+
+

अनुमान थियो शान्त आँधीको, अब के होला ?

बसन्त बस्नेत बसन्त बस्नेत
२०८० वैशाख ११ गते २३:००
चुनावीसभामा रवि लामिछाने र स्वर्णिम वाग्ले ।

११ वैशाख, काठमाडौं । गणना जारी छँदै उपचुनावले धेरैथोक भन्छ । मतपेटिकाबाट आइरहेको शान्त आँधी कुनै जनआन्दोलनको झल्को दिलाउन पर्याप्त छ । कुनै ठूला घोषणाहरु छैनन् । देशमा कुशासन र भ्रष्टाचार बढेको दाबी छ । काखमा सन्तान खेलाउन छाडेर कोही बाध्यताले परदेशिनु नपरोस् भन्ने भावुक कामना छ ।

रेमिट्यान्स समेतले चलेको देशमा यत्ति कामना नै अहिले जनमन हल्लाउन कामयाब बन्दै छ । त्यसका अगाडि स्वयं स्वर्णिम वाग्लेले अस्ति कांग्रेसमा छँदा लेखेका घोषणापत्र समेत सायद फिका देखिएलान् ।

राजनीतिको आधारभूत व्याकरण बदलिँदै छ भन्नलाई हामीले स्थलगत रिपोर्टिङका क्रममा देखेभेटेका दर्जनौं अनुहार र तिनका अपेक्षा प्रमाण थिए । स्थापित दल र नेताप्रति चरम तिक्तता, अनि नयाँप्रति शंकाको सुविधा । उपचुनावको सार यत्तिमा खिच्न सकिन्छ ।

जस्तो कि तनहुँका ग्रामीण तथा सहर क्षेत्रमा अनलाइनखबरको टिम घुम्दा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको आलोचना गर्ने एक जना पनि मान्छे भेटिँदैनथ्यो । चुनावमा हारजित हुन सक्छ । तर गत मंसिरमा तनहुँबाट जितेर राष्ट्रपति बनेका रामचन्द्र पौडेलका ठाउँमा उत्तराधिकारी बन्न चाहने भट्टराईको हार सामान्य किसिमको छैन ।

तनहुँ घर भएका रैथाने उम्मेदवार भट्टराईलाई अर्को जिल्लाबाट, नयाँ पार्टीबाट आएका स्वर्णिम वाग्लेले जुन अग्रतासहित पछि छाडेका छन्, यसको सन्देश पनि सामान्य छैन । त्यसैले हुनुपर्छ, नतिजा आउन बाँकी छँदै भट्टराईले पराजय सकारिसकेका छन् ।

तेस्रो स्थानमा धेरै पछि रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनाल विगतको एमाले मतसमेत जोगाउन नसकेको आलोचना खेप्दैछन् । याद रहोस्, खनाल यसै क्षेत्रका अर्का स्थानीय उम्मेदवार हुन् । तर स्थानीयवासी हुनुको अपिलले समेत कुनै काम गरेन ।

चार दशकभन्दा पुराना कार्यकर्ता भएको, बलियो संगठन भएको, पाँच महिनाअघि पौडेललाई जिताएको तनहुँ १ ले ती मान्छेलाई अनुमोदन गर्दैछ, जसको कुनै कार्यकर्ता पंक्ति छैन । कुनै बलियो स्थानीय जग छैन । बरु आफूहरुले वर्षौंदेखि मन पराएको पार्टीलाई ‘धोका दिएको, छाडेको’ ट्याग छ ।

यस्तै शब्दका वर्षाहरु गर्दै वाग्लेलाई ललकारे प्रधानमन्त्री प्रचण्डसहित अरु तीन पूर्वप्रधानमन्त्रीले । उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई हराउन अघिल्लो साता सत्ता गठबन्धनका शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल र बाबुराम भट्टराई दमौली पुगेका थिए । सिंहदरबार र बालुवाटारको स्वाद पटक पटक चाखिसकेका अनुहारहरुको अपिलले सर्वसाधारणलाई कत्ति पनि काम गरेन । के यसको सन्देश असामान्य छैन र ?

चितवनको अवस्था यस्तै छ । अघिल्ला वर्षहरुजस्तै समय हुन्थ्यो भने संयम र विनयशीलताका सबै शब्द गुमाएर केही महिनाअघि पत्रकार, नागरिक समाजविरुद्ध रास्वपा सभापति रवि लामिछाने खनिँदा उनी सर्वत्र आलोचनाको पात्र बन्थे होलान् । तर मूलधारका पार्टीहरुविरुद्ध आम आक्रोश बढ्दै जाँदा त्यसको शुभलाभ पनि तिनै रविलाई हुन गएको छ । रवि तिनका लागि तारणहार प्रतित हुन गएका छन् । गणना चलिरहँदा चितवन २ मा रविले ठूलै अग्रतासाथ चुनाव जित्ने प्रष्ट छ ।

बाराको अवस्था उस्तै छ । त्यहाँ घन्टीको ध्वनि अन्यत्रजस्तो टड्कारो छैन । त्यसको ठाउँ जनमत पार्टीको ‘हरन’ ले लिएको छ । १७ वर्षअघि मधेस आन्दोलन गरेयता सधैं चर्चामा रहेका उपेन्द्र यादवलाई यो चुनाव नतिजा जे भए पनि सजिलो पर्ने छैन भन्ने पक्का छ ।

यादवले राष्ट्रिय राजनीतिमा सधैं आफ्नै आयतनको भूमिका पाइराखे । यसअघि एमालेको समर्थनमा जसपाबाट जितेका रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाइछाडेर, अनि गठबन्धन बदलेर उपेन्द्र यादवले संसदयात्रा तय गर्न खोजेका थिए ।

नतिजा जे आए पनि एउटा सन्देश मतदाताबाट प्रष्ट हुनेछ– गठबन्धनको राजनीतिलाई नागरिकहरुले फिटिक्कै रुचाएका छैनन् । चाहे तनहुँमा, चाहे चितवन या बारामा । तर यसबाट प्रतिपक्षी एमाले पनि खुसी हुनुपर्ने कुनै कारण छैन । संसदको सत्ता–विपक्षी लहरमा जो जता बसे पनि कांग्रेस, एमाले र माओवादी केन्द्रलाई हालको राज्य संस्थापनकै रुपमा देख्छ आम आँखाले ।

विगत वर्षहरुका बेथिति, कमसल शासन र कमजोर सेवाप्रवाहका लागि नागरिकले सत्ता सञ्चालकका हैसियतमा तिनलाई एकसाथ दोषी करार गरेको प्रमाण खोज्न उपचुनावभन्दा पर्तिर जानु पर्दैन ।

राजनीतिशास्त्री भास्कर गौतमका अनुसार उपचुनावले मंसिरको चुनावभन्दा छुट्टै नयाँ सन्देश प्रवाहित गरेको होइन । दलहरुले आफ्नो जित र अर्को पक्षका लागि गठबन्धन बनाए पनि मतदाताहरुले यसलाई अस्वीकृत गरिदिएको उनी ठान्छन् ।

‘मतदाताहरु गठबन्धन संस्कृतिप्रति कतिसम्म असन्तुष्ट रहेछन् भन्ने तनहुँ र चितवनमा देखिहालियो’, उनी भन्छन्, ‘बारामा जे नतिजा आए पनि एक्लो उम्मेदवारविरुद्ध सिंगो गठबन्धनलाई सकस परेको तथ्य छर्लंग छ ।’

भारतमा चुनावी रणनीतिबारे अनुसन्धान गरी फर्केका विश्लेषक समृद्ध घिमिरेका अनुसार उपचुनावमा अक्सर मतदान परिमाण घट्ने चलन रहे पनि नेपालमा बढेको देखिनु रोचक छ । आक्रोशित मतदाताले आशाको अनुहारका रुपमा वैकल्पिक शक्ति रोज्न थालेको उनी महसुस गर्छन् ।

‘स्वर्णिम वाग्ले असाध्यै सुविधाजनक अग्रतामा देखिनु मतदाताहरुको यही आशा र उत्सुकता कारक छ’, उनी भन्छन्, ‘कांग्रेस र एमालेको भोट घटेको छ । अरु दलमा खस्ने गरेका मत पनि यसपल्ट रास्वपामा आएको बुझ्न सकिन्छ ।’

के त्यस्तो जादु गर्‍यो घन्टीले जसका कारण यति बेला देशैभरि, अनि प्रवासमा बसेका नेपाली समुदायमा यसको लहर चलेको प्रष्ट सुनिन्छ । सामाजिक सञ्जालले घन्टीको आवाज विश्वभरिका नेपालीहरुमा ध्वनित भइरहेको प्रतिविम्बित गर्छ । यसका आलोचकहरु, अनि यसलाई सन्देहको नजरले हेर्नेहरु नगन्य देखिन्छन् ।

विश्लेषक झलक सुवेदीका विचारमा यो आकर्षण संस्थाहरुले विश्वसनीयता गुमाएको प्रमाण हो । ठूलो राजनीतिक परिवर्तनको अगुवाइ गरेर आएका पार्टीहरुप्रति नै जनताको अविश्वास कुन हदसम्म बढ्दै जानुको कारण समयमै पहिचान नगर्दा यो परिणति आएको उनको ठहर छ ।

‘मधेसमा बरु सीके राउतले एजेन्डाहरु उठाएर आए, घण्टी त त्यस्तो पनि छैन,’ सुवेदी भन्छन्, ‘अहिलेसम्म जनताका लागि सेवा दिन भनेर खुलेका राज्य संस्थाहरुले सही ढंगले अपेक्षा पूरा गर्न नसक्दा यो नतिजा आएको हो । सायद यो अझै बढ्दै जान सक्छ ।’

सुवेदीका विचारमा विगतमा कांग्रेस, एमाले लगायत पार्टीमा रहेका कतिपय समर्थक, शुभेच्छुकहरुले यो बीचमा आफ्नो समर्थन बदल्न सक्नेछन् ।

र, यसै उपचुनावले राष्ट्रिय राजनीतिको कोर्स बदल्न सक्ने त्यत्तिकै सम्भावना छ । उसो त संसदको गणितमा आधारभूत फरक केही पर्नेवाला छैन्, तर रास्वपाका नेताहरु राजनीतिक स्थिरता र अर्थतन्त्रको गतिका लागि नयाँ सत्तासमीकरणका लागि आफूहरुले सोच्न सक्ने ठान्छन् ।

सत्ता गठबन्धनको अनुदार व्यवहार भोगेका रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेले आज दिउँसो गणनाकै बीच टेलिफोनमा यो संवाददातासँग अन्तर्वार्ता दिँदै भने, ‘हामी अस्थिरताका कारक नबनौं भनेर सरकारलाई समर्थन दिएका थियौं, तर स्थिरताका नाममा अक्षम सरकारलाई बोकिराख्ने छुट हुँदैन ।’

आफूहरु प्रचण्ड नेतृत्वको सरकारमा जाने सम्भावना करिब नभएको भन्दै उनले आगामी सम्भावनाहरुको ढोका खुला हुन सक्नेतर्फ संकेत गरे ।

मंसिरको चुनावअघि शीर्ष नेताहरुलाई नो नट अगेन भनेर प्रचार अभियान चलाए पनि रास्वपाले ०८४ को चुनाव अघिसम्म समीकरण बनाएर जान सक्छ । आफूहरुलाई परिवर्तन चाहने जनताहरुको प्रतिनिधि देखाउँदै अघि बढ्ने उसको रणनीतिबारे एमाले अध्यक्ष ओलीले चासोपूर्वक हेरिरहेको बुझ्न सकिन्छ ।

‘उपचुनावमा हामी प्रतिष्पर्धी छौं, एक आपसलाई त्यही व्यवहार गर्ने हो,’ एमालेका एक उच्च तहका नेताले भने, ‘गठबन्धनका नाममा अहिले भइरहेका गलत क्रियाकलापको समीक्षा गर्दै नयाँ बाटोबारे भोलिका दिनमा सबैसँग खुलस्त कुरा हुन सक्छ ।’

स्वास्थ्यको कारण ओली उपचुनाव प्रचारमा सक्रिय नभए पनि अरु नेतासमेत यसपल्ट लो प्रोफाइलमै बस्नुको अर्थ बुझ्न कठिन छैन । ती नेताले ‘सबैसँग खुलस्त कुरा गर्ने’ भनेर इंगित गरेको दल खासगरी रास्वपा हो ।

उपचुनावमा तीन सिटको प्रतिस्पर्धा भए पनि यसको वजन कति गह्रौं छ भन्ने कुरा आखिर ओलीजत्तिका चतुर नेतालाई थाहा नहुने कुरा पनि भएन ।

रास्वपा सभापति लामिछानेलाई यसअघि गृहमन्त्री बनाउन भूमिका खेलेका, त्यसअघि मंसिरको चुनावमा काठमाडौंबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दिए एमालेले सघाउने भनी बालकोट निवासमै बोलाएर सल्लाह गर्न भ्याएका ओलीसँग यो दलका नेताहरु तुलनात्मक सहज अनुभूति पनि गर्छन् । अनि नागरिकता र राहदानी प्रकरणमा मुछिएको भन्दै रविलाई पुनः सत्तारोहण गराउन अनिच्छुक प्रचण्ड र उनको कदमको अन्तर्य पनि रास्वपा टिमले छामेकै छ।  दैनन्दिन राजनीतिमा बानी पर्दै गएका छन् यसका नेताहरू।

रास्वपाले आम अपेक्षाको सम्बोधन गर्नका लागि सत्ता समीकरणको हिस्सा बन्ने बाटो लेला कि ०८४ को महासंग्रामका लागि अहिलेदेखि तयारी थाल्ला, त्यसबाट ऊप्रतिको आम दृष्टिकोण बन्दै जाने छ । उसो त पुस १० पछि उसको छोटो सत्ता यात्रा देखिएकै हो ।

०७० को दशकमा नयाँ शक्ति, विवेकशील साझा पार्टीले सिर्जना गरेका मसिना तरंगहरु हेरेको नेपाली समाजले यो नयाँ दशकमा रास्वपाको प्रयोग उत्सुकतापूर्वक हेर्ने छ ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?