 
																			३१ चैत, काठमाडौं । ‘पुराना दलले सकेनन्, अब जान्नेलाई छान्ने’ भन्दै आक्रामक नारा दिंदै राष्ट्रिय राजनीतिमा छोटो अवधिमै स्थापित संसद्को चौथो ठूलो दल रास्वपा यतिबेला आफ्नै सामथ्र्य र पहिचानको संकटबाट गुज्रन थालेको छ ।
पार्टीपंक्तिभित्रै यस्तो अनुभूति हुन थालेपछि रास्वपाले ‘वैकल्पिक शक्ति’ हुनका लागि अवलम्बन गरिएको विगतको अभ्यासप्रति पुनर्विचार गर्ने संकेत गरेको छ । वैकल्पिक शक्ति हुने दाबी सहित गठन भएको रास्वपाले लक्ष्य अनुसार पार्टी परिचालन भए/नभएको आत्मसमीक्षा गर्ने भएको छ ।
रास्वपा नेताहरूका अनुुसार पार्टीमा आमूल परिवर्तनको आत्मबोध स्वयं सभापति रवि लामिछानेले गरेको हुँदा रास्वपा ‘गम्भीर समीक्षामा’ लाग्ने भएको हो । पार्टी सञ्चालन प्रक्रिया फरक तरिकाले गर्ने सभापति लामिछानेले १८ चैतमा बसेको केन्द्रीय समिति बैठकमा संकेत गरेका थिए । पार्टी संरचना सबल र सशक्त गराउने उद्देश्यले लामिछानेले व्यापक पुनर्संरचना गर्ने बताएका थिए ।
संगठनमा व्यापक परिवर्तन गर्ने र त्यसका लागि तयार रहन पार्टी पङ्तिलाई उनको आग्रह समेत थियो । लामिछानेले बैठकमा भने, ‘म व्यापक पुनर्संरचनामा काम गर्न चाहन्छु । यो सबैको लागि म सङ्गठनमा भारी रूपमा फेरबदल र पुनर्संरचनामा जान चाहन्छु । यसको लागि सबैलाई तयार रहन भन्न चाहन्छु ।’
रास्वपाभित्र पार्टी संरचनाले अपेक्षा अनुसार कार्य गर्न नसकेको बुझाइ छ । तलदेखि माथिल्लो पार्टी संरचनामा पदीय भूमिका लिन हानथाप हुने तर परिणाम प्राप्त नहुने अवस्था बनेको रास्वपाका एक शीर्ष तहका नेताले बताए ।
‘वडा तहदेखि केन्द्रसम्म जिम्मेवारी लिन खोज्नेहरूको तँछाडमछाड हुन्छ । पदीय भूमिका प्राप्त गर्ने तर जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति बढ्दै गयो’ शीर्ष तहका ती नेताले भने, ‘पार्टी संरचनाले ठीक तरिकाले काम नगरेको सभापतिको बुझाइ थियो । तलदेखि माथिसम्म नेताहरूको जिम्मेवारी परिवर्तन गर्ने सोच भएको बुझ्न सकिन्छ ।’
पार्टीका नेताहरू स्वार्थकेन्द्रित हुने चिन्ता उनलाई भेट्न कारागार पुगेकाहरूसँग पनि सभापति लामिछानेले बताउने गरेका छन् । शुक्रबार भैरहवास्थित कारागार पुगेर सभापति लामिछानेलाई भेटेका र्यापिड एक्सन टीम (र्याट) का नेता साजन शर्माले भने, ‘तपाईंहरू पार्टी निर्माणमा लाग्नुस् । व्यक्तिगत निर्माणतिर नलाग्नुस् । म कारागार बसेर गरेको त्यागको फाइदा पार्टीले लिन सकोस् भन्नुभएको छ ।’
रास्वपा चुनावमा होमिएपछि मात्रै संगठन निर्माणको क्रममा लागेको थियो । त्यसबेला फरक–फरक प्रकृतिका नेताहरू रास्वपामा लागे । मूलतः तीन प्रकृतिका व्यक्तिहरू प्रवेश गरेका थिए ।
पहिलो, कुनै पनि दलप्रति झुकाव वा आस्था नराखेका । दोस्रो, पुरानो दलको आस्था त्यागेर वैकल्पिक शक्ति निर्माणका लागि निस्वार्थ भावले प्रवेश गर्ने । तेस्रो, रास्वपामा लागेपछि छिटो अवसर प्राप्त हुने लालसाले प्रवेश गर्नेहरू ।
रास्वपा नेताहरूका अनुसार सभापति लामिछाने तेस्रो प्रकृतिका व्यक्तिहरू हाबी हुने निचोडमा पुगेका थिए । त्यही संकेत गर्दै पार्टी बैठक (१८ चैत)मा लामिछानेले भने, ‘अरू दलमा अवसर नपाएर मात्रै आउने ठाउँ हैन राष्ट्रिय स्वतन्त्र पार्टी । यो देश बनाउनको लागि एकठाउँमा आएर अभियानमा लाग्ने पार्टी हो ।’
पछिल्लो समय रास्वपामा बहसको विषय वैकल्पिक शक्ति हुने लयमा पार्टी हुन नसकेको हो कि भन्ने संशयमा आधारित छ । वैकल्पिक शक्ति भएको दाबी गर्ने तर कार्यशैली र पद्धति त्यस अनुसारको हुन नसकेको बुझाइ रास्वपामा छ । वैकल्पिक शक्तिहरूमा हुनुपर्ने आधारभूत ज्ञानको अभावले पनि समस्या रहेको रास्वपाका एक सचिवालय सदस्य सुनाउँछन् ।
‘हामीकहाँ वैकल्पिक शक्ति कस्तो हुनुपर्ने भनेर विचार निर्माण हुनसकेको छैन । विश्वविद्यालयमा पाठ्यक्रम पनि छैन । विचार निर्माण गर्नेहरूले वैकल्पिक शक्ति कस्तो हुने परिभाषित गर्न सकेका छैनन्’ उनी भन्छन्, ‘विदेशतिर हेरेर वैकल्पिक शक्ति बनाउँदा हाम्रो समाज अनुसारको त्यो शक्ति हुँदैन ।’
वैकल्पिक शक्ति दाबी गर्ने रास्वपाले संगठनात्मक संरचना पुरानै दलकै अनुसार बनाएको छ । मास बेस्ड पार्टीका रूपमा आफूलाई अथ्र्याएको रास्वपाले अन्य दलले प्रयोग गरिरहेको ‘क्याडर बेस्ड’ ढाँचा नै अँगालिरहेको छ । सदस्यता प्रदान गर्ने र संगठनात्मक संरचना पुरानै ढर्राको बनाउनै पर्ने हो कि नयाँ विधिमा जानुपर्नेमा पार्टीमा छलफल हुनुपर्ने शीर्ष तहका एक नेताले बताए । उनी भन्छन्, ‘हामी नयाँ किताब लेख्छौं भनेर आएका हौं, तर अरूले जे लेखिदिए त्यही पढ्न थाल्यौं । नयाँ लेख्नै लागेनौं ।’
पार्टी गठन भएदेखि नै रास्वपाले सभापति लामिछाने मुछिएका प्रकरणले हण्डर र ठक्कर भोग्दै यो समय पार गर्यो । नागरिकता, राहदानी हुँदै सहकारीको रकम अपचलनको मुद्दाले सभापतिसँगै सिंगो पार्टीप्रति प्रश्न उठेको छ । सभापति माथि अनेक प्रश्न उठे पनि ‘रास्वपा भनेकै रवि र रवि भनेकै रास्वपा’ को भाष्य जबरजस्ती स्थापित बन्यो । त्यसलाई चिर्न समेत रास्वपालाई यो समयावधिमा हम्मे पर्यो ।
कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी ‘रास्वपा भनेकै रवि’ भन्ने अवस्था नरहेको दाबी गर्छन् । ‘व्यक्तिबाट नेतृत्व समूहमा सरिसकेको छ । नेतृत्व विकासमा सभापतिकै देन छ । पदीय जिम्मेवारी बहन गर्ने गरी काम गर्न उहाँले निरन्तर प्रोत्साहित गरिरहनुभएको छ’, बुर्लाकोटी भन्छन् ।
पार्टी कुन विधिबाट अघि बढाउने भन्नेमा छलफलकै क्रममा रास्वपा नेताहरू छन् । सभापति पक्राउपछि बसेको सचिवालय बैठकमा हालसम्म अँगालेको विधि र अबको बाटोका बारेमा विचारहरू आइरहेको शीर्ष तहका नेताले सुनाए । ‘हालसम्म अभ्यास गरिरहेको विधिलाई परिमार्जन गर्नुपर्ने सोचहरू आएका छन् । जाने विधि यो हो भन्ने पनि किटान भइसकेको छैन । छलफलकै क्रममा छौं’, ती नेताले भने ।
रास्वपा गठन भएको आगामी असारमा तीन वर्ष पुग्दैछ । करिब ३४ महिनाको यो अवधिमा सांगठनिक विस्तार आशातित हुन नसकेको निक्र्योलमा रास्वपा नेताहरू पुगेका छन् । संगठन निर्माणले तीव्रता पाउन नसक्दा महाधिवेशनको कार्यतालिका समेत प्रभावित हुने अवस्था बनेको छ । जिल्ला तहको अधिवेशन गर्नुपर्ने यो समयावधिमा रास्वपा वडा तहको अधिवेशनको क्रममा छ । वडा तहको अधिवेशन समेत द्रुत गतिमा हुनसकेको छैन ।

एकातर्फ, सभापति लामिछाने कारागार पर्नु र अर्कोतिर तल्लो तहमा अधिवेशन कार्यतालिका अनुसार नहुँदा प्रथम महाधिवेशन तोकिएको समयमा नहुनेमा निश्चित जस्तै भएको छ । रास्वपाले वैशाख अन्तिम साता महाधिवेशन गर्ने निर्णय लिएको थियो । सभापति लामिछानेले तोकिएकै समयमा महाधिवेशन गर्न निर्देशन दिए पनि हुनसक्ने अवस्था नरहेको नेताहरू बताउँछन् । लामिछानेले पार्टी बैठकमा भनेका थिए, ‘राष्ट्रिय भेलाबाट घोषणा गरेकै समयमा प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आयोजना गर्ने प्रतिबद्धता सहितको निर्देशन दिन चाहन्छु ।’
पूर्व निर्धारित मितिमा महाधिवेशन नहुँदा अर्को समय कहिले तोक्ने अन्योल समेत रास्वपामा छ । रास्वपाले निर्धारित मितिमा महाधिवेशन गर्दा सभापति लामिछाने सहभागी हुनसक्ने अवस्था छैन । अर्को मिति तय गर्दा त्यसबेला समेत लामिछाने उपस्थित हुनसक्ने/नसक्ने अनिश्चित छ ।
महाधिवेशन नगर्दा बाहिरी आलोचना खेप्नुपर्ने दबाबमा रास्वपा हुनेछ । महाधिवेशनको सन्दर्भलाई लिएर पार्टीभित्र अन्योल रहेको नेताहरू सुनाउँछन् । एक पदाधिकारी भन्छन्, ‘तोकिएको मितिमा महाधिवेशन नहुने जस्तै जस्तै थियो । सभापति पक्राउ परेपछि कहिले हुनेमा अन्योल बन्यो ।’
पार्टी गठनदेखि हालसम्मको अन्तरालमा रास्वपामा खट्किएको विषय प्रशिक्षण रहेको छ । प्रशिक्षणको अभावले पार्टीले बोकेको नीतिको अपनत्व लिएर बोल्न र प्रतिवादमा कार्यकर्ताहरू उत्रन नसकेको नेताहरू बताउँछन् । उक्त प्रसंगसँग पछिल्लो उदाहरण रास्वपा गणतन्त्रवादी कि राजावादी भनी गरिएको बहससँग एक शीर्ष नेताले जोडे । पार्टीको दस्तावेजमा ‘पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली’ अँगाल्ने उल्लेख छ । ‘प्रशिक्षणको अभाव यसैबाट देखिन्छ । पार्टीको दस्तावेजमा रास्वपा गणतन्त्रवादी हो भनेर स्पष्ट लेखेको छ । हाम्रो विचार यो हो भनेर कार्यकर्ताले भन्न सक्नुपर्थ्यो । प्रतिवाद हुन सकेन’ ती नेताले भने, ‘प्रशिक्षणको कमि हुँदा शुभेच्छुक र कार्यकर्ता जागरुक बनाउन सकेनौं ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4