+
+
Shares
निर्वाचन विवेचना :

मतमा रूपान्तरित राजनीतिक जागरण

मुलुक सञ्चालनको विद्यमान तरिकाबाट नयाँ पुस्ता मात्र होइन, पुरानै पुस्ता पनि लामो समयदेखि असन्तुष्ट थियो। त्यो असन्तुष्टिले यसपटक सामूहिक राजनीतिक जागरण पैदा गर्‍यो र रास्वपाको पक्षमा मतमा रूपान्तरित भयो।

सीमा बन सीमा बन
२०८२ फागुन २९ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०४६ सालको आन्दोलनदेखि नयाँ संविधानसम्म नेपालमा राजनीतिक संरचनामा ठूला परिवर्तन भए पनि नागरिकले अपेक्षित सेवा र विकास पाएका छैनन्।
  • युवामा राजनीतिक चेतना र जागरण बढेको छ, तर राजनीतिक दलहरूले आफ्ना स्वार्थमा केन्द्रित भएर जनताको अपेक्षा पूरा गर्न सकेका छैनन्।
  • सरकारी सेवा प्रवाहमा प्रविधि अभाव, दलगत सहभागिता, न्यायमा ढिलाइ र आर्थिक अस्थिरताले युवामा निराशा बढाएको छ।

नेपालमा पछिल्ला केही दशकमा अनेक राजनीतिक परिवर्तन भए। २०४६ सालको आन्दोलन, २०६२/६३ को जनआन्दोलन, गणतन्त्रको स्थापना र नयाँ संविधानको घोषणाले नेपालको राजनीतिक संरचनालाई पूर्ण रूपमा परिवर्तन गरिदिए। यी परिवर्तन अहिलेको युवा पुस्ताले देखेका ऐतिहासिक उपलब्धि हुन्। यस्ता उपलब्धिलाई त्यसपछिका सरकारले संस्थागत गर्न नसक्दा र संघ, प्रदेश तथा स्थानीय तह बीच समन्वय समस्या, बजेट खर्चमा ढिलाइ र नीतिगत कार्यान्वयनको ढिलासुस्तीले संघीय संरचनाबाट नागरिकले अपेक्षा गरेअनुरुप सेवा प्रवाह, रोजगारी र स्थानीय विकासमा सुधार भएन। नयाँ संविधानले नयाँ संरचना, अधिकार र सम्भावनाको ढोका त खोल्यो, तर वर्षौं बित्दा समेत नागरिकले हामीले के पायौं भन्ने प्रश्न गरिरहे।

राजनीतिक परिवर्तन भयो, राजनीतिक चरित्र परिवर्तन भएन। देशको नेतृत्व गर्ने नेताहरू दशकौंदेखि उही अनुहार, उही सोच र उही स्वार्थमा सीमित देखिए। राजनीतिक दलहरू जनताको अपेक्षा भन्दा बढी आफ्नै शक्ति जोगाउने खेलमा व्यस्त भइरहे। संसद् बहस र नीतिनिर्माणको केन्द्र बन्नुपर्नेमा सत्ता समीकरण र भागबन्डाको मैदान बन्यो। चुनावका बेला जनतासँग आश्वासनका ठूल्ठूला सपना बाँड्ने तर चुनाव सकिएपछि आफूलाई सत्तामा केन्द्रित गर्ने र जनतालाई प्राथमिकतामा नराख्ने प्रवृत्तिले युवामा राजनीति देख्दा आशा होइन, निराशा सिर्जना भयो।

अहिलेको डिजिटल संसारमा रमाएका युवाले संसारका हरेक विकास हेरिरहेका छन्। राज्यले दिने सुविधा बुझिरहेका छन्। उनीहरूले विश्व देखेका छन्। सुशासनको नमूना देखेका छन्। सम्भावनाको तुलना गरेका छन्। नीतिगत आलोचना, सार्वजनिक खर्चमा प्रश्न गर्दै पारदर्शिता माग गर्न थालेका छन्। लोकतन्त्र, सुशासन, पारदर्शिता र उत्तरदायित्वका विषयमा खुला रूपमा बोल्न थालेका छन्। भ्रष्टाचार, नातावाद, कृपावाद र अन्यायको विरोधमा सामाजिक सञ्जालदेखि सडकसम्म आवाज उठाइरहेका छन्। यसरी हेर्दा युवामा राजनीतिक चेतना र जागरण बढेको देखिन्छ। यसलाई नेतृत्वकर्ताले गम्भीर भएर समीक्षा गर्नुको साटो खिसीटिउरी गरे। परिणामस्वरुप वर्षौंदेखि विरासत बोकेका राजनीतिक दलले यसपटक चुनावमा अप्रत्यासित नतिजा व्यहोर्नुपर्‍यो। यसअर्थमा राजनीतिक परिवर्तनले युवामा राजनीतिक जागरणको नयाँ अध्याय सुरु गरेको मान्न सकिन्छ।

सरकारी कार्यालयका ढोकामा फाइल बोकेर घण्टौं उभिन विवश युवा पुस्ता अब लाइन होइन अनलाइन खोजिरहेको छ।

नेपालमा सार्वजनिक सेवाहरू प्रविधिमैत्री नहुँदा अझै पनि मालपोत, यातायात, राजस्व लगायत सामान्य प्रशासनिक काममा मात्रै होइन अस्पतालमा समेत घण्टौं लाइन बस्नुपर्छ। नयाँ पुस्ताले लाइन होइन अनलाइन खोजिरहेका छन्। सरकारी कार्यालयको ढोकामा फाइल बोकेर लाइनमा उभिएको एउटा युवकलाई सम्झिनुस्। हातमा फाइल छ, आँखामा भविष्य। घण्टौंपछि पालो आउँछ, दिन घर्किसकेको हुन्छ अनि झ्याल झ्यालमा जवाफ आउँछ आज हुँदैन भोलि आउनुस्। ऊ केही नयाँ गर्न चाहन्छ, आफ्नै देशमा उभिन चाहन्छ एउटा सानो व्यवसाय सुरु गर्न खोज्दा हप्तौं महिनौं विभिन्न निकायमा चक्कर काट्नुपर्छ। अनि पहिलो चरणमै थाक्छ। सार्वजनिक सेवा केही कर्मचारीको ‘पेवा’ जस्तो व्यवहार हुँदा पनि युवालाई यो प्रणालीप्रति वितृष्णा जगाएको हो।

स्कूल कलेजमा दलगत संगठन, कर्मचारीको दलगत संगठन अझ त्यति मात्र कहाँ हो र खानेपानी संस्थान, टोल विकास संस्थाहरू; र सामाजिक सेवाका लागि स्थापित संस्थाहरूमा समेत दलगत सहभागिता अनि त्यसको आडमा त्यहाँका प्रतिनिधिले देखाउने रवैया युवा पुस्तामा निराशाको स्रोत बन्छन्।

न्याय खोज्दै अदालत पुगेको अर्को युवकलाई हेरौं, ऊ सत्यको पक्षमा छ, वर्षौंसम्म फैसला हुँदैन। मानौं प्रमोसनमा न्याय नभएको पीडितले मुद्दा हाल्छ वर्षौं कुर्छ। फैसला आउँछ अवकाशपछि। जब न्याय ढिलो हुन्छ, पीडितले दोहोरो सजाय भोग्छ एकातिर अन्यायको, अर्कोतिर प्रतीक्षाको। न्याय ढिलो हुनु निराशा जन्मिनु हो। सही भएर पनि जित्न सकिन्न, शक्तिशालीसँगको टकरावमा समय र धन दुवै सकिन्छ भन्ने भावले युवालाई नैराश्यतातिर लग्यो।

अब बन्ने सरकारले सुशासन, न्याय, रोजगारी र अवसरको वातावरण सिर्जना गर्न सक्यो भने विद्यमान निराशा चाँडै आशामा बदलिने र त्यसले मुलुक निर्माणमा योगदान गर्न सक्नेछ।

गाउँको किसान सम्झिनुस् हातमा माटो छ, पसिना छ, आशा छ, जाँगर छ। बाली लगाउने सिजनमा मल, बीउ छैन। ऋण लियो, आकाश हेर्‍यो, सरकार हेर्‍यो, वर्षैपिच्छे बाली फेर्‍यो। जेनतेन लगाएको बाली पाक्न नपाउँदै ऋणको ब्याज बढ्छ, बजारको मूल्य घट्छ। सरकारले दिएका भनेका सहुलियतमा पहुँच पुग्दैन। उत्पादनमा बिचौलियाले मूल्य तोक्छन्। किसानको सन्तान आफ्नो बाबुको संघर्ष देखेर प्रश्न गर्छ ‘के म पनि यही नियति दोहोर्‍याउँ?’ अनि देश बाहिरको बाटो हेर्न थाल्छ। नेपाली अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको कृषि क्षेत्रलाई व्यावसायिक र सम्मानित पेशा बनाउन नसक्दा कृषि व्यवसाय भविष्य नभई, जोखिम जस्तो देखिन थाल्यो यसले युवालाई यसतर्फ आकर्षित गर्न सकेन।

अस्पतालको दृश्य अझ पीडादायक छ। निजी अस्पतालको चर्को शुल्क सामान्य परिवारको लागि आकाशको फल जस्तै भयो। सरकारी अस्पतालका आकस्मिक सेवा लिन बेड होइन स्ट्रेचर पाउँदा पनि खुसी हुनुपर्ने अवस्था छ। डाक्टर, नर्सले नेपालमा सम्भावना नदेख्दा बिरामीले डाक्टरको पालो कुर्दाकुर्दै ज्यान जाने जोखिम छ। स्वास्थ्य बीमा गरेका छन्, तर उपचार र औषधि सीमित हुँदा सरकारी सेवा पाउनेतर्फ जनताको विश्वास टुटेको छ। बिरामीलाई बेड छैन, औषधि छैन, ब्लड बैंकमा ब्लड छैन। उपचार समयमै नपाउँदा जीवनसँगको लडाइँ कमजोर हुन्छ। त्यो क्षणमा नागरिकले महसुस गर्छ, राज्य कागजमा छ, जीवनमा छैन। यसले नागरिकमा तीव्र असन्तुष्टि बढायो।

अहिले नेपालका उद्यमी–व्यापारीहरू अचम्मको परिस्थितिमा छन्। बैंकमा पैसा थुप्रिएको छ, ब्याजदर तुलनात्मक सस्तो छ, तर उनीहरू ऋण लिएर व्यवसायमा उत्रन उत्साहित छैनन्। आर्थिक क्षेत्र उकासिन अर्थ मात्रै होइन सुरक्षा र स्थिरता पनि चाहिन्छ। विगतले बनाएको कमजोर मनोबल र सुरक्षाको डरले उनीहरूमा नयाँ लगानी गर्ने जाँगर छैन। अस्थिर राजनीति, सरकार परिवर्तनसँगै हुने नियुक्ति र अस्थिर नीतिगत व्यवस्था अनि प्रशासनिक झञ्झटले लगानी गर्ने वातावरण कमजोर बन्दै गयो। यसले व्यवसायीमा निराशा थपियो। व्यवसाय सफल हुन सस्तो ऋण मात्रै होइन राज्यकातर्फबाट स्थिर नीति, प्रोत्साहन र मार्गदर्शन आवश्यक पर्छ।

सानो अर्थतन्त्र भएको मुलुकमा एकैरातमा विकासले कायापलट गर्न त सकिंदैन तर, सुधारका थुप्रै कामको थालनी भने गर्न सकिन्छ।

अनि नातावाद कृपावादका कुरा गरौं। यहाँ कुनै पद, अवसर, सुविधा योग्यताले भन्दा सम्बन्धले निर्धारण हुन्छन्। मिहिनेत गरेर पढेका, संघर्ष गरेका युवाहरूले देखिरहेका छन् कि अवसरहरू आफ्नाहरूका लागि सुरक्षित छन्। योग्यता अनुसारको काम नपाउनु, रोजगारी सुरक्षाको प्रत्याभूति नहुनु, श्रमको अवमूल्यन, चाकडी–चाप्लुसी यी सबैले युवामा असन्तोष बढाउँदै लग्यो जसले उनीहरूलाई वैदेशिक रोजगारीतर्फ आकर्षित गर्‍यो। जसबाट ब्रेन ड्रेनको स्थिति देखा पर्न थाल्यो। विदेशमा भएकाहरूले त्यहाँको सिस्टमसँग तुलना गर्न थाले अनि नेपालमा सिस्टम नभएको भनी परिवार र समाजलाई अप्रत्यक्ष रूपमा झक्झकाउन लागे। यसले युवामा आशाभन्दा निराशा थपियो।

अर्थतन्त्रलाई रेमिट्यान्सको टेकोले देशभित्र अवसरको अभावलाई संकेत गर्छ। त्यति मात्रै नभई हालै अमेरिकाले इरानमाथि गरेको सैन्य कारबाहीसँगै खाडीमा रहेका १९ लाख बढी नेपालीको भविष्य के होला भन्ने चिन्ता थपिएको छ। नेपाली अर्थतन्त्रको त्यो टेको कुन बेला हल्लिने हो चिन्ता थपिएको छ।

नेपालका प्रमुख दलहरूमा नेतृत्व पुस्तान्तरण असम्भवप्राय: भयो। दल जन्माउने र अन्त्येष्टि गर्ने पात्र उही भए। हजुरबुबाले छानेका पात्रलाई नाति पुस्ताले समेत छान्नुपर्ने परिस्थिति बनिरह्यो। हरेक क्षेत्रले परिवर्तन खोजिरहँदा नेपालमा नेतृत्व परिवर्तन भने युवा पुस्ताले देख्नै पाएनन्। केन्द्रीकृत निर्णय प्रक्रिया, युवा नेतृत्व र उनका मागलाई बेवास्ता गर्दा युवामा ‘राजनीति केही सीमित समूहको नियन्त्रणमा छ’ भन्ने धारणा बलियो बन्दै गयो।

दलहरू शक्ति समीकरणमा व्यस्त देखिए। युवाको एजेन्डा दलको प्राथमिकतामा परेन। जसले गर्दा वैकल्पिक राजनीतिक प्रयोगहरू स्वाभाविक रूपमा जन्मिए। विद्यमान व्यवस्था नै गलत हो कुनै पनि दलको बहुमत आउँदैन भन्ने भाष्य यसपटक गलत सावित भएको छ। नागरिकले परिवर्तनको मागलाई प्रमाणित गरेका छन्। परिवर्तनको प्यासमा यसपटक नागरिकहरू हेर्ने होइन फेर्ने भन्नेतर्फ लागेको देखिन्छ। यसले पुरातनवादी दलभित्र गुम्सिएर बसेका केही राम्रा मान्छेलाई समेत गलत विरुद्ध आवाज नउठाएको भनी नराम्ररी सजाय दिएको बुझ्न सकिन्छ।

नागरिकले आधारभूत आवश्यकताकै लागि लडिरहनुपर्छ भने त्यहाँ राजनीतिक उपलब्धिको महत्व रहँदैन।

यदि राज्यले सुशासन, न्याय, रोजगारी र अवसरको वातावरण सिर्जना गर्न सक्यो भने आजको निराशा भोलिको आशामा बदलिन समय लाग्दैन। परिवर्तन तब मात्र सफल मानिन्छ जब नागरिकले दैनिक जीवनमा सुधार देख्छन्, समान अवसरको महसुस गर्छन् र राज्यले नागरिकलाई सम्मानित जीवन बाँच्ने आधार दिन्छ। नागरिकले आधारभूत आवश्यकताकै लागि लडिरहनुपर्छ भने त्यहाँ राजनीतिक उपलब्धिको महत्व रहँदैन।

आजका युवा धेरै सचेत छन्। उनीहरू प्रश्न गर्छन्, बहस गर्छन्, आवाज उठाउँछन्। भ्रष्टाचार र गलत शासन विरुद्ध बोल्न डराउँदैनन्। यो राजनीतिक जागरणको संकेत हो। युवाको असन्तोष र सही प्रश्नले भविष्यको राजनीतिलाई शुद्ध बनाउनेछ। जनताले चाहे भने बलियो भनिएको शक्तिलाई पनि छिनमै सडकमा ल्याइदिन सक्ने रहेछन्। यो यथार्थलाई बुझेर अब बन्ने सरकारले जनताको हितलाई सर्वोपरि मान्नुपर्छ र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ।

राजनीतिक उपलब्धिलाई व्यावहारिक, आर्थिक र सामाजिक रूपान्तरणसँग जोड्न सकेमा परिवर्तन साँचो अर्थमा सफल हुन्छ। सानो अर्थतन्त्र भएको मुलुकमा एकैरातमा विकासले कायापलट गर्ने त होइन तथापि राज्यका सेवाहरू नागरिकमैत्री र प्रविधिमैत्री बनाउने, कर्मचारीको मनोबल बढाउन सेवा–सुविधामा पुनरावलोकन गरी समयानुकूल गर्ने, दलगत भ्रातृ संगठन हटाउने, सरुवा, बढुवा, दण्ड र पुरस्कार प्रणाली पारदर्शी बनाई सार्वजनिक प्रशासन सुदृढ गर्ने, करको दर र दायरालाई वैज्ञानिक बनाउने, हरेक व्यवसायलाई करको दायरामा आउन प्रोत्साहन हुने गरी नीतिगत व्यवस्था गर्ने र युवालक्षित कार्यक्रमहरू ल्याई उनीहरूलाई आर्थिक उपार्जनसँग जोड्न सकेमा सरकार सफल मानिनेछ। अनि मात्र नेपाल साँच्चै समृद्ध राष्ट्र बन्नेछ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
सीमा बन

कृषि विकास बैंकमा कार्यरत वरिष्ठ शाखा प्रमुख रहेकी सीमा बन अधिवक्ता पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?