News Summary
Generated by OK AI. Editorially reviewed.- रजनी श्रेष्ठले सन् २०१७ देखि बडीबिल्डिङ खेल्न सुरु गरी राष्ट्रियदेखि विश्वस्तरका प्रतियोगितामा पदक जितेकी छन्।
- रजनीले सन् २०२३ मा नेपालमै भएको ५५औं एशियन बडीबिल्डिङ च्याम्पियनसिपमा ५५ केजी समूहमा स्वर्ण पदक जितिन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीबाट रजनी समानुपातिक सांसद बनेकी हुन् ।
२ चैत, काठमाडौं । कुनै बेला स्वास्थ्य ठीक बनाउन जिम जान थालेकी रजनी श्रेष्ठले विस्तारै आफूलाई बडीबिल्डरको उम्दा खेलाडी बनाइन् । उनले अहिलेसम्म राष्ट्रिय स्तर हुँदै दक्षिण एशियाली, एशियाली र विश्व स्तरका प्रतियोगितामा पदक जितिसकेकी छन् । तीनै विश्वस्तरका खेलमा सहभागी खेलाडी अब संसद्मा पनि देखिनेछिन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उनी समानुपातिक सांसदको सूचीमा परेकी छन् ।
बडीबिल्डिङमा सामान्यतः पुरुष खेलाडी धेरै हुन्छन् । तर रजनी त्यस्ती पात्र हुन्, जसले नेपालबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय पदक जितेकी छन् ।
रजनीले सन् २०१७ देखि खेल्न सुरु गरेकी हुन् । त्यो बेला महिलाका लागि कुनै क्याटेगोरीबारे नै उनलाई थाहा थिएन । विस्तारै बुझ्दै गइन् । बडीबिल्डिङमा बडीबिल्डिङ मात्र नभएर अरू विधा पनि हुन्छन् । जस्तै– मोडल फिजिक्स, फिजिक्स, स्विम सुट ।
सुरूमा रजनीले महिला फिजिक्स विधामा सहभागिता जनाएकी थिइन् । सन् २०१७ मा मिस्टर काठमाडौंमा सहभागी भइन् । त्यसमा उनी महिलातर्फ फिजिकमा पहिलो भइन् । त्यसपछि उनी आफैंले राम्रो बडी बनाउन युट्युब हेर्न थालिन् । प्रतियोगितामा भाग लिन भने एक वर्ष ग्याप राखिन् ।

सन् २०१९ मा रजनी फेरि स्टेज चढिन् । २०१९ मा सम्पन्न साउथ एशियन गेम्समा प्रतिस्पर्धा गर्दा रजनीको बडी स्ट्रक्चर नै परिवर्तन भइसकेको थियो । उनको शरीर फिजिकबाट बडीबिल्डिङको वेइट क्याटेगोरीमा पुगिसकेको थियो ।
‘२०१९ मा एकै पटक खेल्दा मेरो साइज बढी नै बनाइसकेकी रहेछु । साउथ एशियनमा मैले फिजिकमा खेलेकी थिएँ । जजहरूले तपाईंको जीउ एकदमै राम्रो छ, तर यो फिजिक भन्दा पनि बडीबिल्डिङ भयो भन्नुभयो’ रजनीले अनलाइनखबरको ५० प्रभावशाली महिलाको सूचीमा परेका बेला भनेकी थिइन्,’ फिजिक भन्दा बडीबिल्डिङ खेल्नु भन्नुभयो । म झन् खुशी भएँ । मैले यति मिहिनेत गरिसकेकी रहेछु भन्ने भयो ।’
सन् २०२३ मा नेपालमै भएको ५५औं एशियन बडीबिल्डिङ च्याम्पियनसिपमा उनले आफ्नो फेभरेट विधा ५५ केजी समूहमा नेपालका लागि स्वर्ण जितिन् । यो उनको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक थियो ।
०००
मोरङकी रजनीले सानै उमेरमा विवाह गरिन् । छोरो जन्मियो । उमेरले तीन दशक हुँदा रजनीको स्वास्थ्यमा समस्या देखियो । घाँटीमा मासुका डल्ला देखिएपछि उनी आत्तिइन् । नेपालदेखि भारतका अस्पतालहरू पुगिन् ।

यस्तो समस्याले दुई वर्ष सतायो । डिप्रेसनकै तहमा पुगिन् । श्रीमान् र छोरा पनि चिन्तित थिए । एक दिन श्रीमान् समिर श्रेष्ठले रजनीलाई जिम जान सल्लाह दिए । जिम र फिटनेसले धेरै रोग निको भएको समिरले बताएपछि रजनी पनि जिम जान तयार भइन् । त्यो बेलासम्म उनलाई जिममा खासै रुचि थिएन । जिमबाट विस्तारै उनको शरीर परिवर्तन हुँदैगयो । रजनी फिट देखिन थालिन् । त्यत्तिकैमा अन्जन शाहीले मिस्टर काठमाडौंमा भाग लिन सुझाव दिए । श्रीमान्ले पनि सहमति जनाए । अनि सुरु भयो– रजनीको बडीबिल्डिङ करिअर । त्यसपछि निरन्तर यो क्षेत्रमा लागेकी उनी अहिले राजनीतिक अभियानहरूमा पनि जोडिइन् र रास्वपाले उनलाई समानुपातिक सूचीमा राखेको थियो । रास्वपाले देशभरबाट ठूलो विजय गरेपछि अहिले रजनीका लागि पनि संसद् पुग्ने ढोका खुलेको छ ।
प्रतिक्रिया 4