+
+

लुम्बिनीमा कांग्रेससहितका दलले मागे मुख्यमन्त्रीको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १७:४३
कांग्रेसका प्रदेशसभा सदस्य प्रचण्डबिक्रम न्यौपाने ।

२० चैत, दाङ । लुम्बिनीमा नेपाली कांग्रेससहित सत्तारुढ गठबन्धनमा रहेका दलका सांसदहरुले मुख्यमन्त्री लिला गिरीको राजीनामा माग गरेका छन् । सोमबार लुम्बिनी प्रदेश सभाको बैठकमा सांसदहरुले मुख्यमन्त्री अल्पमतमा रहेको भन्दै राजीनामा माग गरेका हुन् ।

लुम्बिनीमा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत लगायतका पार्टी मिलेर सरकार बनेको थियो । तर माओवादी केन्द्र जसपा र जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेसका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र दिइसकेका छन् ।

सोमबार प्रदेशसभा बैठकमा कांग्रेसका सांसद सुधाकर पाण्डेले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्री सरकारमा बस्न नहुने बताए । ‘संविधानको व्यवस्था अनुसार सरकार चलाउन बहुमत चाहिन्छ । हाम्रो यहाँ मुख्यमन्त्री अल्पमतमा परिसक्नुभएको छ’, उनले भने, ‘अल्पमतमा परेको सरकारले विधेयक ल्याउने, बजेट बनाउने जस्ता कुनै पनि कुराहरु गर्नु  संविधानसम्मत हुन सक्दैन ।’ सांसद पाण्डेले अल्पमतमा परेको सरकारले संवैधानिक व्यस्था अनुसार बाटो खुला गर्नुपर्ने बताए ।

कांग्रेसकै सांसद प्रचण्डविक्रम न्यौपानेले ५३ सांसदले सरकारको समर्थन फिर्ता लिएको अवस्थामा नैतिकताका आधारमा मुख्यमन्त्री गिरीले मार्ग प्रशस्त गर्नुपर्ने बताए । ‘तपाईंहरुको सरकार रहने सम्भावना छ भने लाग्नुहोस्’ उनले भने,  ‘तर सक्नुहुन्न र केही दिनको मात्र सरकार हो भने आजै नै मार्ग प्रशस्त गरेर नैतिकता देखाउनुस् ।’

उनले प्रदेशको बजेट ल्याउनुपर्ने भएकाले छिटो भन्दा छिटो सरकारबाट बाहिरिन आग्रह गरे । कांग्रेसका भुवनेश्वर चौधरी र बैजनाथ कलवारले पनि सरकार अल्पमतमा परेको भन्दै संवैधानिक र नैतिकताका आधारमा मुख्यमन्त्रीले छिटो भन्दा छिटो सरकार छोड्नु उपयुक्त हुने बताए ।

नागरिक उन्मुक्ति पार्टीका सांसद राजकुमार चौधरीले अल्पमतको सरकार लम्बिए अस्थिरता सिर्जना हुने भनाई राखे । जसपाका सांसद भण्डारी लाल अहिरले लुम्बिनी सरकारले नैतिकताका आधारमा नयाँ सरकार गठनको लागि बाटो खुला गर्नुपर्ने बताए ।

नेकपा एकीकृत समाजवादी भगवती घिमिरे अधिकारी, लोसपाका सांसद सन्तोषकुमार पाण्डेले पनि नैतिकता माथि प्रश्न उठेको भन्दै सम्मानजनक रुपमा सरकारबाट बहिर्गमन हुनुपर्ने भनाइ राखे ।

सोमबार बसेको बैठकमा स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थीले लुम्बिनी प्रशिक्षण प्रतिष्ठान स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक पेश गरे ।

प्रदेशसभाको अर्को बैठक मंगलबार ११ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?