News Summary
Generated by OK AI. Editorially reviewed.- सांसदहरूले संसदीय समितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बोलाएर आगामी आर्थिक वर्षको बजेट र आर्थिक नीतिबारे छलफल गर्न माग गरेका छन्।
- राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सोमबार प्री–बजेट छलफल गर्नुपर्ने विषयमा सांसदहरूले जोड दिएका छन्।
- सांसदहरूले मधेश र कर्णालीजस्ता पिछडिएका क्षेत्रलाई बजेटमा प्राथमिकता दिन अर्थमन्त्रीसँग छलफल गर्नुपर्ने बताएका छन्।
३० चैत, काठमाडौं । सांसदहरूले संसदीय समितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बोलाएर छलफल चलाउन माग गरेका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सोमबार समितिको बार्षिक कार्ययोजनाको बारेमा छलफल थियो ।
जहाँ उपस्थित सांसदहरूले आगामी आर्थिक वर्षको बजेट र सरकारको आर्थिक नीतिका सम्बन्धमा छलफल गर्न अर्थमन्त्रीलाई बोलाउनुपर्ने बताएका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले अब प्री–बजेट छलफल हुनुपर्ने माग गरे ।
प्रत्येक वर्ष जेठ १५ गते अर्को आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअगाडि संसद्मा प्री–बजेट छलफल गर्ने अभ्यास छ । संसदीय विषयगत समितिमा पनि प्री–बजेट छलफल हुने गरेको छ ।
नेकपा एमालेकी सांसद रेखा कुमारी झाले मधेशलाई केन्द्रमा राखेर आगामी बजेट आउनुपर्ने बताइन् ।
उनले भनेकी छन्, ‘जति मधेशले नयाँ सरकार बनाउन भूमिका खेले त्यसनुसार काम होस् । त्यसअनुसार न्याय दिलाउने गरी बजेट दिइयोस् ।’
नेपाली कम्युनिस्ट पार्टीकी सांसद सावित्री मल्लले पनि अर्थमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने बताइन् ।
‘अर्थमन्त्रीलाई बोलाएर छलफल गरौँ’ उनले भनिन्, ‘बजेटमा मधेशलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ ।’ कर्णाली लगायत विगतमा पछाडि पारिएका क्षेत्र र भूगोललाई ख्याल गरेर सरकारले नीति तथा योजना ल्याउनुपर्ने उनको आग्रह छ ।
उनले भनेकी छन्, ‘समान बजेट वितरणबारे सरकारले के सोचिरहेको छ ? अर्थमन्त्रीसँग छलफल गरौं ।’
प्रतिक्रिया 4