
१८ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषदसँग मागेको छ ।
एन्फा कार्य समितिको शनिबार बसेको बैठकले प्रधानमन्त्री कपको पुरस्कार रकम ९ हजार ५०० अमेरिकी डलर र नेपाली टिमको होटल खर्च राष्ट्रिय खेलकुद परिषदसँग माग गर्ने निर्णय गरेको हो ।
शुक्रबार सकिएको प्रधानमन्त्री कपको उपाधि नेपालले जितेको थियो भने लाओस उपविजेता बनेको थियो । एन्फाले उपाधि विजेतालाई ५ हजार अमेरिकी डलर, उपविजेतलाई ३ हजार डलरका साथै म्यान अफ द म्याच र प्लेयर अफ म्याचलाई नगद पुरस्कार दिने घोषणा गरेको थियो । त्यही पुरस्कार रकम राखेपसँग माग्ने निर्णय एन्फाले गरेको हो ।
यस्तै बैठकले उपाधि विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्नका लागि राखेपमार्फत सरकारलाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै बैठकले ए, बी र सी डिभिजन लिगका लागि अपुग रकम पनि राखेपसँग माग्ने निर्णय गरेको बैठकपछि प्रवक्ता सुरेश शाहले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले शहीद स्मारक बी डिभिजन लिगको तयारीका लागि क्लबलाई साढे १४ लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ । लिगको कुल बजेट ३ करोड ९३ लाख १ हजार ८१३ रुपैयाँ बैठकले पारित गरेको छ ।
जिल्ला फुटबल संघलाई कार्यालय सञ्चालनका लागि २ लाख रुपैयाँ र खेलकुद सामग्रीका लागि १ लाख रुपैयाँ प्रदान गर्ने निर्णय पनि बैठकले गरेको शाहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4