+
+
अन्तर्वार्ता :

क्षमतामा हामी भियतनामभन्दा कमजोर थिएनौं

ठूला देशहरूसँग हामी पछि पर्ने भनेकै स्पिड र निर्णय क्षमतामै हो । हामीले त्यसलाई अझै सूक्ष्म रूपमा काम गर्ने र ११ जनालाई नै आफ्नो जिम्मेबारी र टिमसँगको समन्वयबारे थाहा भयो भने टिममा राम्रो हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते २०:०८

२७ चैत, काठमाडौं । सन् २०२४ को पेरिस ओलम्पिकका लागि एशियाली छनोटको पहिलो चरणमा नेपालले बलियो प्रतिस्पर्धी भियतनामसँग पछिल्लो साता दुई खेल खेल्यो ।  दुवैमा पराजित नेपाल टिमको प्रदर्शनले भने प्रशंसा पाइरहेको छ ।

पहिलो खेल ५–१ गोलअन्तरको हार व्यहोरेको नेपालले दोस्रो खेल भने २–० मा टुंग्याएको थियो । चार महिनादेखि नेपाल टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएका अनन्त थापा आफ्नो टिमको प्रदर्शन र खेलाडीको क्षमतामा गर्व गर्छन् ।

लामो समय ए डिभिजन टिम नेपाल पुलिसको प्रशिक्षण सम्हालेका थापा राष्ट्रिय फुटबल टिमका पूर्व डिफेन्डर समेत हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले थापालाई यही प्रतियोगिताका लागि महिला टिमको प्रमुख प्रशिक्षक बनाएको थियो । आफूले महिला टिमलाई एउटा आकारमा ल्याउने प्रयास गरेको बताउँछन् ।

नेपाली महिला फुटबललाई सीमितताबाट बाहिर ल्याएर विश्वकपसम्म पुर्‍याउन ठोस योजनाको आवश्यक रहेको थापाको अनुभव छ । ओलम्पिक छनोटमा नेपाल टिमको प्रदर्शन, नतिजा र महिला फुटबलको विकासका लागि आवश्यक रणनीतिबारे अनलाइनखबरकर्मी कुशल तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

टचलाइनमा बसेर आफ्नो टिमको प्रदर्शन हेर्दा भियतनामसँगको खेलको विश्लेषण कसरी गर्नुभयो ?

भियतनाम बलियो प्रतिस्पर्धी थियो । किनभने उसले एसियाबाट विश्वकपमा प्रतिनिधित्व गर्दैछ । तर हामी पनि उनीहरूभन्दा कम चाहिं थिएनौं जस्तो लाग्यो । सबै पोजिसनको प्रदर्शनका आधारमा हामी उनीहरूसँग टक्करकै प्रतिस्पर्धी थियौं ।

तर हामीले पहिलो खेलमा दोस्रो गोल (पेनाल्टी) र तेस्रो (डिफ्लेक्ट) गोल खाएपछि खेलको परिस्थिति बदलियो । र, ५–१ को नतिजाले दुई टिम बीचको अन्तर धेरै रहेको संकेत गरे पनि समग्र प्रदर्शनको आधारमा त्यस्तो थिएन ।

हामीलाई अग्रता लिने अवसर सुरुमै मिलेको थियो, तर पहिलो खेलमा पहिलो हाफमै हामी ३ गोलले पछि रह्यौं । खेल सुरु गर्दैगर्दा हाम्रो रणनीति र मानसिकता कस्तो थियो ?

भियतनामलाई मूल्यांकन गर्ने क्रममा हाम्रो केही कमजोरी रह्यो । किनभने विश्वकपमा छनोट भइसकेको टिम भएर पनि उनीहरूले खेलेको भिडियो विश्लेषण गर्दा र शारीरिक बनावट हेर्दा त्यति बलियो टिम होइन कि भन्ने निक्र्योल निकाल्यौं । सुरुवाती १० मिनेट दबाव दिने, उनीहरूको क्षेत्रमा खेल्न नदिने प्रयास गर्‍यौं ।

त्यो रणनीति महँगो पर्‍यो जस्तो लाग्छ । किनभने हामीले उनीहरूलाई दबावमा राख्दा टिमका धेरै खेलाडी एट्याकिङ थर्डमा हुन्छ । त्यो संक्रमणको समयमा उनीहरूलाई काउन्टरमा खेल्न सक्ने वातावरण मिल्न गयो । त्यसबाटै उनीहरूले गोल पनि निकाले । दोस्रो खेलमा हामीले त्यसलाई सुधारेर सतर्क रह्यौं र सन्तुलित डिफेन्डिङमा जाँदा प्रदर्शन पनि राम्रो आयो ।

व्यक्तिगत रूपमा भन्नुपर्दा खेलकुदमा मोमेन्टमले धेरै अर्थ राख्छ । सुरुवातमै अमिषा (कार्की)ले पाएको अवसरमा गोल निस्किएको भए ओलम्पिक छनोटको नतिजा नै धेरै फरक पर्ने थियो जस्तो लाग्छ । संयोग कस्तो हुन गयो भने अमिषाले गोल गर्न नसकेलगत्तै त्यही बललाई लगेर उनीहरूले गोल गरिदिए ।

हाइ प्रेसिङ खेल्दा अवसर हामीले बनायौं, तर काउन्टरमा हामीलाई पछि पार्दै हेडमार्फत गोल निस्कियो । दोस्रो गोलमा पनि हामीलाई त्यस्तै पर्‍यो । अमिषाले नै अर्को अवसरमा चुक्दा त्यही हाम्रोतिर आउँदा पेनाल्टी भयो । त्यसको एक दुई मिनेटमै हामीले एउटा आत्मघाती गोल खान पुग्यौं ।

महिला फुटबलमा व्यवस्थित लिग हुनुपर्छ, फ्रेन्चाइज लिगलाई सुरुवात गर्नुपर्छ । वर्षमा १० देखि १२ वटा अन्तर्राष्ट्रिय खेल खेल्नुपर्छ, हामीभन्दा माथिल्लो वरीयतालाई प्राथमिकता दिनुपर्छ । लगानी बढाउनुपर्छ, मुख्यगरी ग्रासरुट विकासमा ध्यान दिनुपर्छ ।

यी सबै मोमेन्टममा उनीहरू हावी रहे । वरीयतामा पनि उनीहरू हामीभन्दा तीन गुणाले माथि छन् । त्यसमाथि पहिलो हाफमै ३ गोलको अग्रता पाउँदा उनीहरू निश्चित रूपमा माथि रहे ।

समग्रमा भन्नुपर्दा हाम्रो समूहका अफगानिस्तान र प्यालेस्टाइनले नाम फिर्ता नलिएको भए भियतनामको एउटा खेल हेर्न पाउने थियौं । त्यसले उनीहरूविरुद्ध रणनीति तयार गर्न सजिलो हुन्थ्यो । त्यसले नतिजामा पनि फरक पार्न सक्थ्यो ।

माथिल्लो वरीयताको टिमसँग खेल्ने तयारीको समयमा खेलाडीको मनस्थिति कस्तो पाउनुभएको थियो ?

खेलाडीहरू मानसिक रूपमा बलियो देखिए । उनीहरूले यसअघि ओलम्पिक छनोटको पहिलो चरणमै म्यानमारसँग बराबरी खेलेका थिए । त्यो नतिजालाई सम्झेर उनीहरू आत्मविश्वासी र उत्साहित थिए । तर वास्तविकता हामीले चार वर्षअघिको तुलना गरिरहेका छौं । यो भनेको धेरै लामो समय हो । त्यसबीचमा अरू टिमले ठूलो फड्को मार्छन् । हाम्रो चाहिं चार वर्षअघि प्रशिक्षकले जहाँ छाडेको हुन्छ, नयाँले आएर नयाँ तरिकाबाट सुरु गर्छ ।

त्यसबाहेक घरेलु माहोल पनि नेपाल टिमका लागि सहयोगी थियो । हामी २/३ गोलले पछि पर्दा पनि समर्थकहरूले हामीले विपक्षीको हाफबाट बल अगाडि बढाउनेवित्तिकै चर्को हुटिङ आइरहेको थियो । त्यसले खेलाडीमा पनि अर्कै शक्ति मिल्छ ।

५–१ को नतिजाले खेल हारेपछि हामीसँग दोस्रो खेलका लागि दुई दिनको समय थियो । अर्को खेलका लागि तयार गर्न तपाईंले खेलाडीलाई कसरी प्रेरित गर्नुभयो ?

पहिलो खेलपछि भियतनाम टिमबारे धेरै प्रष्ट भयो । उनीहरूले बल विनाको मुभमेन्ट धेरै गरिरहेको र फ्ल्यांकबाट धेरै एट्याक गर्ने गरेको थाहा पायौं । हामीले उनीहरूको त्यही पक्षलाई रोक्ने रणनीति बनायौं । कम्याक्ट डिफेन्डिङ खेल्ने र फ्ल्यांकबाट आएको आक्रमणलाई निस्तेज पार्ने र बल टू बलमा केन्द्रित हुँदै काउन्टरमा सावित्रालाई प्रयोग गर्ने हाम्रो रणनीति थियो ।

दुर्भाग्य ! हामीले दोस्रो खेलमा निकै छिटो दुई गोल खायौं । यसले चाहिं मनोवैज्ञानिक रूपमा हाम्रा खेलाडीहरू धेरै कमजोर देखिए । म बेन्चमा हेरिरहेको थिएँ, त्यहाँको माहोल अर्कै थियो । ग्राउण्डभित्र खेलाडीहरू त्यस्तै थिए । त्यसपछि मैले उनीहरूको हौसला र प्रेरणा बढाउनतर्फ आफूलाई केन्द्रित गरें । यत्तिकै छाड्ने हो भने आजको खेलको नतिजा धेरै अन्तरको हुनसक्छ भन्ने लाग्यो । डरविनाको फुटबल खेल्न सुझाव दिएँ, उनीहरूलाई स्वतन्त्र रहेर खेल्न छाडिदिएँ ।

त्यो दुई गोललाई बिर्सिने हो भने ८५ मिनेट हामीले हाम्रो पोजिसनमा सहज फुटबल खेलेका छौं । उनीहरूलाई दबावमा राखेका थियौं, धेरै अवसर सृजना गरेका थियौं । सावित्रा (भण्डारी) र दीपा (शाही)ले त लगभग गोलको अवसर पाएका थिए ।

दोस्रो हाफमा गोलरक्षक परिवर्तन गर्नुभयो । नेपालको खेल पनि धेरै नै सुधारिएको देखियो । ब्रेकको समयमा के कुरा भएको थियो ?

मैले सुरुमा एन्जिलालाई परिवर्तन गर्न लागेको सुनाएँ । किनभने मलाई त्यो दिन उनको थिएन भन्ने लाग्यो । त्यसपछि केटीहरूलाई पनि नतिजा बिर्सेर मैदानमा जाग्न सुझाव दिएँ । डर नमान्नु र गोर्खे शैलीमा चड्काएर खेल भन्ने हिसाबबाट हौसला दिएको थिएँ । त्यो हौसलाले काम गरेजस्तो लाग्यो ।

सेन्टर डिफेन्डर गीता राना र मिडफिल्डर प्रिती राई चोटका कारण बाहिर रहे । उनीहरूको अनुपस्थिति कति खट्कियो ?

केही हदसम्म असर परिहाल्छ । किनभने गीता राना मैले अहिलेसम्म देखेकामध्ये नेपालको सबभन्दा उत्कृष्ट डिफेन्डर हो । एपीएफमा पनि उसको खेल हेरेको छु । गत महिना भारतसँग खेल्दा पनि गीता भएपछि म आफैंलाई डिफेन्समा ढुक्क महसुस हुन्थ्यो । प्रिती राई पनि राम्रो हुँदै आएको थियो । उनी भइदिएको भए अझै राम्रो हुन्थ्यो ।

मिडफिल्डमा सरु लिम्बु, एट्याकिङमा दीपा शाही, अमिषा कार्की लगायत नयाँ पुस्ताको प्रभुत्व बढ्न थालेको देखियो । भियतनामसँग पनि यिनीहरूको प्रदर्शन उल्लेख्य थियो । नेपाल टिमको विकासमा यो सकारात्मक संकेत हो ?

उनीहरूले यस प्रतियोगितामा आफ्नो भूमिकामा उत्कृष्ट प्रदर्शन गरे । नयाँ प्रतिभाहरू राम्रै्र संख्यामा आइरहेका छन् । सिनियर टिमको जिम्मेवारीमा रहे पनि मैले यू–२० र यू–१७ टिमका खेलाडीहरू पनि हेरिरहेको छु । महिला फुटबलमा विस्तारै प्रतिस्पर्धाको दर बढेको छ । एउटै खेलाडीले लामो समयसम्म खेल्नुपर्ने अवस्था अन्त्य हुँदैछ ।

महिला फुटबल पहिला स्किलको मात्र हुन्थ्यो भने अहिले स्पिडको खेल भएको छ । अहिले हामीले अग्रपंक्तिमा सावित्रालाई सहयोग गर्न उच्च गतिका खेलाडीहरू पाएका छौं । दीपा, अमिषा, विमला चौधरीको स्पिड र स्किल दुवै राम्रो छ ।

युवा टिमबाट पनि प्रतिभाहरू पहिचान भइरहेका छन् । तपाईंहरूले याद गर्नुपर्ने कुरा के हो भने यू–१७ टिमकी सेन परियार, गोलरक्षक सुजाता तामाङ जस्ता खेलाडीले क्षमता देखाइरहेका छन् । उनीहरू हाम्रो लागि भविष्य हुनसक्छन् ।

महिला मात्र होइन, पुरुष फुटबलमा पनि उमेर समूहमा सम्भावना बोकेका प्रतिभा पहिचान हुन्छ । तर, सिनियर टिमसम्म आउने समयसम्म उनीहरू कतै हराएको, पलायन भइसकेको र चोटले सताएको देखिन्छ । खेलाडी संरक्षणको सवालमा जुनियरदेखि सिनियरसम्मको प्रक्रियाले प्रभावकारी काम गरिरहेको छ ?

सबभन्दा महत्वपूर्ण कुरा यही हो, यसमा धेरै ध्यान दिनुपर्छ । खेलाडीलाई संरक्षण र सम्मानमा ध्यान दिनुपर्छ । सही समयमा सही खेलाडीलाई प्रयोग गर्न सक्नुपर्छ । टिममा कति समयदेखि योगदान दिइरहेको छ भन्ने आधारमा उसको प्राथमिकता निर्धारण गर्ने परम्परा त्याग्नुपर्छ । कुन टिमसँग कस्तो खेलाडीलाई प्रयोग गर्ने भन्ने स्पष्ट मानसिकता प्रशिक्षकमा पनि हुनुपर्छ ।

तपाईं आजको दिन जस्तो हुनुहुन्छ त्यसले मात्र अर्थ राख्छ । भोलि खेल छ आजको प्रशिक्षणमा तपाईंले कस्तो प्रदर्शन गर्नुहुन्छ भन्नेले टिममा स्थान रहन्छ । खेलको दिन तपाईंको मानसिकता कस्तो छ भन्नेले पनि अर्थ राख्छ । त्यो तथ्यलाई सबैले स्वीकार पनि गर्नुपर्छ ।

उमेर समूहबाट सिनियरमा आउँदा खेलाडी किन ‘हराउँछ’ भन्ने प्रश्नमा चाहिं हामी प्रशिक्षकहरूले पनि खेलाडीलाई कसरी सम्हाल्ने भन्नेले अर्थ राख्छ । म आफैं पनि उमेर समूहबाट खेल्दै आएकाले एउटा खेलाडीले कस्तो कस्तो परिस्थितिको सामना गर्दै आउनुपर्छ भन्ने थाहा छ । आफ्नो भोगाइ र अनुभवका आधारमा नयाँ खेलाडीलाई गर्ने व्यवहार निर्देशित हुनुपर्छ, नत्र त परिवर्तन नै भएन नि !

हाम्रोजस्तो देशमा सबै खेलाडीमा सबै गुण खोज्ने हो भने त उनीहरूलाई इंग्लिस प्रिमियर लिग खेल्न पठाए भइहाल्यो नि ! टोटनह्याम हट्सपर महिला टिमका खेलाडीको जस्तो प्रदर्शन हामीले हाम्रो खेलाडीमा कसरी पाउने ? हामीले फरक–फरक क्षमताका खेलाडीको बलियो पक्ष उजागर गरेर उनीहरूबाट धेरैभन्दा धेरै लाभ लिने गरी काम गर्नुपर्छ । उनीहरूलाई प्रेरित गर्नुप¥यो, एक्स्पोजर दिनुप¥यो र सही समयमा प्रयोग गर्नुपर्‍यो । बेन्चमै थन्क्याएर उनीहरूको क्षमतालाई निरुत्साहित गरियो भने त खेलाडीले पनि कतिन्जेल सहने ?

तपाईंको प्रशिक्षणमा नेपालले दुई महिनाअघि भारतसँग उसकै मैदानमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दुवै खेल बराबरी रह्यो । भियतनामसँगको पछिल्लो दुई खेलको नतिजापछि नेपालको महिला फुटबल कहाँ पाउनुभयो ?

पहिला म खेलाडी हुँदाको समय र पछि पुरुष टिमको प्रशिक्षक हुँदा पनि महिला फुटबल हेर्दा त्यस्तो माहोल नै लाग्दैनथ्यो । महिलाहरूको खेलको गति नै बुझ्न सकिंदैन कि जस्तो लाग्थ्यो । तर असोजमा साफमा प्राविधिक सर्वेक्षणमा बसेको हुनाले उनीहरूको खेल हेर्न पाएँ । त्यही आधारमा मैले महिला टिम सम्हाल्ने प्रयास गरेको हो । वास्तवमा भन्ने हो भने अहिले नेपाल टिमको गति फरक छ । मैले पनि महिलाहरूको गतिमा ध्यान दिएको छु । र, करिब करिब पुरुषहरूकै जतिको स्पिडमा खेलाउँदै आएको छु ।

ठूला देशहरूसँग हामी पछि पर्ने भनेकै स्पिड र निर्णय क्षमतामै हो । हामीले त्यसलाई अझै सूक्ष्म रूपमा काम गर्ने र ११ जनालाई नै आफ्नो जिम्मेबारी र टिमसँगको समन्वयबारे थाहा भयो भने टिममा राम्रो हुन्छ ।

त्यसबाहेक प्रशिक्षकले पनि आफ्नो खेलाडीलाई बुझ्न पर्याप्त समय पाउनुपर्छ । फुटबलमा नतिजा केन्द्रित र विकास केन्द्रित गरी दुईवटा फिलोसफी हुन्छ । नेपालमा हाम्रो नतिजा केन्द्रित फुटबलमै बढी ध्यान छ । हाम्रोमा प्रशिक्षकहरू नतिजामै केन्द्रित हुनुपर्छ । समर्थकहरू हारलाई स्वीकार गर्न सक्दैनन् । तर हाम्रो सोचाइको चरण पनि बुझ्नुपर्छ जस्तो लाग्छ । दीर्घकालसम्म सोच्ने हो भने चाहिं विकास केन्द्रित फुटबल नै खेल्नुपर्छ ।

तपाईं बारम्बार प्रोग्रेसिभ थिंकिङको कुरा गरिरहनुहुन्छ । भियतनामसँगको पहिलो खेलपछि टिमकी मुख्य खेलाडी सावित्रा भण्डारीले पनि हामी दक्षिणएसियाका खेलमा मात्र सीमित हुने हो भने ठूला टिमविरुद्ध नतिजा निकाल्न सक्दैनौं भनेकी थिइन् । खासमा चरणबद्ध विकासका लागि कस्तो रणनीति चाहिन्छ ?

हामीले चरणबद्ध रूपमा राम्रो खेल्दै जाने हो भने एउटा लक्ष्य निर्धारण गर्नुपर्छ । भारतसँग दुई बराबरी खेलेपछि हामीले ३ वरीयता सुधार गर्‍यौं, अहिले १०० वरीयतामा छौं । अबको तीन वर्षपछि शीर्ष ५० भित्र पर्ने, त्यसपछि अर्को तीन वर्षमा विश्वकप खेल्ने गरेर एउटा योजना चाहियो नि !

त्यसका लागि हामीसँग योजना चाहिन्छ । महिला फुटबलमा व्यवस्थित लिग हुनुपर्छ, फ्रेन्चाइज लिगलाई सुरुवात गर्नुपर्छ । वर्षमा १० देखि १२ वटा अन्तर्राष्ट्रिय खेल खेल्नुपर्छ, हामीभन्दा माथिल्लो वरीयतालाई प्राथमिकता दिनुपर्छ । लगानी बढाउनुपर्छ, मुख्यगरी ग्रासरुट विकासमा ध्यान दिनुपर्छ । स्कुल–स्कुल र प्रदेश–प्रदेशमा जब ग्रासरुटको माहोल ल्याउन सकिंदैन, खेलाडीको प्रतिभा पहिचानमा कठिन हुन्छ । एन्फामा ग्रासरुट विभाग नै छ । त्यसले आफूलाई पुरुषसँगै महिलामा पनि केन्द्रित गर्नुपर्छ, विद्यालयस्तरीय खेलहरू गर्नुपर्छ । जति धेरै संख्या पहिचान हुन्छन् गुणस्तरीय खेलाडी भेट्टाउन सजिलो हुन्छ ।

छिमेकी भारतकै अवस्था हेर्नुहुन्छ भने उसले उमेर समूहको महिला टिमलाई युरोपको क्लबहरूसँग खेलाउन थालेको छ । यस्ता सबै पक्षहरूमा सूक्ष्म योजना बन्नैपर्छ । यसका लागि लगानी नै आवश्यक पर्छ । महिला फुटबलले प्राथमिकता पाएको अवस्थामा विश्वकपसम्मको सपना धेरै टाढा हुँदैन ।

यति धेरै कुरा गरिरहँदा पनि दक्षिणएसियाको च्याम्पियन बन्ने सपना अहिलेसम्म पूरा भएको छैन । धेरैपल्ट नजिक पुगेर चुकिरहेका छौं, के मिलिरहेको छैन ?

साफ क्षेत्रमा हामी एक दावेदार टिम हो । विगतका दिनहरूमा पनि टिमले राम्रो प्रदर्शन गरिरहेको छ । यसपालि काठमाडौंमा धेरै नजिक पुगेर हामी हार्नुपर्‍यो । ‘नेपालको मेस्सी’ साम्भालाई डेंगु लाग्नु नै दुर्भाग्य भयो । तर, साफ हाम्रो नियन्त्रणमै छ । ठूला टिमसँग एक्स्पोजर र अनुभव हुँदै गयो भने हामीलाई साफ क्षेत्रका देशहरूसँग खेल्न कठिन हुँदैन ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?