+
+

राष्ट्रिय बुद्धिचालमा रुपेश र सुजनालाई एक खेलअघि नै उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ९ गते १९:५४

९ वैशाख, काठमाडौं । फिडेमास्टर रुपेश जयशवाल र वुमन फिडेमास्टर सुजना लोहनी राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपमा एक खेल अगावै उपाधि जित्न सफल भएका छन् ।

राष्ट्रिय बी च्याम्पियनसिपबाट छानिएका तथा साविक विजेता र फिडे रेटिङमा शीर्ष स्थानमा रहेकासमेत गरी खुलातर्फ १० र महिलातर्फ १० खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । यो प्रतियोगिता अन्तर्राष्ट्रिय सहभागिताका लागि राष्ट्रिय टिमको छनोटसमेत थियो ।

श्निबार सातौं र आठौं चरणमा अनुकुल नतिजा निकालेसँगै रुपेश र सुजनाले च्याम्पियन बन्न नवौं चरणसम्म प्रतीक्षा गर्नुपरेन । उनीहरुले यही महिना वंगलादेशमा हुने वर्ल्ड च्याम्पियन सर्कल, एसियन जोनल ३.२, उज्वेकिस्तानमा हुने एसियन च्याम्पियनसिप र सन् २०२४ मा हंगेरीको बुडापेस्टमा हुने ४५औं चेस ओलम्पियाडमा सहभागिता निश्चित गरेका छन् ।

उत्कृष्ट लयमा रहेका रुपेश सातौं चरणमा अर्का फिडेमास्टर क्षितिज भण्डारीसँग बराबरीमा रोकिए । यी दुईले ३४औं चालमा बराबरी भएको निर्णय गरेका थिए । आठौं चरणमा भने राजीव कार्कीलाई रोमान्चक खेलमा हराए । बराबरीतर्फ उन्मुख खेलको ५७औं चालमा राजीवले गरेको सानो गल्तीको फाइदा उठाउँदै ६७औं चालमा रुपेशले खेल जिते ।

सातौं चरणमा च्याम्पियन रुपेशसँग बराबरी खेलेका क्षितिज आठौं चरणको खेलमा साविक विजेता पुरुषोत्तम चौलागाईंलाई पराजित गरी ६ अंकसहित दोस्रो स्थानमा छन् । पूर्व नेपाल च्याम्पियन सुरवीर लामा र १४ वर्षीय युवा खेलाडी पुरुषोत्तम सिलवाल साढे ५ अंकसहित संयुक्तरूपमा तेस्रो स्थानमा रहेका छन् ।

महिलातर्फको खेलमा शनिबार शीर्ष स्थानमा रहेकी सुजनाले एक खेल जितेर अर्को खेल बराबरी खेले पनि उपाधि जित्न सफल रहिन् । उनले सातौं चरणमा शान्ति धिमाललाई हराइन् भने आठौं चरणमा सुशीला गुरुङसँग बराबरी खेलिन् ।

राउन्ड रोबिनको आधारमा नवौं चरणसम्म हुने प्रतियोगिताको एक चरणको खेल बाँकी रहेको अवस्थामा सुजनाले साढे ७ अंक जोड्दै च्याम्पियन बनेकी हुन् ।

दिव्यांश मल्टी प्रोडक्सनको मुख्य प्रायोजनमा र रुक्मणी टूर्स एण्ड ट्राभल्सको सहप्रायोजनमा भएको प्रतियोतामा सुशीला गुरुङ र शान्ति धिमालले ५ अंक जोडेका छन् । सुशीला आठौं चरणको खेलमा  विनिता कपालीसँग हारिन् भने शान्तिले पुनम प्रसाईंलाई निराश बनाइन् ।

पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशीको साढे ४ अंक छ भने विनिता कपालीको ३ अंक छ ।

काठमाडौंको होटल ले हिमालयमा जारी प्रतियोगिता अन्तर्गत नवौं तथा फाइनल चरणको खेल आइतबार हुनेछ । आइतबार नै प्रतियोगिताको समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?