अस्ट्रेलिया । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अस्ट्रेलियामा रहेका नेपालीहरूलाई भर्चुअल सम्बोधन गरेका छन् ।
प्रवास नेपाली सम्पर्क विभाग अस्ट्रेलियाले ११ अप्रिलमा आयोजना गरेको भर्चुअल बैठकलाई सम्बोधन गर्ने क्रममा अर्थमन्त्री वाग्लेले सरकारको शासकीय सुधारका लागि सार्वजनिक गरिएका १०० कार्यसूचीबारे जानकारी गराएका थिए ।
प्रवास नेपाली सम्पर्क विभाग अस्ट्रेलिया (पीएनएसबीए) का प्रमुख डा. कृष्णकान्त पौडेलका अनुसार अर्थमन्त्री वाग्लेले आगामी योजना र बजेटमा समावेश गरिने विषयवस्तुबारे पनि चर्चा गरेका थिए ।
अर्थमन्त्री वाग्लेले रास्वपाको चुनावी घोषणापत्र अनुसार समृद्ध र रूपान्तरणकारी नेपाल निर्माण गर्ने सरकारको प्रतिबद्धता दोहोर्याए ।
अर्थमन्त्री वाग्लेले विदेशमा रहेका नेपालीसँग सम्बन्ध सुदृढ गर्ने, लगानीको वातावरण सिर्जना गर्ने तथा सम्पत्ति अधिकार सुनिश्चित गर्ने लक्ष्य रहेको समेत सुनाए ।
भर्चुअल सम्बोधनमा रास्वपाका महामन्त्री एवं सांसद कबिन्द्र बुर्लाकोटीले देशभित्र रहेका उद्योगहरूलाई पुनर्जीवित गर्न सक्रिय रहेको बताए ।
प्रवास नेपाली सम्पर्क विभागका सचिव पदमराज पन्थीले अस्ट्रेलियामा सिकेको ज्ञान, सीप र अनुभवमार्फत नेपालको समृद्धिमा योगदान दिन आफूहरू तयार रहेको बताए ।
पीएनएसबीएका प्रमुख डा. पौडेलको अध्यक्षतामा सम्पन्न भर्चुअल कार्यक्रममा अष्ट्रेलियाका साथै एसिया, युरोप, अमेरिका, खाडी मुलुक लगायतबाट प्रवासी नेपालीका अगुवाहरू सहभागी थिए।
प्रतिक्रिया 4