग पारित गराए। त्यसपछि गिरफ्तार भएका ढुंगाना पछिसम्म पूर्व चितवनका कांग्रेसका लोकप्रिय खम्बा रहे।

बखानसिंह गुरुङको अर्का छोरा लालध्वज गुरुङ पंचायत विरुद्ध आन्दोलनमा मारिए, बखानसिंह आफैं भने पछि २०३८ सालमा पंचायत प्रवेश गरेर चुनाव जित्नुभयो। मैयादेवीले सधैं कांग्रेसलाई माया गरेर बस्नुभयो।

कांग्रेसमा एउटा लामो संस्कार के छ भने जानेलाई गाली नगर्ने। महन्थ ठाकुर सबैले मन पराउँथे, जानुभयो, कसैले गाली गरेन। फर्केर आउनेलाई पनि स्वागत गर्ने नै चलन छ।

कांग्रेस चितवनको घना जंगलको रुख मात्र हैन, नारायणी जस्तै नदी पनि हो। यसमा खोलाहरु आएर मिसिन्छन्, कुलाहरुबाट पानी निस्कन्छन्, र धेरै फेरि फर्केर आउँछन्। कांग्रेससँग गरेको विद्रोह झिल्कोबाट डढेलो हुने खासै हुँदैन। यी आगोका फूल हुन, बढ्दैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?