+
+

डिजेल लिटरमा १० रुपैयाँले सस्तिंदा पनि घटेन गाडी भाडा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते २१:२१

काठमाडौं । सरकारले २० चैतमा डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटायो । धेरैले अपेक्षा गरेका थिए, अब सार्वजनिक सवारीको पनि भाडा घट्ला । तर, सोचेजस्तो भएन बुधबारसम्म यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छैन ।

प्रतिलिटर १७५ रुपैयाँ रहेको डिजेलको मूल्य अहिले १६५ रुपैयाँमा झरेको छ । लिटरमै १० रुपैयाँ सस्तो हुँदा पनि किन मूल्य घटेन भन्ने आम जिज्ञाशा छ ।

तर, विभागको भनाइ मान्ने हो भने अहिलेकै अवस्थामा सार्वजनिक सवारीको भाडा सस्तिने छैन । विभागले यसमा सार्वजनिक सवारीको स्वचालित मूल्य समायोजनको व्यवस्थालाई कारणका रुपमा देखाएको छ ।

विभागले तेलको मूल्य ५ प्रतिशत तलमाथि भए मात्रै भाडा घटबढ हुने व्यवस्था लागू रहेको तर्क गरेको छ । विभागका निर्देशक रामचन्द्र पौडेल अहिले लिटरमा १० रुपैयाँ सस्तो भएपनि यसअघि भाडा समायोजन भएको बेलाको तेलको मूल्यको तुलनामा ५ प्रतिशत मूल्य नघटेको बताउँछन् ।

‘गत असार २७मा भाडा समायोजन गर्दा डिजेलको मूल्य १७२ रुपैयाँ प्रतिलिटर थियो, अहिले त्यो १६५ रुपैयाँमा झरेको छ,’ उनी भन्छन्,‘भाडा समायोजन हुँदाभन्दा ७ रुपैयाँ मूल्य घटेपनि १७२ रुपैयाँको ५ प्रतिशत पुगेको छैन, भाडादर घट्न कम्तिमा ८.६ रुपैयाँ तेलको मूल्य सस्तो हुनुपर्थ्यो ।’

उनका अनुसार १७५ रूपैयाँलाई आधार मान्दा घटबढ प्रतिशत ५ प्रतिशत पुग्ने भएपनि समायोजन हुँदा कै मूल्यलाई आधार मान्नुपर्ने व्यवस्था भएकाले भाडा घटाउन नसकिएको हो ।

यसअनुसार अब डिजेल लिटरमा १.६० रुपैयाँ सस्तो भयो भने मात्रै भाडा समायोजन हुने छ । सरकारले करिब लिटरमा २ रुपैयाँ मूल्य घटाउन नचाहँदा त्यसको लाभ यातायात व्यवसायीले उठाउन पाएका छन् ।

‘समायोजन भएका बेलाको डिजेलको मूल्यमा ५ प्रतिशत घटबढ जे भएपनि फेरि भाडा समायोजन हुन्छ,’ विभागका निर्देशक पौडेल भन्छन्,‘कानुनी व्यवस्थाअनुसार नै अहिले भाडा समायोजन गर्न नसकिने अवस्था छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?