+
+

भालुबाङ स्वास्थ्य चौकी स्तरोन्नतिको प्रक्रिया अघि बढ्यो, नाम पनि फेरिने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते ६:४२

७ वैशाख, काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. १ भालुबाङस्थित स्वास्थ्य चौकीलाई ५० शय्यामा स्तरोन्नती गरी लुम्बिनी प्रदेश सरकार मातहत ल्याउने प्रक्रिया अघि बढेको छ ।

भालुबाङ स्वास्थ्य चौकीको नाम परिवर्तन गरी लालमटिया स्वास्थ्य चौकी राख्ने र त्यसलाई ५० शय्याको अस्पतालमा स्तरोन्नती गरी प्रदेश सरकार मातहत ल्याउने प्रक्रिया अघि बढेको हो ।

त्यस सम्बन्धी प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाएको छ । सम्भवतः आगामी मन्त्रिपरिषद बैठकबाट भालुबाङ स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी प्रदेश सरकार मातहत लैजाने निर्णय हुने लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री इन्द्रजित थारु बताउँछन् ।

लु्म्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी र तत्कालीन स्वास्थ्य मन्त्री थारुको पालामा  राप्ती गाउँपालिकाको भालुबाङमा ५० शय्याको प्रादेशिक अस्पताल खोल्ने  निर्णय भए पनि थप प्रक्रिया अघि बढेको थिएन । तत्कालीन स्वास्थ्यमन्त्री थारुले प्रस्तावित भालुबाङ अस्पताल भवनको उदघाटनसमेत गरेका थिए । अस्पताल बनाउन भन्दै लुम्बिनी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा १ करोड बजेट समेत विनियोजन गरेको थियो ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद बैठकले २०७८ सालको मंसिरमै भालुबाङ स्वास्थ्य चौकीलाई ५० शय्यामा स्तरोन्नती गरी प्रदेश सरकार मातहत सन्चालनमा ल्याउने निर्णय गरेको थियो । सोही वर्ष चैतमा लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा त्यो प्रक्रियाका लागि फाइल पेस गरेको थियो ।

दायाँबाट– लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री इन्द्रजित थारु, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटा र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट ।

तर एक वर्षपछि पनि प्रक्रिया अघि नबढेपछि ताकेता गर्न लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री इन्द्रजित थारु, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहितको टोली काठमाडौं आएको छ । यो टोलीले प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय लगायतमा पुगेर प्रगतिबारे चासो राखेको थियो ।

‘हामीले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतमा पुगेर फलोअप गर्यौं,’ मन्त्री थारुले अनलाइनखबरसँग भने, ‘क्याबिनेटमा पेस गर्न बुधबार नै टिप्पणी उठाएर प्रक्रिया अघि बढाइएको पायौं । अब आगामी क्याबिनेटबाट निर्णय हुन्छ भन्नेमा विश्वस्त छौं ।’

नाम पनि परिवर्तन हुने

राप्ती गाउँपालिकाका अध्यक्ष विष्टले भालुबाङ स्वास्थ्य चौकीको नाम परिवर्तन गरी लालमटिया स्वास्थ्य चौकी राख्ने र त्यसलाई ५० शय्याको अस्पतालमा स्तरोन्नती गरी प्रदेश सरकार मातहत ल्याउन सकारात्मक पहल भइरहेको जानकारी दिए ।

नाम परिवर्तनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाइएको पत्र ।

राप्ती गाउँपालिका सहितको भूगोल समेटेर लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाइएको छ । तर यहाँ सुविधा सम्पन्न अस्पताल नहुँदा स्थानीयवासीलाई उपचारका लागि नेपालगञ्ज, बुटवल, काठमाडौं वा भारत जानुपर्ने बाध्यता छ । भालुबाङमा प्रदेशस्तरीय अस्पताल सन्चालनमा आए उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता केही हदसम्म भए पनि रोकिने विश्वास स्थानीय जनप्रतिनिधिलाई छ ।

राप्ती गाउँपालिका अध्यक्ष विष्ट भन्छन्, ‘प्रदेश राजधानी राप्ती उपत्यकाबाट सन्चालनमा आइसक्यो, मानिसहरुको आवादी पनि बढ्दै गएको छ । त्यसैले विशेषज्ञ सुविधासहितको अत्याधुनिक अस्पताल आवश्यक भइसक्यो ।’

स्वास्थ्यकर्मीसमेत रहेका गाउँपालिका अध्यक्ष विष्टको पहलमा सिसहनियाँमा तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । सिसहनियाँमै स्वास्थ्य चौकी पहिलेदेखि नै सन्चालित छ । गाउँपालिका अध्यक्ष विष्टले डा. भगवान कोइरालासँगको समन्वयमा मुटु रोग सम्बन्धी अस्पताल स्थापनाको पहल पनि गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?