+
+

कमलमणि भन्छन्- फिल्म फ्लप हुँदा कलाकारले प्राण भरेको चरित्र नै मरेर जान्छ

'बहाव'ले जेलिंदै गएको नेपाली समाजको कथा भन्छ

विष्णु शर्मा विष्णु शर्मा
२०७९ चैत १९ गते १९:१४

काठमाडौं । यस्ता कमै कलाकार हुन्छन्, जसले एक वर्षभित्रै सर्वाधिक हिट र सर्वाधिक फ्लप फिल्मको स्वाद चाख्नुपर्‍यो । अभिनेता कमलमणि नेपाल यी दुई परिस्थितिको साक्षी बने ।

जेठमा रिलिज भएको ‘कबड्डी ४’ सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो र अर्कोतिर फागुनमा रिलिज भएको ‘छड्के २’ पूर्णतः असफल । यी दुईको मुख्यमध्येको एक भूमिकामा कमलमणि स्वयं थिए ।

आगामी चैत २४ गते उनी अभिनित ‘बहाव’ रिलिज हुँदैछ । आइतबार अनलाइनखबरसँग कुरा गर्दै कमलमणिले फिल्म हिट र फ्लप हुँदा कलाकारमा पर्ने प्रभावबारे कुरा गरे । साथै, ‘बहाव’ किन नेपाली समाज र राजनीतिसँग सान्दर्भिक छ भन्ने चर्चा पनि ।

उनलाई लाग्छ, कुनै आशा राखिएको फिल्म असफल भयो भने ट्रोल र मिम मात्र बन्दैनन्, कलाकारले प्राण भरेको चरित्र नै मरेर जान्छ । ‘ट्रोल बनियो, त्यो टिम त्यत्तिकै सकियो र फेरि कसैले पत्याउलान् भन्ने भएन । त्यो चरित्र मरेर गयो,’ छड्के २ पछिको परिस्थितिबारे कमलमणिले भने ।

फिल्म ‘बहाव’ले नेपाली समाज र परिवारको कथा भन्ने कमलमणि बताउँछन् । ‘एउटै परिवारमा तीन पुस्ता हुन्छन् । सबैका आफ्ना विचार हुन्छन् । नातिको सोच्ने तरिका भिन्न होला । बाउ र छोराको भिन्न । तीनैवटाको विचार मिल्दैन । कसैको विचारलाई कोहीले रोक्ने खोजे भने जुन दिन त्यो फुट्छ, त्यसले केही नै केही विनाश गर्छ,’ फिल्मबारे उनले भने ।

उनले भनेजस्तै फेमिली ड्रामा बहावले बाबुछोरीको सम्बन्धको द्वन्द्वलाई चित्रण गर्छ । फिल्ममा उनले बाबुको भूमिकामा अभिनय गरेका छन् । चरित्र चित्रण गर्दा उनले बाबुलाई केन्द्रमा राखेर अभिनय गरेको अनुुभव सुनाए । ‘बुवाले मेरो विचारलाई कसरी लिनुभएको छ । यो चरित्रमाथि बुवालाई जोड्न खोजें,’ कमलमणि भन्छन्, ‘बहावको कथा हरेक परिवारमा घट्ने कथा हो । जेलिंदै गएको समाजको कथा हो । कुनै न कुनै परिवारसँग यो कथा जोडिन्छ भन्ने लाग्छ ।’

फिल्मको पात्रसँग आफ्नो वास्तविक जीवन पनि सादृश्य भएको उनको अनुभव छ । ‘म आफैं सामान्य ग्रामीण परिवारमा हुर्किएको व्यक्ति हुँ । सहर हेर्न एसएलसी कुर्नुपयो । बाउआमाको विचारलाई तोडेर सहर गइनँ । बुवाको कुरालाई जितेर सहर जाने जिद्दी गरिनँ,’ कमलमणिले सुनाए, ‘म गाउँमा हुर्किएँ । त्यहाँ मैले माटो खेलाउन सिकें । मेरा इच्छालाई कसरी मारेर बसेको थिएँ, बहावभित्र विचारलाई दबाउन खोजिएका परिणाम कस्ता हुन्छन् भन्ने चित्रण गरिएको छ ।’

को-स्टार सुरक्षा पन्तलाई उनले अब्बल कलाकार भने प्रशंसा गरे । २०६९ सालमा रिलिज भएको फिल्म ‘धन्दा’बाट फिल्म करिअर थालेका कमलमणीको अभिनय पृष्ठभूमि रंगमंच हो । कबड्डीका चारै सिरिजमा उनले अभिनय गरेका छन् ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?