+
+

सुडानमा सत्तापलट प्रयासमा ५६ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १२:०२

३ वैशाख, काठमाडौं । सुडानमा सत्तापलटको प्रयासका बीच भएको हिंसामा ५६ जनाको मृत्यु भएको छ भने ६०० भन्दा बढी मानिस घाइते भएका छन् ।

सुडानको राजधानी खार्तुमलगायत विभिन्न क्षेत्रमा गोलीबारी र विष्फोट जारी छ । त्यहाँका सशस्त्र बलका प्रतिद्वन्द्वी समूहबीचको तनाव हिंसात्मक बन्दै गएपछि सुडानी अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) ले राष्ट्रपति भवनमाथि आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ ।

समाचार संस्थाहरूले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै बताएअनुसार सुडानको राजधानी खार्तूमस्थित राष्ट्रपति भवन र सेनाको मुख्यालय वरपर भीषण भिडन्त भइरहेको छ ।

आरएसएफले एक विज्ञप्ति जारी गर्दै खार्तूम, मारवा र अल–अबैदमा रहेका विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपछि अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान रद्द गरिएको दाबी गरेको छ ।

आरएसएफका अनुसार उनीहरूले आफ्नो एउटा आधार शिविरमा सेनाले अचानक आक्रमण गरेपछि प्रतिरोध गरेका थिए । यसैबीच खार्तूमस्थित ‘थिङ्क ट्याङ्क कन्फ्लुएन्स एडभाइजरी’का संस्थापक निर्देशक खोलुद खैरले सेना र आरएसएफले सत्ता सुदृढीकरणका विषयमा आफ्नो विरोधी धारणाका कारण कहिल्यै तालमेल नगरेको बताएका छन् ।

सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भिडन्त भइरहेको छ । बीबीसीका अनुसार हिंसामा हालसम्म संयुक्त राष्ट्रसंघका ३ कर्मचारीसहित ५६ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । यसबाहेक हालसम्म ६ सय जना घाइते भएका छन् । आरएसएफले राजधानीका अधिकांश सरकारी कार्यालयहरू आफ्नो सेनाले कब्जा गरेको दाबी गरेको छ।

मिडिया रिपोर्टका अनुसार आरएसएफका नेता मोहम्मद हमदान डगालो (हेमेदती) सुडानमा अर्को कू गर्न खोजिरहेका छन् । उनले आफ्नो सेनाले सबै सैन्य आधारहरू कब्जा नगरेसम्म पछि नहट्ने बताएका छन् ।

हिंसाको बीचमा सुडानी सेनाले एक विज्ञप्ति जारी गर्दै जेटबाट आरएसएफको बेसमा हमला गरिरहेका जनाएको छ । सेनाले मानिसहरूलाई घरमै बस्न अपिल गरेको छ।

यसअघि शनिबार दारफुर प्रान्तको काब्काबिया सहरमा रहेको सैन्य शिविरमा आरएसएफले गरेको आक्रमणमा संयुक्त राष्ट्रसंघका तीन कर्मचारीको मृत्यु भएको थियो । तीनै जना संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कर्मचारी थिए। डब्लुएफपीले आर्थिक र सामाजिक रूपमा कमजोर समुदायहरूमा खाना पुर्‍याउने काम गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?