+
+

राष्ट्रपति पौडेलको स्वास्थ्य समस्या के हो ?

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८० वैशाख ६ गते १९:२४

६ वैशाख, काठमाडौं । मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार एयर एम्बुलेन्समार्फत भारतको एम्स अस्पताल लगिएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार बुधबार विहान १० बजे श्री एयरलाइन्सको विशेष विमानबाट राष्ट्रपति पौडेललाई दिल्लीस्थित अल इन्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) लगिएको हो ।

राष्ट्रपतिको पौडेलको साथमा उनका निजी चिकित्सक छातीरोग विशेषज्ञ डा. निरज बमसहित ७ सदस्यीय चिकित्सकको टोली र परिवारका सदस्य दिल्ली गएका छन् । बुधबार नै राष्ट्रपतिको एम्स अस्पतालमा उपचार सुरु भइसकेको छ ।

राष्ट्रपति पौडेलमा गत चैतमै स्वास्थ्य समस्या देखिएको थियो । पेटमा समस्या देखिएपछि १८ चैतमा त्रिवि शिक्षण अस्पतालमा ५ दिन भर्ना भएर उपचार गराएका पौडेल ४ वैशाखमा फलोअप परीक्षणका लागि पुनः अस्पताल पुगेका थिए । त्यस क्रममा अल्ट्रासाउण्डको सहायताले छातीको तल्लो भागको पानी निकालेर परीक्षण गरिएको त्रिवि शिक्षण अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी दिएको थियो ।

तर उक्त रिपोर्टमा के देखियो भन्ने सार्वजनिक गरिएको छैन । त्यसपछि मंगलबार बिहान एक्कासी रिंगटा चलेपछि साँझ नै साँझ शिक्षण अस्पतालमा भर्ना गरेर राखिएको थियो । राष्ट्रपतिको उपचारमा संलग्न एक चिकित्सकका अनुसार पौडेललाई छातीसँग सम्बन्धित समस्या देखिएपछि दुई हप्ताअघि नै एन्टबायोटिक औषधि दिइएको थियो । तर, एन्टबायोटिकले पनि संक्रमण पूरै निको हुन नसकेको रिपोर्टमा देखिएको थियो ।

ती चिकित्सकका अनुसार फोक्सोमा संक्रमण र पानी जम्नुले कडा खालको निमोनिया भएको पुष्टि हुन्छ । राष्ट्रपति पौडेल ७८ बर्ष नाघिसकेका छन् । पौडेलको उमेर समूहका मानिसमा निमोनियाका कारण पानी जम्नुलाई जटिल स्वास्थ्य समस्या मानिन्छ ।

ती चिकित्सकका अनुसार पहिलो चरणमा निमोनिया हुँदा छातीको तल्लो भागमा भएको पानी सफा नै हुन्छ । तर, त्यो विस्तारै धमिलो हुन पुग्छ । संक्रमण बढ्दै जाँदा उक्त पानी पीप बन्छ । शुद्ध पानी मात्र देखिएको अवस्थामा एन्टिबायोटिकले सुकाउँछ । तर, पानी धमिलो हुँदै जाँदा भने एन्टिबायोटिकले काम गर्दैन । पिप जमिसकेपछि भने शल्यक्रिया नै गरेर निकाल्नुपर्छ ।

ती चिकित्सकका अनुसार हाल राष्ट्रपतिको छातीमा जमेको पानी धमिलो खालको छ । ‘उहाँको धमिलो पानी देखिएको छ । पिप पनि भइसकेको छैन । पानी क्लियर पनि छैन’ छाती रोग विशेषज्ञ ती चिकित्सकले भने ।

उनले अगाडि भने, ‘धेरै नै पानी जमेको अवस्थामा सिरिञ्जले तान्नुपर्ने हुन्छ । तर, राष्ट्रपतिज्यूको छातीको भागमा धेरै पानी जमेको छैन ।’ मंगलबार चिकित्सकहरुले राष्ट्रपतिको छातीबाट ८० एमएमल पानी निकालेका थिए ।

मंगलबार उनको उपचारमा निजी चिकित्सकसमेत रहेका वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बमसहितको टोली संलग्न थियो । उपचार टिममा मिर्गौला रोग विशेषज्ञ, क्रिटिकल केयर विशेषज्ञ पनि सहभागी थिए ।

ती चिकित्सकका अनुसार राष्ट्रपति पौडेलले दुई हप्तासम्म निरन्तर एन्टिबायोटिक औषधि खाँदा पनि ठीक नहुनुले किटाणु कडा छ भन्ने अनुमान गर्न सकिन्छ ।

‘धेरै पानी निकाल्न नमिल्ने अवस्थामा अलि–अलि धमिलो भएको पानीलाई एन्टिबायोटिकले नै सुकाउँछ भन्ने विश्वास हो । तर, उहाँले विगत दुई हप्तादेखि नै धेरैथरिका एन्टिबायोटिक औषधि खानुभएको थियो’, ती चिकित्सकले भने, ‘कडा खालको निमोनिया हुँदा सिकिस्त नपारेपनि संक्रमण गराउने किटाणु कडा हो कि भन्ने हाम्रो अनुमान छ ।’

ज्येष्ठ नागरिकमा रोगसँग लड्ने क्षमता पनि कमजोर हुँदा संक्रमण शरीरभरि फैलिन्छ कि भन्ने डरका कारण पनि राष्ट्रपतिको उपचार नेपालमा नगराइएको चिकित्सकहरु बताउँछन् । ‘उमेरको अवस्थालाई हेर्दा यस्तो बेलामा संक्रमण शरीरभर फैलिन्छ कि भन्ने डर रहन्छ । तर, ९० प्रतिशतभन्दा बढीको चाहिँ औषधिले सुकाउँछ’, ती चिकित्सक भन्छन् ।

चिकित्सकका अनुसार छातीको तल्लो भागमा पानी जम्दा निमोनिया, टिबी र क्यान्सर भएको संकेत गर्छ । ती चिकित्सकका अनुसार केही दिन अगाडि रिपोर्टले टिबी नभएको देखाएको छ । उनी भन्छन् ‘तीन हप्ता अगाडि गरेको जनरल चेकअपमा कुनै पनि क्यान्सरको अवशेष देखिएको छैन । दुई–तीन हप्ता भित्रै क्यान्सर भएर फैलिएर पानी जम्ने सम्भावना एकदमै न्यून हुन्छ ।’

उनले अगाडि थपे ‘किटाणु बढी कडा खालको भएकाले औषधिले फैलिन पनि दिएको छैन । पानी सुकाउने काम पनि गरेन ।’

ती चिकित्सकका अनुसार छातीभित्र भएको पानी सुकाउनका लागि तीन वटा विकल्प छन् ।

पहिलो, एन्टिबायोटिकले नै सुकाउने ।

दोस्रो, पानी सिरिञ्जबाट तानेर फाल्ने र सँगसँगै एन्टिबायोटिक दिने ।

तेस्रो, शल्यक्रिया नै गरेर सबै पानी फाल्ने ।

‘हिजोसम्म उपचार पहिलो विकल्पमै अनुसार नै भइरहेको छ । एन्टिबायोटिकले काम नै नगरेको भन्न मिल्दैन । दुई हप्तासम्म एन्टिबायोटिकले काम नै नगरेको भए शरीरभर फैलिन्थ्यो’, ती चिकित्सकले थपे, ‘तर, थोरै फोहोर पानी भएकाले शत प्रतिशत क्लियर गर्न सकेन ।’

उनका अनुसार किटाणु कडा हुँदा नेपालमा चलाइएको औषधिको कम पावर भएकाले अब अझै कडा खालको एन्टिबायोटिक दिँदा ती किटाणुलाई मार्न सक्छ ।

‘पानी सिरिञ्जबाट तानेर फाल्ने र सँगसँगै एन्टिबायोटिक दिने विकल्पमा पनि सोचेको हो । तर, त्यसका लागि दिनदिनै भिडियो एक्सरे गरेर हेर्नुपर्ने हुन्छ । त्यसबेलामा पानीको मात्रा बढ्दै जाँदा पानी तान्नुपर्ने हुन्छ’, उनी भन्छन् ।

अहिले पहिलो विकल्प सुरू भइरहेको र दोस्रो विकल्पका विषयमा छलफल भइराखेको ती चिकित्सकले बताए ।

राष्ट्रपतिको उपचार नेपालमै सम्भव थियो कि थिएन भन्ने पनि प्रश्न उठेको छ । ती चिकित्सक राष्ट्रपतिमा मंगलबारसम्म देखिएको स्वास्थ्य समस्या नेपालमै उपचार हुने बताउँछन् । ‘उहाँको हिजो जुन लेबलको औषधि सुरु भएको छ । त्यो लेबलसम्मको औषधि नेपालमा पाइन्छ’, ती चिकित्सकले भने, ‘तर, त्यसभन्दा माथिको लेबलको उपचार सुरू गनुपर्‍यो भने भारतबाट मगाउनुपर्ने हुन्छ ।’

संक्रमण भइराखेको अवस्थामा नेपालमा उपचार गरेर आवश्यक पर्दा भारतबाट नै औषधि मगाएर गर्न सकिन्छ । तर, नेपालमा उनको उपचारमा सम्लग्न चिकित्सक जोखिम मोल्न चाहेन ।

ती चिकित्सकका अनुसार भारतमै गएर उपचार गर्न राष्ट्रपति तयार थिएनन् । ‘उहाँले सकेसम्म विदेश नपठाउने व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो’, ती चिकित्सकले भने ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले नेपालबाहेक अन्य देशको चिकित्सकको पनि सुझाव आवश्यक भएकाले भारत लैजाने सल्लाह भएको बताए । ‘उहाँलाई हामीले छातीमा पानी देखिएसँगै एन्टिबायोटिक औषधि चलाएका थियौं, तर एन्टिबायोटिकले पानी सुक्न सकेन । अन्य देशका चिकित्सकको सुझाव लिन आवश्यक भएकाले भारत जाने सल्लाह भएको हो’ उनले भने ।

मंगलबार साँझ अनलाइनखबरसँगको कुराकानीमा राष्ट्रपतिका निजी चिकित्सक निरज बलमे चिकित्सकीय विषय कहिल्यै पूर्ण हुने भएकाले भारतका चिकित्सकको पनि सुझाव लिन खोजिएको बताएका थिए ।

‘मेडिकल साइन्समा कोही चिकित्सक पूर्ण हुँदैन । उहाँ अहिले देशकै प्रमुख भएका कारण अन्य देशका चिकित्सकसँग पनि सल्लाह लिने हिसाबले भारत लैजाने तयारी गरेका हौं’ उनले भनेका थिए ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?