+

कस्तो हुन्छ वीर्यदानको प्रक्रिया ?

२०७९ चैत  २२ गते १४:२६ २०७९ चैत २२ गते १४:२६
कस्तो हुन्छ वीर्यदानको प्रक्रिया ?

कतिपय अवस्थामा दम्पतीले सन्तानको योजना बनाए पनि गर्भ रहँदैन । यस्तो किन हुन्छ ? जवाफ एउटा मात्र छैन । विभिन्न कारणले गर्भ नरहन सक्छ । यसरी गर्भ नरहेको अवस्थामा आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) जस्ता केही विकल्प छन्, जसले दम्पतीको खुसी फर्काउन सक्छ । यस्ता प्रविधिका लागि पुरुषको शुक्राणु र महिलाको डिम्बलाई लिएर निशेषचन गराइन्छ ।

यद्यपि कहिलेकाहीं पुरुषको शुक्राणु र महिलाको डिम्ब कमजोर भएमा गर्भ रहँदैन । यस्तो स्थितिमा तेस्रो व्यक्तिको वीर्य लिएर गर्भधान गर्ने प्रविधि र प्रचलन छ ।

वीर्यदान के हो ?

वीर्यदान यस्तो प्रक्रिया हो, जसमा एक पुरुषले दान गरेको शुक्राणुबाट गर्भधारण गराइन्छ । दान गरिएको वीर्य प्रयोगशालामा भण्डारण गरेर कुनै कारणले आमाबुवा बन्न नसकेका वा वीर्यदानमार्फत बच्चा जन्माउन चाहने दम्पतीहरु लाभान्वित हुन सक्छन् ।

कस्ता दम्पतीलाई जरुरी ?

कहिलेकाहीं पुरुषको वीर्य गणना गर्दा शून्य आएमा वा जन्मजात नै वीर्य नआउने कारण सन्तान नहुन सक्छ । त्यस्तो अवस्थामा अरुकै वीर्य लिन दम्पतीलाई सुझाव दिइन्छ । त्यसैअनुसार वीर्यदानको प्रक्रिया अघि बढ्छ । कसैमा भने अल्ट्रासाउण्डमार्फत अण्डकोष हेर्दा वीर्य हुने तर निस्कन नसक्ने हुन्छ । त्यस्तो अवस्थामा भने अण्डकोषबाट नै वीर्य निकालेर भण्डारण पनि गर्न सकिन्छ ।

वीर्यदातालाई कसरी आह्वान गरिन्छ ?

समाजमा वीर्य पनि दान गर्न मिल्छ भन्ने चेतना फैलिएको छ । धेरै जना दिनहँु खेर गइरहने वीर्यले कसैले सन्तान सुख पाउछन् भने किन नदिने भनेर पनि आइरहेका छन् । कतिपय दाताहरु चाहिं खोज्न पर्ने हुन्छ । धेरैले यसवापत शुल्क लिनुहुन्छ भने कतिपयले रगतदान जस्तै वीर्य पनि पुण्यदान सरह हो भन्दै पैसा नलिई पनि दिने गर्छन् ।

जुनसुकै पुरुषले गर्न सक्छन् वीर्यदान ?

हेर्दा सहज लाग्छ तर प्रक्रिया मिलाउन केही झन्झटिलो नै छ । वीर्य दिन चाहने दाताले पनि थुप्रै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

पहिले त दाताको अनुहारको रंग, उचाइ, वंशाणुगत पृष्ठभूमि जाँच गरिन्छ । यसमा तीन पुस्ताको इतिहास लिइन्छ । उसको स्वास्थ्य स्थिति जाँच गरिन्छ ।

कुनै संक्रमण भए नभएको, यौनरोग, दीर्घरोग लगायत परीक्षणपछि मात्र वीर्यदान दिन योग्य हो कि होइन भन्ने टुंगो गरिन्छ । यसका लागि उमेर हद पनि छ । १८ वर्षभन्दा माथि र ३० वर्षभन्दा मुनिका पुरुषले वीर्यदान गर्न पाउँछन् । यो उमेर अवधिमा वीर्य गुणस्तरीय मानिन्छ । बच्चा जन्माइसकेका वा बच्चा नजन्माएकाले पनि वीर्य दान गर्न पाउँछन् ।

त्यतिले मात्र पुग्दैन, सन् २०१० मा सार्वजनिक विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार वीर्य ‘काउन्ट’ गर्दा औसतमा १ करोड ५ लाख वीर्य हुनुपर्छ । जसमा वीर्यको टाउको, पुच्छर भएको चार प्रतिशत र वीर्यको मात्रा दुई एमएल हुनुपर्छ ।

गोपनीयता

दाता र प्राप्त गर्ने दम्पतीबारे गोपनीयताको पूर्ण ख्याल राखिन्छ । जसकारण कसले दिएको वा कसले लिएको भन्ने कुरा उनीहरुलाई थाहा हुँदैन । तर व्यक्तिगत विवरणको अभिलेख भने आईभीएफ सेन्टर वा अस्पतालले राखिरहेको हुन्छ ।

वीर्यलाई कसरी भण्डारण गरिन्छ ?

दाताहरुको लागि वीर्य संकलन कक्ष हुन्छ । उक्त कक्ष आरामदायी र शान्त वातावरणको हुन्छ । त्यहाँ दाताले वीर्य संकलन भएपछि भण्डारणको प्रक्रियाको लागि (एन्ड्रोलोजील्याब)मा लगिन्छ । निकालेको वीर्यलाई स्वस्थ बनाउन आवश्यक पोषकतत्व मिसाएर भण्डारण गर्ने ट्युबमा राखिन्छ । ट्युबलाई १९६ डिग्री सेल्सियस तरल नाइट्रोजनमा भण्डारण गरिन्छ ।    भण्डारण गरिएको वीर्यलाई तीन महिनासम्म भण्डारण गरेपछि मात्र निकालेर प्रयोग गरिन्छ ।

महिलाको डिम्बसँग निषेचन कसरी गराइन्छ ?

तयार भइसकेको वीर्यलाई सबैभन्दा पहिले प्रयोगशालाबाट झिकेर ताजा बनाइन्छ । वीर्यमध्ये पनि गुणस्तरीय छानेर म्याक्रो म्यानुपुलेटर मेसिनमा राखिन्छ । त्यससँगै आवश्यक परेको महिलाको डिम्ब निकालेर एउटा डिक्समा राखिन्छ । लाखौं वीर्यमध्ये एउटा वीर्य जुन सक्रिय भएको टाउको मिलेको पुच्छर भएको वीर्यलाई छानेर डिस्कमा भएको डिम्बमा निषेचन गराइन्छ ।

तीन दिन वा पाँच दिनसम्म निषेचन भएको अण्डा र वीर्यलाई ल्याबमा राखिन्छ । यसरी तयार भएको निषेचन अण्डालाई महिलाको पाठेघरमा हार्मोन औषधिको माध्यमबाट गर्भावस्थाको वातावरण बनाएर राखिन्छ ।

नेपालमा वीर्यदान सेवा

वीर्य भण्डारण नेपालमा धेरै वर्षदेखि चलिरहेको भएपनि धेरै जना यसप्रति बेखबर हुँदा प्रयोगकर्ताहरु कम नै छन् । तर विकसित देशहरुमा भने यसबारे धेरैको चासो हुन्छ । यसको लागि वीर्यदान केन्द्र पनि थुप्रै हुन्छन्, जहाँ दाताले सजिलै वीर्यदान गर्न सक्छन् ।

शुक्राणुदान गर्दा कुनै खतरा हुन सक्छ ?

वीर्य वा शुक्राणु दान एक सरल र सिधा प्रक्रिया हो । यसमा कुनै खतरा हुँदैन । दान गर्न चाहनेले सबै परीक्षणको प्रक्रिया पूरा गरेर दान गर्न सक्नेछन् ।

(निःसन्तानरोग विशेषज्ञ डा. श्रीश ललितपुर पुल्चोकस्थित माया आईभीएफ क्लिनिकमा कार्यरत छिन् । उनीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

डा. रश्मी श्रीश वीर्यदान
डा. रश्मी श्रीश
लेखक
डा. रश्मी श्रीश
प्रजनन् तथा आईभीएफ विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४३२५ अध्ययन : एमडी (स्त्री तथा प्रसूति रोग),  फेलोसिप इन फर्टिलिटी (भारत), कस्मेटिक (दुबई) हाल ललितपुर कुपण्डोलस्थित माया आईभीएफ क्लिनिक र काठमाडौं महाराजगञ्जस्थित एन्जेल फर्टिलिटी क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?