+
+

भारतसँग खेल्न उत्साहित नेपाली महिला दृष्टिविहीन क्रिकेट टोली

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० वैशाख ७ गते १९:२७

७ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय दृष्टिविहीन महिला क्रिकेट टोलीले पछिल्लो पटक सन् २०१९ मा पाकिस्तानमा गएर पाकिस्तानी टोलीसँग अन्तर्राष्ट्रिय दृष्टिविहीन सिरिज खेलेको थियो ।

त्यो सिरिज धेरै अर्थमा महत्वपूर्ण थियो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त पहिलो अन्तर्राष्ट्रिय सिरिज नेपालले विदेशमा गएर खेलेको पहिलो दृष्टिविहीन सिरिज थियो ।

नेपालले पाकिस्तानलाई उसैको मैदानमा पराजित गर्दै ६ खेलको त्यो सिरिज ह्वाइटवास गरेको थियो । लाहोर इस्लामावाद र रावलपिन्डीमा भएको सिरिजमा नेपालले ४ खेल जितेको थियो भने एक खेल वर्षाका कारण हुन सकेन ।

२०२० देखि कोभिड-१९ महामारी सुरु भयो । नर्मल क्रिकेटसमेत प्रभावित भएको बेला दृष्टिविहीन क्रिकेट त हुने कुरै भएन । अझ दृष्टिविहीन क्रिकेट खासै प्राथमिकतामा समेत छैन ।

तैपनि क्रिकेट एसोसिएसन अफ ब्लाइण्ड (क्याब) नेपालले केही घरेलु प्रतियोगिता गरेर भए पनि दृष्टिविहीन क्रिकेटलाई चलायमान बनाइरहेको छ ।

केही समयअघि नेपालको पुरुष दृष्टिविहीन क्रिकेट टोलीले भारतमा दृष्टिविहीन विश्वकप क्रिकेट नै खेलेको थियो । महिलाको भने २०१९ फेब्रुअरी यता कुनै अन्तर्राष्ट्रिय खेल भएको छैन ।

क्याब नेपालले अब भने नेपालमै नेपाल र भारतको दृष्ठिविहीन महिला अन्तर्राष्ट्रिय क्रिकेट सिरिज आयोजना गर्दैछ । यसले नेपाली दृष्टिविहीन क्रिकेट टोलीदेखि क्याब नेपाल पदाधिकारी अनी दृष्टविहीन क्रिकेटमा लाग्नेहरुलाई नै उत्साहित बनाएको छ ।

नेपालको र भारतको दृष्टिविहीन महिला क्रिकेट टोलीबीच पाँच खेलको अन्तर्राष्ट्रिय सिरिज हुनेछ । सिरिजका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ ।

क्याब नेपालले विभिन्न सहयोगीहरुको साथमा यो सिरिज गर्न लागेको हो । नेपाली टोलीले केही समयदेखि पोखरा बन्द प्रशिक्षण गरिरहेको छ । यसअघि पनि दृष्टिविहीन महिला टोलीको प्रशिक्षक रहेका रिजन प्रजुले मुख्य प्रशिक्षण नहेन्द्र निरौलाले नेपाली टोलीलाई प्रशिक्षण दिइरहेका छन् । नेपाली टोलीको कप्तानमा भगवती भट्टराई बराल र उपकप्तानमा गीता पौडेल छन् ।

नेपाली टोलीको बन्द प्रशिक्षणको लागि अष्ट्रेलियन दूतावास तथा विभिन्न संस्थाहरुको सहयोग गरेको क्याब नेपालले जनाएको छ ।

यो प्रतियोगीताले नेत्रहीन महिला क्रिकेटरहरूको खेल्ने क्षमतालाई अन्तर्राष्ट्रिय रूपमा उजागर गर्ने, समुदायमा चेतना जगाउने, नेत्रहीन महिलाहरूलाई हेर्ने र खेलको क्षेत्रमा अधिक अपाङ्गता भएका महिलारूलाई आकर्षित गर्ने क्याब नेपालले जनाएको छ ।

भारतलाई हराउने लक्ष्य

क्याब नेपालका महासचिव उपेन्द्र श्रेष्ठ कोभिड-१९ का कारण बीचमा सिरिज गर्न नसकेको भए पनि अब भारतसँग सिरिज आयोजना गर्न लाग्दा खुसी छन् । ‘कोभिड १९ को कारण बजेट पनि छैन । सहयोगी हरु नहुँदा गर्न सकिएन । अहिले भारतसँग खेल्न लागेका छौँ । सबै जना उत्साहित छन् ।’

भारतले पहिलो पटक दृष्टिविहीन अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो । नेपालले यसअघि दुई सिरिज खेलिसकेको खेलाडीहरु उत्साहित छन् र नेपालको लक्ष्य जित्ने नै छ । श्रेष्ठले पनि जितकै लागि खेल्न बताए । ‘हामीले २०१४ मा घरेलु मैदान युकेलाई हरायौं। २०१० मा पाकिस्तानलाई उसैको मैदानमा हरायौं। अब घरमा भारतसँग खेल्न लागेका छौं । जितकै लक्ष्यका साथ खेल्ने हो ।’

कप्तान भगवतीले पनि सिरिज हुने खेलाडीहरु उत्सहित रहेको र जितका लागि खेल्ने बताइन् । उनले यसपटक नेपालले राम्रो तयारी गरेको बताइन् ।

प्रशिक्षक रिजन प्रजुले पनि नेपालको तयारी राम्रो भएको र भारतलाई जित्ने लक्ष्य रहेको बताए । ‘हाम्रो तयारी राम्रै छ । २०-२५ दिनदेखि क्याम्प सञ्चालन भइरहेको छ । खेलाडीहरु उत्सहित छन्,’ प्रशिक्षक प्रजुले अनलाइनखबरसँग भने, ‘तर हामीले यसअघि दुई सिरिज जिते पनि भारतसँग खेल्नु फरक अनुभव हुनेछ । पुरुषतर्फ भारत ब्लाइन्ड क्रिकेटको वर्ल्ड च्याम्पियन नै हो । सकेसम्म हामी राम्रो नतिजा निकाल्ने कोसिस गर्नेछौं ।’

भारतको टिमसँग खेल्न उत्साहित रहेको प्रजुले बताए । ‘उनीहरुको महिला टिमले पनि राम्रो तयारी गरेको छ । टिम राम्रो छ । उनीहरुसँग खेल्न हाम्रो खेलाडी उत्साहित छन् र दबाब पनि छ ।’

नेपालले २०१९ मा पाकिस्तानसँग खेलेपछि अन्तर्राष्ट्रिय खेल नखेलेकोले केही कमजोरी रहेको र त्यसमै काम गरिरहेको प्रशिक्षकले बताए । ‘४ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट नखेलेकोले खेलाडीमा फिल्डिङ र फिटनेस कमजोरी थियो । त्यसमा सुधार गरिराछौं । खेलाडीहरु पहिलाकै सेपमा आउँदैछन्,’ उनले भने, ‘हाम्रो कमजोर पक्ष भनेको फिल्डिङ र बलिङ हो । त्यसमा सुधार गरिराछौं । बी वान बलरमा अली कमजोर छन् । अब आउने गेममा कमजोरी सुधार गर्दै भारतलाई चुनौती दिँदै जितका लागि खेल्ने विश्वास छ ।’

यसअघि रिजन प्रजुकै प्रशिक्षणमा नेपालले पाकिस्तानलाई हराएको थियो ।

नेपाली टोलीमा परिवर्तन

भगवती भट्टराई बरालको कप्तानीमा नेपालको १५ सदस्यीय अन्तिम टोली घोषणा भइसकेको छ । यसअघि भगवतीकै कप्तानीमा नेपालले पाकिस्तानलाई हराएको थियो । भगवती २०१२ देखि नै नेपालको कप्तान छन् ।

यसअघि पाकिस्तानमा खेलेको टोलीमा यसपटक केही परिवर्तन गरिएको छ । नेपाली टोलीमा यस पटक पछिल्लो पटक सिरिज खेलेका ६ खेलाडी परिवर्तन भएका छन् । ९ खेलाडी भने पाकिस्तान विरुद्ध सिरिज जितेकै खेलाडी छन् । कप्तान भगवती भट्टराईसहित मनकेसी चौधरी, सुष्मा तामाङ, गीता पौडेल, विनिता पुन, मुना अर्याल, रिता देवी थापा, सरीता घिमिरे, विमला राई खेलाडी पहिलाकै छन् ।

पहिलाको टिममा रहेका भगवती अमगाईं, हिता गुरुङ, आशिका डगौरा, आशा रेग्मी, आयुष्मा क्षेत्री, भुमा खरेल भने यस पटक टिममा छैनन् ।

उनीहरुको स्थानमा नयाँ खेलाडीहरु प्रतिभा राई, दिल्लीशरा धमला, वनिता मगर सोमाई, काती योगी, माया लुङ्गेली र निशा चौधरी नयाँ खेलाडीको रुपमा छन् ।

चैत १५ र १६ गते पोखरा रंगशालास्थित क्रिकेट मैदानमा खुल्ला छनोटमा २४ खेलाडी सहभागी थिए । त्यसबाट १५ खेलाडी छनोट गर्दै चैत १७ देखि बन्द प्रशिक्षण सुरु गरिएको हो ।

बन्द प्रशिक्षण वैशाख १० गतेसम्म सञ्चालन हुनेछ । सुरुवाती दुई खेल पोखरामै हुनेछ । पोखरामा वैशाख १२ र १३ गते खेल हुनेछ । त्यसपछि काठमाडौंको मुलपानी मैदानमा वैशाख १५ देखि १७ गतेसम्म तीन खेल हुनेछ ।

भारतले सुष्मा पटेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरिसकेको छ । भारती टोली अप्रिल २२ मा नेपाल आउनेछ ।

नेपाली टोलीको क्याटागोरी

बी १ क्याटेगरी : मुना अर्याल, रिता थापा, सुष्मा तामाङ, प्रतिभा राई, माया लुङ्गेली

बी २ क्याटेगोरी : सरिता घिमिरे, मनकेशरी चौधरी, गीता पौडेल, वनिता मगर सोमाई, कान्ती योगी

बी ३ क्याटेगोरी : भगवती भट्टराई (कप्तान), विमला राई, विनिता पुन, दिल्लीशरा धमला र निशा चौधरी ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?