+
+

गुठी र बाजा संग्रहालयको विवादमा महानगर प्रहरीको हस्तक्षेप

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते २१:०८

२३ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बुधबार त्रिपुरेश्वरस्थित लोकबाजा संग्रहालय एकदिन भित्र खाली गर्न निर्र्देशन दियो । महानगर प्रहरीले निर्देशन दिएपछि लोक संस्कृति अभियन्ता, बाजा संरक्षकहरुले विरोध गरेका छन् ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले अभद्र शैलीमा संग्रहालय हटाउन धम्क्याएको संग्रहालयका अध्यक्ष राम कँडेलले बताए ।

महानगर प्रहरीले फुटपाथ पसलेलाई जस्तो अहिले उठेर गइहाल भन्ने शैलीमा धम्की दिएको उनले गुनासो गरे । ‘उहाँहरु आउनुभयो, भोलिसम्म खाली नगरे बाजा निकालिदिने भन्दै थर्काउनुभयो, त्यसपछि हामीले सबैलाई खबर गरेका हौं, तर आज कोही आउनुभएको छैन’, कँडेलले अनलाइनखबरसँग भने ।

त्रिपुरेश्वरको जग्गा र सत्तल २०६४ सालमा गुठी संस्थानले संग्रहालयलाई लिजमा दिएको थियो । त्यति बेलादेखि नै संग्रहालय त्यहीँ बसिरहेको छ ।

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेले महानगर प्रहरीले गुठी संस्थानको चिठीको आधारमा संरचना खाली गर्न गएको बताए । ‘हामीलाई संस्थानले बाजा संग्रहालय खाली गरिदिन सहयोग मागेको हो, संग्रहालयको अवस्था जीर्ण भएकाले हामीले पनि तत्काल नै खाली गरिदिन अनुरोध गरेका हौं तर उहाँहरु मान्नुभएन’ उनले भने ।

गुठी संस्थानले यो ठाउँ २०७१ सालमा काठमाडौं विश्वविद्यालयलाई संरचना बनाउन लिजमा दिएको थियो । तर संग्रहालयले आफूलाई जानकारी नदिई लिजमा दिएको भनेर असन्तुष्टि जनाएपछि २०७४ देखि गुठी संस्थानसँग विवाद सुरु भएको थियो ।

मासिक ६ हजार भाडा बुझाएर संस्थानमा बसिरहेको बाजा संग्रहालयलाई गुठीले अर्को संरचना उपलब्ध गराए पनि संग्रहालय त्यहीँ बस्न खोजेकाले खाली गराउन महानगर प्रहरीको सहयोग लिएको संस्थानका एक अधिकारीले बताए ।

‘उहाँहरुलाई टेकु छेउमा रहेको लक्ष्मीश्वर मन्दिरको सत्तलमा सर्नुस् भन्दा मान्नु हुँदैैन, अनि गुठी संस्थानले अरुलाई लिजमा दिइसकेको स्थानमा उहाँहरुलाई राख्न पनि भएन नि । हामीले पटक पटक भन्दा अटेर गरेपछि महानगर प्रहरीसँग सहयोग मागेका हौं,’ संस्थानका ती अधिकारीले भने ।

संस्थानका ती पदाधिकारीका अनुसार अहिले बाजा संग्रहालय रहेको भवन अत्यन्तै जीर्ण छ र सानोतिनो भूकम्प आउँदा पनि दुर्घटना हुनसक्ने जोखिम छ । बाजा संग्रालयका अध्यक्ष कँडेल भने भवन प्रबलीकरण गर्न सकिने बताउँछन् । उनले गुठी संस्थानले उपयुक्त विकल्प दिए सर्न तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?