+
+

सरकार निर्वाचित अधिनायकतिर लागेको रास्वपाको आरोप

सभापति रवि लामिछाने राजनीतिक प्रतिशोध साँध्ने क्रममा अनुसन्धानलाई अनियमित, अभियोजनलाई आग्रहपूर्ण, राज्य शक्तिको सम्पूर्ण रुपमा अस्त्रीकरण भएको उपसभापति डा. स्वर्णिम वाग्लेको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते २०:५७

१८ माघ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको कार्यशैलीमा निर्वाचित अधिनायकत्व देखिएको आरोप लगाएको छ । दलका तर्फबाट प्रतिनिधि सभामा बोल्दै उपसभापति डा. स्वर्णिम वाग्लेले सरकार निर्वाचित अधिनायकत्वतिर अग्रसर भएको बताएका हुन् ।

आफ्नो सभापति रवि लामिछानेमाथि राज्यले गरेको प्रतिशोध, विभिन्न अध्यादेश र सामाजिक सञ्जाल नियमन विधेयक जस्ता निर्णय माफर्त सरकार निर्वाचित अधिनायकत्वतिर उन्मुख भएको उनको तर्क थियो ।

रविको संसदमा खोजी

चितवन–२ मा २ पटक फराकिलो अन्तरले निर्वाचित रवि लामिछाने संसदमा अनुपस्थित हुन नसक्नु दुखद पक्ष भएको वाग्लेले सुनाए । ‘२०६४ सालमा ल्याइएको सम्पत्ति शुद्धीकरण ऐनको दफा २७ मा टेकेर राष्ट्रसेवक सबैलाई मुद्धा दायर हुनासाथ निलम्बन हुने प्रावधानमा टेकेर’ मुद्दा लगाइएको उनले बताए ।

‘रवि लामिछाने माथि सिंगो राज्य शक्ति प्रतिशोध र पूर्वाग्रह साथ खनिएको छ । अदालतमा विचाराधीन विषयमा म बोल्दिन’ वाग्लेले भने । राजा शासनको बेला शाही आयोगलाई न्यायमूर्तिले खारेज गरेको उल्लेख गर्दै अदालतप्रति सम्मान व्यक्त गरे ।

सभापति लामिछाने राजनीतिक प्रतिशोध साँध्ने क्रममा अनुसन्धानलाई अनियमित, अभियोजनलाई आग्रहपूर्ण, राज्य शक्तिको सम्पूर्ण रुपमा अस्त्रीकरण भएको वाग्लेले बताए । अत्याचार नै गरिएको लगभग स्थापित भएको उनको जिकिर थियो ।

‘रास्वपाको संस्थापक सभापतिलाई ८४ दिनसम्म हिरासतमा राखियो । तेरो सेखी झार्ने नै हो । बदला लिने नै हो भन्ने भावना त्यहाँ आएको देखिन्छ,’ वाग्लेले आक्रोश राखे, ‘पहिले थुन्ने अनि प्रमाण खोज्ने । अभियोग पत्र हेर्‍यो । नयाँ केही छैन । एउटा व्यक्तिलाई हेरेर कानुन संशोधन गरिएको छ ।’

सहकारीमा मिलापत्र गर्न नमिल्नेगरी कानुन संशोधन गरिनु सभापति लामिछाने लक्षित भएको वाग्लेले टिप्पणी गरे । दुख दिने नियतले नै सम्पत्ति शुद्धीकरणको अभियोग लगाइएको वाग्लेले बताए ।

रास्वपाको संस्थापक सभापतिलाई ८४ दिनसम्म हिरासतमा राखियो । तेरो सेखी झार्ने नै हो । बदला लिने नै हो भन्ने भावना त्यहाँ आएको देखिन्छ-डा. स्वर्णिम वाग्ले,उपसभापति, राष्ट्रिय स्वतन्त्र पार्टी

वर्तमान सरकारले सात महिने अवधिमा रवि केन्द्रित मात्रै भएको वाग्लेको निष्कर्ष छ । अरुलाई खनेको खाडलमा आफैंपर्ने प्रति सत्ता पक्षलाई वाग्लेले चेतावनी दिए । अघिल्लो सदन पछिका चार महिना रास्वपाको जीवनमा अप्रिय रहेको वाग्लेले सदनमा बताए ।

‘रास्वपाको संकट तेस्रो चरणमा छ’

नयाँ दल निर्माण गरेर अघि बढ्दै गर्दा नयाँ शक्तिहरुले विभिन्न चरण पार गर्नुपर्ने र रास्वपा अहिले तेस्रो चरणमा रहेको वाग्लेले बताए । नयाँ दलहरुप्रति बन्ने गरेको विश्वव्यापी दृष्टिकोणको समेत वाग्लेले व्याख्या गरे– पहिलो, यसलाई (नयाँ शत्ति/पार्टी) वेवास्ता गरिदिने । दोस्रो, खिसी टिउरी गर्ने । र, तेस्रा, भीषण आक्रमण गर्ने ।

अहिले रास्वपा तेस्रो चरणमा गुज्रिरहेको महशुस भइरहेको उनको निष्कर्ष छ । । उनले भने, ‘तर चौथो चरण चाँडै नै आउँछ । त्यो भनेको अस्तित्वको स्वीकार्यता, प्रवेश, विस्तार र दिग्विजय । दिग्विजयको चरणबाट हामी जाँदैछौ ।’

संसदको पहिलो दिनको बैठकमा आफूहरुप्रति फरक व्यवहार देखिएको भन्दै उनले आपत्ति जनाए । सदन हुनासाथ बोल्न समय माग मागेको रास्वपालाई सभामुख देवराज घिमिरेले दलीय आधारमा उपलब्धमा समयमै धारणा राख्न ध्यानाकर्षण गराएका थिए ।

रास्वपाको माग अस्वीकार गरेपछि रास्वपाका सांसदहरुले १५ मिनेट सदन बहिष्कार गरेका थिए । आफ्नो बहिष्कारप्रति वाग्लेले भने, ‘ढोका त खुल्यो तर पिढीमा आएर बस् जस्तो हामीलाई भान भयो । १५ मिनेट संसद बहिष्कारलाई सुसस्कृत राजनीतिक अभ्यासका रुपमा बुझ्न आग्रह गरे ।

‘नेताका आसेपासेले आर्थिक सुधार गर्ने?’

सरकारले अध्यादेश ल्याउँदा संविधानले नचिन्ने संयन्त्र प्रयोग गरिएको भन्दै वाग्लेले आपत्ति जनाए । कांग्रेस र एमालेबाट बनेको कानुन सुधार कार्यदलले दिएको सुझाव अनुसार सरकारले अध्यादेश ल्याएको थियो ।

अध्यादेशमा आएका कतिपय व्यवस्था प्रति समर्थन रहेपनि ल्याउने विधिप्रति आपत्ति रहेको वाग्लेले बताए । संविधानले नचिन्ने संयन्त्रले आर्थिक सुधारको दुहाई दिएको वाग्लेको आरोप छ । वर्तमान सरकारका कार्यमा देखिने पात्र २÷४ जना रहेको र उनीहरु मार्फत नै सुधारका कार्य भन्दै अध्यादेश ल्याइएको उनले बताए ।

पूर्व अर्थसचिव रामेश्वर खनालले बुझाएको प्रतिवेदनका आधारमा कानुनी सुधार नगरी नेताका आसेपासेले दिएको सुझाव समेटिएको भन्दै आपत्ति जनाए । ‘२/४ जना नेताहरु, २/४ जना फ्रिलान्सर आसेपासेहरुले ऐन बनाउने गरिएको छ,’ वाग्लेको आरोप छ ।

अर्थतन्त्र तंग्रिन नसकेको अर्थविद्  समेत नरहेका वाग्लेको निचोड छ । अर्थतन्त्र सुधार्न सरकारको ल्याकत नपुगेको उनले बताए । लगानी जग्गामा, रोजगारी विदेशमा, उपभोग आयातमा रहेको प्रणालीबाट माथि उठ्न नसकिएको वाग्लेको जिकिर छ ।

रास्वपाले भ्रष्टचारका प्रकरणमा सबैमा छानविन समितिको माग गर्ने समेत बताए । उनले भने,‘‘भुटानीदेखि कम्बोडियासम्म, वाइडबडी देखि एनसेलसम्म, बालुवाटारदेखि गिरिबन्धुसम्मको छिनोफानो अब हामीले गर्नुपर्नेछ ।’ उनले भने,‘अर्थ राजनीति यथास्थिति अस्विकार्य छ । यसलाई सिर्जनात्मक ढंगले डिस्टर्ब गर्नुपर्छ भनेर रास्वपाको उदय भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?