+
+

शनिबार ५१ औं दिन मनाउँदै ‘छक्कापञ्जा ४’, पाँचौं शृंखला घोषणा होला ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते ११:५६

काठमाडौं । ब्लकबस्टर फिल्म ‘छक्कापञ्जा ४’ ले आगामी शनिबार प्रदर्शनको ५१ औं दिन पूरा गर्दैछ । गत वर्ष ‘कबड्डी ४’ र ‘महापुरुष’ले पनि प्रदर्शनको ५१ औं दिन मनाएका थिए । यो संख्यासँग घरेलु फिल्मको बक्स अफिस सफलतासमेत जोड्ने गरिएको छ ।

फिल्मलाई रिलिजको दुई दिन पनि हलमा टिक्न मुश्किल भइरहेको बेला ५१ औं दिन मनाउनु आफैंमा महत्वपूर्ण क्षण हो । छक्कापञ्जा ४ ले दुई दर्जनभन्दा बढी हलमा ५१ दिन पूरा गर्दैछ । निर्माता तथा अभिनेता दीपकराज गिरीले आगामी शनिबार काठमाडौं वरपरको कुनै एक वनभोज स्थलमा फिल्मको ५१ औं दिन समारोह आयोजना हुने बताए ।

फिल्मको सफलतामा योगदान पुर्‍याउनेलाई सम्मान समेत गरिने तय गरिएको समारोहमा आगामी नयाँ फिल्मको घोषणा हुन सक्ने संकेत पनि गिरीले गरे । तर दीपक केही समय छक्कापञ्जा श्रृंखलाबाहेकका फिल्ममा व्यस्त हुने तयारीमा छन् र धमाधम स्क्रिप्ट पनि अध्ययन गरिरहेका छन् । तर कुन गर्ने टुंगो छैन ।

फागुन १९ गते नेपालसहित विश्वभर रिलिज भएको ‘छक्कापञ्जा ४’ नयाँ वर्ष लाग्दा समेत हलमा राम्रै अकुपेन्सीसहित चलिरहेको छ । सप्ताहन्तमा यो फिल्मको अकुपेन्सी केही नयाँ रिलिजको भन्दा पनि कम छैन । ‘हामी निकै खुसी छौं, ५१ दिनसम्म दर्शकले गर्नुभएको मायाप्रति आभारी छौं,’ गिरीले अनलाइनखबरसँग भने ।

‘छक्कापञ्जाको पाँचौं श्रृंखला चाहिं तत्काल निर्माण गर्ने तयारीमा दीपक छैनन् । कम्तीमा दुई वर्षको ग्याप छाडेर फिल्म बनाउने उनको तयारी छ । त्यसअघि उनी केही फिल्ममा काम गर्ने पक्षमा छन् । उनको नाममा चलचित्र विकास बोर्डमा केही फिल्मको टाइटल पनि दर्ता भइसकेको छ । यस्तोमा छक्कापञ्जापछि कुन फिल्मबाट दीपकले काम थाल्नेछन्, केही दिनमै यसबारे टुंगो लाग्ला ।

हेमराजी बिसी निर्देशित यो फिल्म राजनीतिक कथावस्तुमा आधारित थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?