+
+

‘विराटनगरको गौरवपूर्ण विगत सुस्त वर्तमान’

विराटनगरको इतिहासले भन्छ– ८५ वर्ष अगाडि नै नेपाल आधुनिक औद्योगिक युगमा प्रवेश गरेको थियो । विराटनगर जुट मिल्स आधुनिक प्रविधिमा आधारित थियो । तर, हामी समय अनुसार हिंड्न सकेनौं, हाम्रो दुर्भाग्य यहीं देखिन्छ ।

प्रा.डा. भेषप्रसाद धमला, अर्थशास्त्री प्रा.डा. भेषप्रसाद धमला, अर्थशास्त्री
२०७९ चैत २४ गते ११:५९

विराटनगरको हिजोको प्रतिष्ठा औद्योगिक राजधानी थियो । सन् १९३६ मा सबैभन्दा ठूलो अत्याधुनिक प्रविधिमा आधारित उद्योग (विराटनगर जुट मिल्स) स्थापना भएको थियो । त्यसबेलादेखि नै नेपाल आधुनिक औद्योगिक युगमा प्रवेश गरेको थियो ।

त्यसपछि सन् १९४६ सम्म विराटनगरमा उद्योगहरू खुले । जुन अनुपातमा त्यसबेला उद्योग खुले, त्यही अनुपातमा खुल्ने क्रम रहन्थ्यो भने सायद आज विराटनगरमा घर बनाउन पाँचधुर जग्गा पनि उपलब्ध हुने थिएन होला । यति तीव्र गतिमा उद्योगहरू खुलेका थिए ।

तर दोस्रो विश्वयुद्धको समाप्तिसँगै उद्योगहरू जसरी खुलेका थिए त्यसरी नै बन्द हुँदैगए । त्यसबेला सम्पन्न मुलुकहरू युद्धमा होमिएका थिए, जसले गर्दा उत्पादन कार्य शिथिल थियो । अन्तर्राष्ट्रिय बजारमा उद्योगबाट उत्पादित वस्तुहरूको अभाव हुँदैगयो । मूल्यवृद्धि बढेर गयो ।

त्यसबेला नेपाल युद्धमा होमिएको थिएन । अनि सुरक्षित स्थान खोजी गर्ने हिसाबले भारतीय पूँजीपतिको अग्रसरतामा विराटनगरको मिल्स एरियामा क्रमशः उद्योगहरू खुलेका थिए । किन मिल्स एरियामा खुले ? किन बजार क्षेत्रमा आएनन् भनेर खोजी गर्दा जवाफ भेटिन्छ— किनकि यो सीमा नाका नजिकै थियो, नजिकै रेल्वे स्टेशन थियो ।

त्यसबाहेक आवतजावतमा पनि सहज थियो । कच्चा पदार्थ, मेसिन ल्याउन र पठाउन सजिलो भयो, नाका छेउमा भएका कारण ढुवानी खर्च पनि कम थियो । दोस्रो विश्वयुद्ध समाप्त भएपछि भारतमा उद्योगहरू खुले, यहाँ खुलेका उद्योगहरू क्रमशः बन्द हुँदै गए, उद्योगीहरू उतै गए ।

विराटनगरको यो इतिहासले भन्छ आजभन्दा ८५ वर्ष अगाडि नै नेपाल आधुनिक औद्योगिक युगमा प्रवेश गरेको थियो । विराटनगर जुट मिल्स जुन प्रविधिमा चलेको थियो, त्यो त्यसबेलाको आधुनिक प्रविधि थियो । तर, ८५ वर्षपछि आएर अहिले पनि हाम्रो औद्योगीकरण शिशु अवस्थामा छ भनेको सुनिन्छ । हाम्रो दुर्भाग्य यहींबाट देखिन्छ ।

यसबाट देखिन्छ हाम्रो औद्योगिक आधुनिकीकरण ८० वर्ष अगाडि नै सुरु भएको हो । तर, जुन रफ्तारले यो अगाडि बढ्नुपर्ने हो त्यसरी बढेन । मन्द गतिले अगाडि बढ्यो, चिप्लेकीराको गतिमा ।

त्यसको विभिन्न कारण छन् । उद्योगी बन्नका लागि आइडिया, क्रिएटिभिटी र इनोभेसन हुनुपर्छ । हामीसँग उद्यमशीलता कम भयो । हाम्रो गुणस्तर पनि कमजोर  भयो । अहिलेको अवस्थाले हाम्रो गुणस्तरमा कमी भएको देखाउँछ ।

२०२२ देखि २०२७ सालको अवधिमा भाँडाकुँडा बनाउने उद्योग स्थापना भए । ती उद्योगको मार्केट भारतीय बजार थियो । हाम्रो बजार त सानो थियो । भारतका उत्पादन भन्दा हाम्रो उत्पादन राम्रो भएकाले हाम्रो सामान भारत जान्थ्यो । त्यसबेला नेपालका उद्योगले जापानिज प्रविधिको प्रयोग गरेका कारण उत्पादन राम्रो थियो ।

विस्तारै भारतले पनि जापानिज प्रविधिको सहयोगमा काम सुरु गर्यो । जसले गर्दा उसको गुणस्तर बढ्यो । त्यसपछि विस्तारै नेपालका उद्योगको बजार खुम्चियो । त्यसबेला स्थापना भएका उद्योगहरू केही वर्ष सञ्चालन भएर प्रतिस्पर्धा गर्न नसक्दा नाजुक भएर बन्दै भए । ‘कस्ट अफ प्रडक्सन’ हाम्रोमा उच्च भएपछि अर्काे बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ ।

औद्योगिक क्रमको विकास हेर्दा विराटनगर एक समयमा भुलुक्क उम्लेको देखिन्छ, त्यसपछि साम्य भएर गएको छ । यसको गति सुस्त छ ।

विराटनगरको अर्काे प्रतिष्ठा राजनीतिक राजधानी पनि थियो । देशलाई पाँच वटा प्रधानमन्त्री विराटनगरले दिएको थियो । लामो समय राजनीतिको केन्द्र थियो, यो । तर यति ठूला हस्ती हुँदाहुँदै पनि उनीहरूले विराटनगरका लागि चाहिं केही काम गरेको देखिएन । राजनीतिक नेतृत्व हुँदा पनि विराटनगरले औद्योगिक विकासको क्षेत्रमा कुनै फड्को मारेन ।

तर यति हुँदाहुँदै पनि सम्भावना भने प्रचुर छ । विराटनगर एउटा शहर मात्रै होइन, कोशी प्रदेशकै विकास र सम्भावनाको आधारभूमि हो । यहाँ पूर्वाधार र पर्यटनको सम्भावना प्रशस्त छ । कृषि उद्योगको सम्भावना उच्च छ । उद्योगहरू छन्, तिनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन अवसर पनि छ ।

सन् १९७१ सम्म हामीले धान–चामल निर्यात नै गरेका थियौं । त्यसबेला वैदेशिक मुद्राको स्रोत कृषिजन्य वस्तुको निर्यात थियो । तर अहिले बाहिरबाट चामल ल्याएनौं भने हाम्रो घरको चुलोमा भाँडो बस्दैन । अहिले चामल आयात हुनुको कारण कृषि क्षेत्र व्यवसायीकरण नभएर हो ।

हामीकहाँ ठूला उद्योगलाई कच्चा पदार्थ नहुँदा समस्या छ । बाहिरबाट ल्याउँदा लागत बढ्छ । अहिले हाम्रो बिजनेस च्यानल पनि सानो भयो । यसलाई विस्तार गर्न सके उद्योग व्यापार राम्रो हुन्छ । हामीले जसमा तुलनात्मक लागत कम छ त्यही व्यवसायमा स्कोप खोज्नुपर्छ ।

हिजो हामी आफ्नै उत्पादनमा आत्मनिर्भर थियौं, गुणस्तर कम भए पनि त्यसबेलाको उत्पादनमा आत्मनिर्भर थियो । हिजो कोदो खाए पनि हामी आफ्नै उत्पादन खान्थ्यौं, तर अहिले केमा आत्मनिर्भर छौं र ?

सम्भावना बोकेको शहर विराटनगर हिजो रानी क्षेत्रमा केन्द्रित थियो । विस्तारै उत्तरतर्फ विस्तार भयो । हामीले एउटा कलेजलाई बजारदेखि उत्तरतर्फ स्थापना गर्न खोज्दा व्यापक विरोध भयो । तर पनि कन्भिन्स गरेर बजार भन्दा उत्तरतर्फ जनता कानुन क्याम्पस स्थापना गरेका थियौं । त्यसबेला संकुचित सोच थियो । विराटनगरका मानिसहरू संसारीमाइस्थान आसपास बनाउनुपर्छ भन्थे । सबै संरचना सानो घेराभित्र मात्रै हुनुपर्छ भन्ने सोच थियो ।

अहिले पनि विराटनगरको सोच संकुचित छ । विराटनगर अहिलेकै घेरामा अटाउन सक्दैन, यसलाई बृहत्तर क्षेत्रसँग जोड्नुपर्छ । विराटनगरको शहरीकरणलाई उत्तरतर्फ विस्तार गर्नुपर्छ । अबको विराटनगर पूर्व–पश्चिम राजमार्गबाट दक्षिण हो भन्ने सोच राख्नुपर्छ ।

यहाँको समाज मिश्रित छ । शहरी सुविधा, शिक्षा र स्वास्थ्यका लागि विराटनगर आउने संख्या बढ्दो छ । मिश्रित समाजको विकासक्रम पनि राम्रोसँग भइरहेको छ ।

बजारमा बसोबास केन्द्रित हुँदा कृषि उत्पादनमा ह्रास आएको छ । हामीसँग लागत कम हुने, मुनाफा दिन सक्ने उद्यम पनि कृषि हो । अब हलो जोतेर आत्मनिर्भरता हुँदैन, प्रविधिको प्रयोग गरेको कृषिलाई औद्योगीकरण गर्नुपर्छ । कृषि उत्पादनमा आत्मनिर्भर मात्रै हुनसक्यौं भने चामलका लागि विदेशिने पैसा रोकिन्छ । त्यो सम्भावना अहिले पनि कायमै छ ।

भारत र चीन जोड्ने रानी–किमाथाङ्का सडक छ । यो सडकले त्रिदेशीय व्यापारको राम्रो सम्भावना बोकेको छ । कृषि र पर्यटन क्षेत्रमा हाम्रो सम्भावना छ । स्वास्थ्य उपचारको सम्भावना पनि छ । शिक्षामा पनि राम्रो सम्भावना छ । विराटनगरको समृद्धिको सम्भावना राम्रो छ । हामीसँग सीमा जोडिएको ठूलो जनसंख्या भएका बिहार र बंगाल राज्य छन् । व्यापारको सम्भावना भएको भुटान, बंगलादेश पनि नजिकै छन् । यसर्थ विराटनगरको सम्भावना अझै सकिएको छैन ।

(विराटनगरवासी अर्थशास्त्री धमलासँग अनलाइनखबरका लागि हरि अधिकारीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?