+
+
डेंगु नियन्त्रणको अनौठो शैली :

ब्राजिलमा लामखुट्टे कारखाना, अर्जेन्टिनामा बन्ध्याकरण

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १२:५८

काठमाडौं । विश्व उष्णीकरणका लागि संसारमा लामखुट्टेको संख्यामा तीव्र बढोत्तरी भैरहेको छ । जसका कारण लामखुट्टेबाट सर्ने विभिन्न खालका रोगब्याधीहरुमा पनि वृद्धि भैरहेको छ । यसबाट बँच्नका लागि संसारभर विभिन्न उपायहरु अपनाउन प्रयत्न भैरहेका छन् । लामखुट्टे नियन्त्रण गरी डेंगु, मलेरिया लगायतका रोगबाट बँच्नका लागि कतिपय मुलुकहरुले चालेका कदम चाहिँ निकै अनौठा छन् ।

World Mosquito Programme (WMP)  ले आगामी एक दशकभित्रमा ब्राजिलका विभिन्न सहरहरुमा जैविक तथा आनुवांशिक रुपमा परिवर्तन गरिएका लामखुट्टेहरुलाई वातावरणमा छाड्ने घोषणा गरेको छ । ब्राजिलका यसबाट ७ करोड भन्दा धेरै मानिसहरुलाई डेंगुजस्ता लामखुट्टेले सार्ने रोगहरुबाट सुरक्षित बनाउन सकिने विश्वास डब्लुएमपीको छ ।

शोधकर्ताहरुले अष्ट्रेलिया, ब्राजील, कोलम्बिया, इण्डोनेसिया तथा भियतनाम जस्ता देशहरुका केही निश्चित सहरहरुमा छाडिने लामखुट्टेको परीक्षण गरेका छन् । जैविक रुपमा परिमार्जित ती लामखुट्टेलाई Wolbachia bacterium बाट संक्रमित गराइन्छ जसले ती लामखुट्टेले डेंगुको भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिनबाट रोक्नेछ ।

यसका लागि ब्राजिलमा एउटा कारखाना नै निर्माण गरिनेछ । कारखाना आगामी वर्ष सन् २०२४ देखि सञ्चालनमा आउनेछ । यो कारखानाले बर्सेनि ५ अर्ब परिमार्जित लामखुट्टेको उत्पादन गर्ने लक्ष्य राखेको नेचर जर्नलमा प्रकाशित रिपोर्टमा उल्लेख छ ।

मोनास विश्वविद्यालयका सुक्ष्म जीव वैज्ञानिक तथा WMP का प्रमुख स्कट ओनिलका अनुसार सो कारखाना Wolbachia ब्याक्टेरियाबाट संक्रमित लामखुट्टेको उत्पादन गर्ने विश्वको सबैभन्दा ठूलो कारखाना हुनेछ । यसले छोटो समयमै धेरै मानिसलाई समेट्न सक्ने उनको भनाइ छ ।

स्मरण रहोस् ब्राजिल विश्वमै डेंगु संक्रमणको दर सर्वाधिक रहेको मुलुक हो । सन् २०२२ मा मात्रै ब्राजिलमा २० लाख जनालाई डेंगु संक्रमण भएको थियो ।

कसरी गर्छ यसले काम ?

Wolbachia pipientis प्रजातिको ब्याक्टेरियाले सबै किट प्रजातिहरुमध्ये आधाजसोलाई संक्रमित गर्दछ । डेंगु, जिका, चिकनगुनिया लगायतका रोग फैलाउने भाइरसको प्रसारक रहेको एडिज एजिप्टी प्रजातिको लामखुट्टेको शरीरमा चाहिँ आम रुपमा उक्त ब्याक्टेरिया हुँदैन ।

वैज्ञानिकहरुले वोल्बाचिया जिवाणुबाट संक्रमित एडिज एजिप्टी लामखुट्टेले रोग सार्ने सम्भावना निकै न्यून रहने तथ्य सुरुमा पत्ता लगाए । उल्लेखित रोगका भाइरसहरु विरुद्ध लामखुट्टेको शरीरमा रहेको ब्याक्टेरियाले नै लडाइँ गर्दछ । जब ती परिमार्जित लामखुट्टेलाई जंगली लामखुट्टेहरु भएको ठाउँमा छाडिन्छ तब यिनीहरुले आफूमा भएका ब्याक्टेरियालाई विस्तारै जंगली लामखुट्टेको सरीरमा पनि संक्रमित गराउँदछन् ।

ब्राजिलका नियामक निकायहरुले Wolbachia संक्रमित लामखुट्टेको प्रयोगलाई पहिले नै स्वीकृति दिइसकेका छन् । यद्यपि अहिलेसम्म यसलाई विश्व स्वास्थ्य संगठनबाट स्वीकृति मिल्न बाँकी छ । यदि विश्व स्वास्थ्य संगठनले यसलाई मान्यता दिएमा यो प्रविधि विश्वका अन्य देशहरुमा पनि प्रयोग गर्न सकिनेछ ।

अर्जेन्टिनामा लामखुट्टेको बन्ध्याकरण !

यो त ब्राजिलको कुरा थियो, जहाँ डेंगु संक्रमण सबैभन्दा धेरै हुन्छ । अब कुरा गरौं अर्जेन्टिनाको, जहाँ समेत पछिल्ला केही वर्षयता डेंगुको भयानक प्रकोप बढिरहेको छ । त्यसैले डेंगु रोक्नका लागि अर्जेन्टिनाले चाहिँ लामखुट्टेको बन्ध्याकरण गरिरहेको छ । यसमा विकिरणको प्रयोग गरेर लामखुट्टेलाई नपुंसक बनाइन्छ, जसलाई Sterilizing Technique भनिन्छ ।

लामखुट्टे नियन्त्रणका लागि त्यहाँको राष्ट्रिय परमाणु ऊर्जा आयोगका वैज्ञानिकहरुले सन् २०१६ देखि लामखुट्टेमा आणविक निर्मलीकरण (Atomic Sterilization) को प्रयोग गरिरहेका छन् । जस अनुसार हरेक हप्ता १० हजार भाले लामखुट्टेको बन्ध्याकरण गरेर नपुंसक बनाइन्छ । आयोगको लक्ष्य चाहिँ यसलाई बढाएर हप्तामा ५ लाख लामखुट्टेको बन्ध्याकरण गर्नु रहेको सीएनएनले उल्लेख गरेको छ । आगामी नोभेम्बरमा बन्ध्याकरण गरिएका पहिलो ब्याचका लामखुट्टेलाई प्राकृतिक वातावरणमा छाड्ने आयोगको योजना छ ।

वैज्ञानिकहरुका अनुसार यस्ता बन्ध्याकरण गरिएका भाले लामखुट्टेहरु पोथी लामखुट्टेसँग निरन्तर संसर्ग गर्ने तथा त्यस्तो संसर्गबाट पोथीले अण्डा नपार्ने हुन्छ । यस्ता नपुंसक भालेहरु वातावरणमा ठूलो संख्यामा लगातार छाड्न सकिएमा नयाँ लामखुट्टे उत्पादन हुने क्रममा कमी आउने र समग्रमा लामखुट्टेकै संख्या घट्ने वैज्ञानिकहरुको विश्वास छ ।

अर्जेन्टिनामा यो वर्ष ४१ हजार जनामा डेंगु संक्रमण भएको छ जुन सन् २०२० तथा २०१६को प्रकोपको स्तरभन्दा निकै माथि हो । त्यहाँको राष्ट्रिय परमाणु ऊर्जा आयोगका जीव वैज्ञानिक मरियानेला गार्सिया अल्बाका अनुसार विश्व तापमान वृद्धिका कारण लामखुट्टेको संख्यामा तीव्र बढोत्तरी भैरहेको र लामखुट्टेको फैलावट दक्षिणतर्फ बढिरहेको छ ।

–एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?