+
+

तनहुँ–१ को उपचुनावलाई देखाएर गण्डकी सरकारमा सौदाबाजी

खगराज सरकार ढलेसँगै कांग्रेस–माओवादी आलोपालो

अमृत सुवेदी अमृत सुवेदी
२०८० वैशाख ८ गते २१:०४

८ वैशाख, पोखरा । अघिल्लो प्रदेशसभामा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए, नेकपा माओवादीका हरिबहादुर चुमान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेर एमाले र माओवादी ब्यूँतिएपछि कांग्रेस नेतृत्वको नयाँ गठबन्धन बन्दा  मुख्यमन्त्री हुन चाहान्थे, चुमान । तर नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बने ।

४ मंसिरको चुनावमा तनहुँ–१ को प्रदेशसभा (२) चुमानले फेरि टिकट पाए र ५ दलीय गठबन्धनको बलमा चुनाव जिते । १० पुसमा केन्द्रमा नयाँ गठबन्धन बनेपछि चुमानले मुख्यमन्त्रीको दाबी गरे । तर एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी मुख्यमन्त्री भए, चुमानले भौतिक पूर्वाधार मन्त्रीमा चित्त बुझाए ।

राष्ट्रपतिको निर्वाचनमा माओवादीले गठबन्धन फे¥यो र फेरि कांग्रेससँग सहकार्य थाल्यो । गण्डकीमा भौतिक मन्त्री चुमान र पर्यटनमन्त्री रेशमबहादुर जुग्जालीले राजीनामा दिए । माओवादीले समर्थन पनि फिर्ता लिएकाले मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकार ढल्ने निश्चित छ । ९ वैशाखमा बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत माग्ने वा राजीनामा दिने विकल्प उनीसामू छ ।

अधिकारी नेतृत्वको सरकार ढल्दा कांग्रेस र माओवादी गठबन्धनको नयाँ सरकार बन्नेछ । चितवन छाडेर गोरखा आइपुगेका प्रचण्डले चुनावताका नै कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई गण्डकीको मुख्यमन्त्री बनाउने वचनै दिएका थिए । माओवादी नेता चुमानले फेरि पनि मुख्यमन्त्री दाबी गरे पनि नपाउने स्थिति देखे ।

तर तनहुँ १ सांसद चुनिएका रामचन्द्र पौडेल राष्ट्रपति भएसँगै यहाँ उपचुनाव हुने भयो । उपनिर्वाचनमा माओवादीले पनि दाबी गर्‍यो । तनहुँ–१ माओवादीले पाउनुपर्ने भन्दै चुमानकै नेतृत्वमा नेताहरु काठमाडौं पुगे । तनहुँ जिल्ला संयोजक मदन आले, नेतृ ओमकुमारी पौडेल, चुमानकै पुत्र आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान लगायत टोलीले यसपटक पनि माओवादीले टिकट नपाए जिताउन गाह्रो हुन प्रचण्डसँग बताए । तर प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा दाबी गरेनन् र कांग्रेसका गोविन्द भट्टराई उम्मेदवार भए ।

कांग्रेस त्यागेर अर्थशास्त्री स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएपछि तनहुँ–१ को निर्वाचन पेचिलो बन्यो यही बेला तनहुँबाट चुमानको टोली फेरि काठमाडौं पुग्यो । तनहुँमा गोविन्दलाई जिताउन कार्यकर्तालाई लगाउने, तर गण्डकी सरकारको मुख्यमन्त्री आलोपालो हुनुपर्ने माग राखे ।

तनहुँ–१ मा माओवादी पार्टीको पनि राम्रै प्रभाव छ । उपचुनावलाई प्रतिष्ठाको विषय बनाएको कांग्रेसका लागि माओवादीको भोट महत्वपूर्ण छ । त्यसैले माओवादीको सौदाबाजीकै कारण गण्डकीमा अब आलोपालो हुने पक्काजस्तै भएको छ ।

३ वैशाखमा माओवादी अध्यक्ष समते रहेका प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कांग्रेस संसदीय दल गण्डकीका सुरेन्द्रराज पाण्डे, माओवादी प्रदेश इन्चार्ज हितराज पाण्डे र तनहुँबाट पुगेको टोलीबीच छलफल चल्यो । तनहुँबाट पुगेका हरिबहादुर, उनका छोरा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, शुक्लागण्डकीका उपप्रमुख राजु विक लगायत थिए ।

शीर्ष नेताबीच खगराज नेतृत्वको सरकार ढलेसँगै आलोपालो गर्ने सहमति भएको कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराजले स्वीकारे । ‘लिखित नभए पनि शीर्ष तहमै गण्डकीमा पनि आलोपालो गर्ने सहमति भएको छ,’ सुरेन्द्रराजले अनलाइनखबरसँग भने, ‘सुरुमा कांग्रेस नेतृत्वमै सरकार बन्छ । हुन त माओवादीले पनि दाबी त गरेको छ, तर केन्द्रका नेताहरुले नै टुंग्याइदिनुहोला ।’

सुरुमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने आ–आफ्नै दाबी छन् । नेता चुमानले सुरुमा माओवादी नेतृत्वमै सरकार गठन गर्न शीर्ष तहमै सहमति भएको, तर घोषणा हुनमात्र बाँकी रहेको बताए । ‘गण्डकीमा आलोपालो गर्ने र सुरुमा माओवादीले नेतृत्व गर्ने टुंगिइसकेको छ,’ चुमानले भने, ‘अब नेताहरुले नै सार्वजनिक गर्नुहोला । भोलि खगराज नेतृत्वको सरकार ढलेसँगै अर्को गठनको प्रक्रिया सुरु हुन्छ ।’ एक माओवादी नेताका अनुसार चुमानले सुरुमै दाबी गरेपनि आलोपालोमा पहिला कांग्रेसको मुख्यमन्त्री हुने बताए ।

माओवादीले समर्थन फिर्ता लिएको २९ औं दिनमा भोलि शनिबार प्रदेशसभाको अधिवेशन बोलाइएको छ । तर २ सदस्य रहेको राप्रपा लिएर २२ सदस्यीय एमालेका मुख्यमन्त्री अधिकारीले विश्वास जोगाउन सक्ने सम्भावना छैन । सभामुख बाहेक ७ सदस्यीय माओवादी र २७ सदस्य रहेको कांग्रेस मिल्दा सरकार बनाउन सहज बहुमत पुग्छ । तर, संविधानको कुन धाराअनुसार प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्छन् भन्ने आआफ्नै तर्क छन् ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकार ढलेसँगै फेरि त्यही बुँदाअनुसारै सरकार बन्ने चुमानको दाबी छ । सुरेन्द्रराज र अन्य नेताहरु भने २ वा २ भन्दा बढी दल मिलेर बनेको सरकार ढल्नेबित्तिकै उपधारा ३ अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दलको संसदीय दलका नेता (पाण्डे) मुख्यमन्त्री नियुक्त हुने तर्क कांग्रेस नेताहरुको छ । चुमानले भने दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्ने सम्भावना कायमै रहने हुनाले अर्को उपधारमा जान नहुने बताउँछन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?