+
+

शरीर स्वस्थ रहेको देखाउने ७ संकेत

डा. अवशेष भण्डारी डा. अवशेष भण्डारी
२०८० वैशाख ३ गते १७:३८

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खानपान, राम्रो निद्रा र तनावरहित वातावरण मुख्य कुरा हुन् ।  यदि यी सबै विषयमा ख्याल राख्नुहुन्छ भने तपाईं आफ्नो शरीरलाई स्वस्थ छ भन्न सक्नुहुन्छ ।

चिकित्सा विज्ञानले शारीरिक र मानसिक दुवै अवस्थामा स्वस्थ भए मात्रै मानिसलाई स्वस्थ मान्न सकिने बताउँछ । शरीर स्वस्थ बनाउन हामी व्यायामदेखि, खानामा ध्यान दिइरहेका हुन्छौं । केही यस्ता संकेत छन्, जसले शरीर स्वस्थ छ कि छैन भनेर थाहा पाउन सकिन्छ ।

१. सही समयमा भोक लाग्नु

खाना खाएपछि नियमित एउटै समयमा भोक लाग्छ भने त्यो स्वस्थ भएको एउटा संकेत हो । यसले तपाईंको पाचन प्रणाली चुस्त छ भन्ने दर्शाउँछ ।

खाना खाइसकेपछि सन्तुष्ट अनुभव हुनु, पेट हल्का हुनु, शरीरबाट आलस्य हट्नु स्वस्थ रहेको संकेत हो । तर भोक लाग्दै नलाग्ने वा लागे पनि धेरै लाग्ने, खाना खाइसकेपछि पनि खानाको तलतल हुने, पेट भारी हुने हुन्छ भने यो अस्वस्थताको संकेत हो ।

२. सहज रुपमा शौच हुनु

हामी सामान्यतया दैनिक एकदेखि दुईपटक शौच गर्छौं । नियमित एउटै समयतालिकामा दिसा लाग्नु, कब्जियत नदेखिनु, पखाला नलाग्नु स्वस्थ रहेको अर्को संकेत हो ।

तर दिसा निश्चित समयमा नहुने, दिनको तीन पटकभन्दा बढी लाग्ने, कहिले दुई दिनमा एकपटक मात्रै दिसा लाग्ने समस्या भएमा भने शरीरमा केही गडबड छ भन्ने संकेत हो । यसले पाचन प्रणालीमा समस्या रहेको दर्शाउँछ ।

३. बिहान उठ्नासाथ ताजगी महसुस नहुनु

समयमा खाना खाने, निद्रा लाग्ने भएमा बिहान उठ्दा पनि ताजगी महसुस हुन्छ । बिहान अल्छी नगरी जुरुक्क उठ्न मन लाग्छ र दैनिक दिनचर्यामा लागिहाल्न मन लाग्छ भने शरीर स्वस्थ छ भन्ने देखाउँछ ।

४. सुत्नासाथ निद्रा लाग्नु, मस्त निदाउनु

तपाईं ओछ्यानमा गएको केही मिनेटमै निदाइहाल्नुहुन्छ, दैनिक ६–७ घण्टा मस्तले निदाउनुहुन्छ, बेलाबेलामा ब्युँझिरहनुहुन्न भने स्वस्थ हुनुहुन्छ भन्ने संकेत हो । तर  ओछ्यानमा गएको २० मिनेटसम्म पनि निद्रा लाग्दैन, मनमा धेरै कुरा खेल्छ, बीचबीचमा ब्युँझिरहनुहुन्छ, ६ घण्टाभन्दा कम र १० घण्टाभन्दा बढी सुत्नुहुन्छ भने शरीरमा अस्वस्थताको संकेत गर्छ ।

५. झर्को नलाग्नु, अनावश्यक रिस नउठ्नु

सानो कुरामा रिस उठ्दैन, अल्छी लाग्दैन, काम गर्न जाँगर चल्छ, भने यो सकारात्मक हो । तर बेलाबेलामा झर्को लाग्ने, अल्छी, सुस्त र अनावश्यक रिस उठ्ने हुन्छ भने शरीर अस्वस्थ रहेको संकेत मिल्छ ।

६. उफ्रिन, दौडिन जाँगर चल्नु

जहिले पनि जे पनि गर्छु, गर्न सक्छु भन्ने मनमा लाग्छ भने तपाईं स्वस्थ हुनुहुन्छ । व्यायाम, योगजस्ता कुरा मन लगाएर गर्नुहुन्छ भने शरीर स्वस्थ रहेको संकेत हो ।

७. मोटोपन नहुनु

उमेरअनुसार र शरीरको ढाँचाअनुसार तौल हुनुलाई पनि स्वस्थ नै मानिन्छ । तौल बढ्ने बित्तिकै धेरै किसिमको समस्या सँगै आउने गर्छ । त्यसैले मोटोपनको समस्या छैन भने तपाईं स्वस्थ हुनुहुन्छ भन्न सकिन्छ ।

(जनरल फिजिसियन  डा. भण्डारी हेल्पिङ ह्याण्ड्स अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?