+
+

खप्तड गोल्डकपको उपाधिमा मनाङ र थ्री स्टारको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते २१:४२

१७ चैत, धनगढी । छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा फाइनल पुगेका मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लब दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् । यी दुई टिमले शनिबार धनगढी रंगशालामा उपाधिका लागि खेल्दै छन् ।

थ्री स्टारका कप्तान बिक्रम लामाले सेमिफाइनलमा रातो कार्ड खाएका मिडफिल्डर दिपेश गुरुङको अनुपस्थितिले क्लबको प्रदर्शनमा कुनै असर नपार्ने बताए ।

उनले आफुहरुसँग सन्तुलित टिम रहेको उल्लेख गर्दै उपाधिमा आफ्नो स्वभाविक दाबी रहने उल्लेख गरे । फाइनल खेलमा आफ्नो भुमिकाबारे बोल्दै उनले भने, ‘भोलि रणनीति अनुसार मेरो भुमिका रहनेछ । प्रशिक्षक मेघराज केसीले जुन भुमिकामा खेलाउँछन् । म तयार रहेको छु ।’

उनले खेलाडीको रिकभरी समय कम भएकाले फिटनेसमा असर पारेको बताए । तर फाइनल खेलका लागि टिम मानसिक रुपमा तयार रहेको उनको भनाइ छ । ‘एन्फाले खेल तालिकालाई व्यवस्थित बनाएको भए मोफसलमा फुटबल कार्यक्रम गरिरहेका आयोजकले गरेको मेहनतले फुटबलमा राम्रो योगदान गर्ने थियो’, उनले भने, ‘तेस्रो पटक खप्तड गोल्डकपको फाइनल खेल्दै गर्दा पहिलो पटक उपाधि जित्न चाहन्छौं । मोफसलको गोल्डकपले टिमलाई सेट हुन अवसर दिएको छ ।’

मनाङका कप्तान जीवन गुरुङले खप्तड गोल्डकपको उपाधि रक्षा गर्न आफूहरु तयार रहेको बताए । टिमको अवस्थाबारे जानकारी दिँदै उनले भने, ‘विदेशी फरवार्ड कोफी तिमोती कुवडु भोलि खेल्नेछन् । विदेशी खेलाडीमा डियाग उत्कृष्ट छन् । उनको प्रर्दशनले टिमलाई धेरै सहज भएको छ’, गुरुङले थपे, ‘मनाङ जस्तो क्लबलाई नेतृत्व गर्न पाउँदा गर्व महसुस गरेको छु । तेस्रो पटक खप्तड गोल्डकपको उपाधि जित्ने पक्का हो ।’

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको आयोजनामा चैत ९ गते सुरु भएको प्रतियोगिताको विजेताले उपाधि सहित २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।

विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा ए डिभिजन ६ टीम, दुई विदेशी टिम, मोससलको बागमती युथ क्लब र आयोजक क्लव गरी १० टोलीको सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?