+
+
Shares
विचार :

बालेन–रविले स्टन्ट होइन सिस्टम पछ्याउन्

अब बन्ने शक्तिशाली सरकारले भ्रष्टाचारका फाइल खोलेर सुशासनको प्रत्याभूति दिलाउनुपर्छ । तर, फाइल खोल्दै गर्दा र अन्य काम गर्दै गर्दा स्टन्टमा आधारित होइन, सिस्टममा केन्द्रित हुनुपर्छ ।

प्रशान्त लामिछाने प्रशान्त लामिछाने
२०८२ चैत २ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फागुन २१ को निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुईतिहाइ बहुमत दिएको छ र अब संसदमा उसलाई काम गर्न छेकबार गर्ने शक्ति छैन।
  • २०४६ देखि ०६२–६३ सम्म भएका आन्दोलनहरूले राजनीतिक परिवर्तन ल्याए पनि समृद्धि र सुशासनमा प्रगति हुन सकेको छैन।
  • नयाँ सरकारले अनियमितता र भ्रष्टाचार रोक्न सिस्टममा केन्द्रित भएर काम गर्नुपर्ने र पाँच वर्षमा विकास र सुशासन सुनिश्चित गर्नुपर्नेछ।

लामो समयपछि नेपालमा राजनीतिले आशा देखाएको छ । जेनजी आन्दोलनपछिका ६ महिना सकसपूर्ण थिए । तर, योभन्दा अघिका वर्षहरूले पनि कुनै भरोसा दिन सकेका थिएनन् । त्यही आशा र भरोसा दिन नसक्दाको परिणाम सडकमा देखियो । सडकको विद्रोहलाई फागुन २१ को निर्वाचनले वैधानिकता दिएको छ ।

हुन त नेपालमा समय–समयमा परिवर्तन भइरहन्छन् । नागरिकले परिवर्तन खोजे, २०४६ को जनआन्दोलन भयो । नयाँ पुस्ताले सुनेको र जानेको यो ठूलो विद्रोह थियो । तर, त्यसबाट पनि सन्तुष्ट हुन नसकेकाहरू २०५२ सालमा सशस्त्र विद्रोह नै गर्न पुगे । जसको शान्तिपूर्ण अवतरण ०६२र६३ को जनआन्दोलनपछि भयो । यो बीचमा मधेस आन्दोलन, थरुहट र विभिन्न जनजाति आन्दोलनहरू भए । यिनीहरूले लोकतन्त्रको जगलाई मजबुत बनाए ।

मैले यहाँ इतिहासको फुर्को जोडेर सोध्न खोजेको प्रश्न के हो भने– के यी आन्दोलनहरू राजनीतिक परिवर्तनका लागि मात्र थिए ?

हो, जसले यी आन्दोलनको नेतृत्व गरेका थिए, उनीहरूले यसलाई विकास र समृद्धिसँग जोड्न सकेनन् । नागरिकको जनजीविकासँग जोड्न सकेनन् । राजनीतिक क्रान्ति पूरा भएको भनिए पनि समृद्धिको यात्रा तय गर्न सकेनन् । समृद्धि र सुशासनविनाको राजनीतिक परिवर्तनले मात्र पुग्दैन भन्ने दृष्टान्तका रूपमा भदौ २३ र २४ को जेनजी विद्रोहलाई लिन सकिन्छ ।

‘बर्लिनको पर्खाल ढलिरहँदा मानिसहरू कता दौडिरहेका थिए ?’ हामीले यो कुरा धेरै सुन्दै आएका छौँ, सत्य हो वा होइन थाहा छैन । तर, परिस्थितिलाई बुझाउन यो उदाहरण काफी छ । अर्थात्, जता समृद्धि छ, मानिसहरू उतै दौडिन्छन् ।

निर्वाचनको नयाँ म्यान्डेट

निर्वाचनले सानो छिद्र पनि नराखी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दुईतिहाइ भन्न सकिने बहुमत दिएको छ। दुई सिट नपुग्दा पनि यसको ओज र शक्ति दुईतिहाइकै हो । किनभने, अब संसद्‌मा उसलाई काम गर्न छेकबार गर्ने अर्को कुनै शक्ति छैन ।

कुशासनले आजित नागरिकले यसपटक मत परिवर्तन गरेका हुन् । पटकपटकका धोका र अविश्वासले आजित नागरिक र दलकै कार्यकर्ता पनि स्वतन्त्र मतदातामा रूपान्तरण भएका हुन् ।

यसअघिका ठूला पार्टी र तिनका नेताहरू रक्षात्मक मात्र होइन, ‘प्यारालाइज्ड’ (पक्षाघातग्रस्त) भएका छन् । दोस्रो जनआन्दोलनपछिका दुई दशक राजनीतिक रूपमा निकै आरोह–अवरोहका रहे । पहिलो संविधानसभाको असफलतादेखि प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बन्नुपर्ने अवस्था यही अवधिमा आयो । यही अवधिमा संविधान बन्यो भने माओवादी सेनाको नेपाली सेनामा समायोजन गर्ने महत्त्वपूर्ण काम पनि भयो ।

यी र यस्ता धेरै राजनीतिक काम भए तर नागरिकले चाहेको विकास, समृद्धि र सुशासनका काम भएनन् । जसले गर्दा आम मानिसमा ‘फ्रस्टेसन’ (निराशा) हुनु स्वाभाविक थियो ।

०६४ सालको संविधानसभा निर्वाचनमा मतदाताले विद्रोही माओवादीलाई ठूलो पार्टी हुने गरी मत दिए । त्यतिबेला म भर्खर प्लस टु सक्दै थिएँ । म मेरै कुरा भन्छु– मलाई लाग्थ्यो, ‘अब माओवादीले केही गर्छ, देशमा विकासको मूल फुट्छ।’

प्रशान्त लामिछाने, लेखक ।

राम्रो पढाइ भएर पनि काम नपाएर हैरान भएका मेरा आफन्तहरू मैले देखेको थिएँ । मलाई लाग्थ्यो, ‘अब उनीहरू हैरान हुनुपर्दैन ।’ तर, नागरिकको हैरानी कम होइन, बढिनै रह्यो ।

पक्कै पनि २०४६ को परिवर्तनपछि नेपाली नागरिक ०६२–६३ को जनआन्दोलनपछिको परिणामले आशावादी बनेका थिए । तर, यी २० वर्ष कसरी गुज्रिए भन्ने हाम्रा अगाडि छर्लङ्ग छ ।

लोकतन्त्र स्थापनापछिको २० वर्षमा, फागुन २१ को निर्वाचन परिणामपछि नेपाली नागरिक तेस्रो पटक कुनै उम्मिद (आशा) का साथ उभिएका छन् । त्यो आशाको केन्द्र रास्वपा र त्यसको नेतृत्व बालेन–रवि हुन् । प्रधानमन्त्रीका रूपमा प्रस्तावित बालेन शाहप्रति हिमाल, पहाड र मधेसले एकैसाथ एकै प्रकारको मत दिएको छ । देशले एकैपटक सल्लाह गरेजस्तरी रास्वपालाई विश्वास दिएको छ । अब यो विश्वासलाई व्यवहारमा उतार्ने काम नयाँ सरकारको काँधमा छ ।

कुशासनले आजित नागरिकले यसपटक मत परिवर्तन गरेका हुन् । मेरो विश्वास छ– पटकपटकका राजनीतिक धोका र अविश्वासले गर्दा मानिसहरू अब कार्यकर्ताबाट स्वतन्त्र मतदातामा रूपान्तरण हुने दिशामा पुगेका छन् ।

स्टन्ट होइन सिस्टम

पुराना नेता र पार्टी बेलगाम कुशासनमा रमाए । जसका कारण विभिन्न अनियमितताका काण्डहरू घटे । बालुवाटार जग्गा काण्ड, गिरीबन्धु टी–इस्टेट काण्ड, नेपालीलाई भुटानी बनाएर अमेरिका पठाउने काण्डमा सरकारका गृहमन्त्री, पूर्वमन्त्री र बहालवाला सचिव नै सामेल हुनु, वाइडबडी, यती, ओम्नीजस्ता काण्डैकाण्ड सरकारी संरक्षणमा भए । विगतमा यस्ता अनियमितता हुनु ‘नियमितता’ जस्तै हुन थालिसकेको थियो ।

अब बन्ने शक्तिशाली सरकारले यस्ता भ्रष्टाचारका फाइल खोलेर अघि बढ्नुपर्नेछ। तर, फाइल खोल्दै गर्दा र अन्य काम गर्दै गर्दा स्टन्टमा आधारित होइन, सिस्टम (प्रणाली) मा केन्द्रित हुनुपर्छ ।

अनियमितता बन्द गर्न र सुशासनका लागि यस्तो सिस्टम बनाउनुपर्नेछ, जसले गर्दा यसपछि जसको सरकार बने पनि सिस्टमले आफैँ ‘इन–आउट’ गर्न सकोस् । होइन भने, दुई–चार भ्रष्टाचारका फाइल खोलेर मात्र केही हुनेवाला छैन ।

सरकारले अबको पाँच वर्ष काम मात्रै गर्नुपर्नेछ । कामबाहेक अर्को कुरा सोच्ने फुर्सद सरकारसँग छैन । किनभने, काम गर्न ठूलो मैदान खाली छ र दौडिँदा अवरोध गर्ने कोही छैन ।

व्यक्तिप्रधान बन्ने होइन, सिस्टमप्रधान बन्ने थिति बसाल्नु यो सरकारको मुख्य जिम्मेवारी हो । स्टन्टले क्षणिक रूपमा ‘वाहवाह’ त पाउला, तर यसले आम नागरिकलाई दीर्घकालीन समाधान दिँदैन । सरकारले हरेक क्षेत्रमा विधिले काम गर्ने सूत्र बसालिदिनुपर्नेछ, जसले गर्दा ‘पहुँच भएको’ र ‘आम मानिस’ भन्ने फरक नपरोस् ।

केही साना कुरा, जसले दैनिक प्रभाव पार्छन्

एउटा सानो तर मानिसलाई दैनिक प्रभावित गरिरहने कामको उदाहरण दिन्छु। एक वर्षअघि मैले मेरो सवारीसाधन नामसारी गर्नुपर्ने भयो । मेरो सवारी बागमती प्रदेशमा दर्ता थियो तर उक्त सवारी अर्को प्रदेशमा प्रयोगमा थियो । अर्को व्यक्तिलाई बिक्री गरेर नामसारी गर्नका लागि सवारीसाधन काठमाडौँ लिएर आएर दिनभरको लामो लाइनमा बस्नुपर्ने भयो । समयको अभाव र खर्चका कारणले त्यो गर्न सकिएन ।

तर, विदेशमा मैले सवारी किन्दा यही काम दुई जनाको मोबाइलमा रहेको एउटा एपमा डाटा इन्ट्री गर्दा केही मिनेटमै सम्भव भयो ।

हो, यस्ता सामान्य लाग्ने तर नागरिकले ज्यादै दुःख पाउने कुरा हाम्रो संयन्त्रमा भइरहेका छन् । कहीँकतै एउटै काम सजिलै भएको कति नेपालीले आफैँले अनुभव गरेका छन् भने कतिले देखे–सुनेका छन् । अनि प्रश्न उठ्नु स्वाभाविक हो– हाम्रोमा किन यस्तो हुँदैन ?

सवारीचालक अनुमतिपत्र निकाल्न हुने महाभारत अर्को कुरा भयो । यसलाई सुव्यवस्थित बनाउँदा सडक पनि सुरक्षित हुन्छ । सडक सुरक्षामा ध्यान दिनु अर्को महत्त्वपूर्ण कुरा हो । किनभने, मानिस सधैँ सडकमा हुन्छ । ट्राफिक लाइट, स्पिडिङ र ट्राफिक अनुशासनका लागि सरकारले विधि बसाल्नैपर्छ ।

स्वास्थ्य बिमालाई कसरी सरल बनाउन सकिन्छ भन्ने गृहकार्य हुनैपर्छ, जसले गर्दा उपचार खर्च नभएर मानिस तड्पिन नपरोस्। शिक्षा पाएको व्यक्तिले रोजगारी पाउने नेपाल हामीलाई चाहिएको छ।

धारामा २४ घण्टा पानी नआउने समस्या त पुरानै हो । तर, आएको समयमा स्वच्छ पानी पठाउन के गर्न सकिन्छ ? सरकारले प्रमुख रूपमा सोच्नुपर्छ । यदि धारामा आएको पानी ग्लासमा सिधै थापेर पिउन सकियो भने, विकास भनेको यही होइन र ? जब कि जारको पानी पनि उमालेर पिउनुपर्ने अवस्थामा हामी छौँ। लोडसेडिङबाट मुक्त भएजस्तै यो समस्याबाट पनि नेपाली मुक्त हुन चाहन्छन् ।

सरसफाइका काम हुन त नगरपालिकाको कार्यक्षेत्रमा पर्छन्। तर यो कति भएको छ ? यो सबैले देखेकै छौँ। फोहोरको वर्गीकरण गरेर व्यवस्थापन गर्ने भनिए पनि त्यो हुन सकेको छैन । देशभर फोहोरको वर्गीकरण गरेर सरसफाइमा ध्यान दिन जरुरी छ । सार्वजनिक शौचालयमा निर्धक्क पस्न सकियोस्, सार्वजनिक धारामा ढुक्कले पानी पिउन सकियोस्– यस्ता कुराले मानिसको जीवनस्तरमा अवश्य प्रभाव पार्छन् ।

सहरी सुन्दरतामा पार्क र हरियाली अर्को महत्त्वपूर्ण कुरा हो । सानासाना खाली जमिनलाई पनि गार्डेनिङ गरेर सुन्दर स्वरूप दिन सकिन्छ । कहीँ न कहीँबाट सुरुवात गरौँ ।

शिक्षा र स्वास्थ्यमा गर्नुपर्ने धेरै काम छन् । ती काम जसरी पनि गर्नैपर्छ । नागरिकलाई शिक्षा र स्वास्थ्यको ग्यारेन्टी संविधानमा मात्र गरेर हुँदैन, व्यवहारमै लागू गर्नुपर्छ । स्वास्थ्य बिमालाई कसरी सरल बनाउन सकिन्छ भन्ने गृहकार्य हुनैपर्छ, जसले गर्दा उपचार खर्च नभएर मानिस तड्पिन नपरोस् ।

शिक्षा पाएको व्यक्तिले रोजगारी पाउने नेपाल हामीलाई चाहिएको छ । शैक्षिक बेरोजगार हटाउन शिक्षाको पुनर्संरचना गर्नुपर्ने हो कि जब मार्केट ‘श्रम बजार’लाई विस्तार गर्नुपर्ने हो? यसमा अनुसन्धान गरौँ । अध्ययनमा विविधता ल्याऔँ । एकेडेमिक र भोकेसनल ‘व्यावसायिक’ शिक्षामध्ये कता जाने भन्ने कुरा विद्यार्थीले हाइस्कुल सक्दा नै छुट्याउन सकून् ।

नागरिकले आफ्नो जीवनस्तर विश्वस्तरको बनाउन मत दिएका हुन् भन्ने बालेन–रविले बुझ्नुपर्छ । नागरिकले सोचेजस्तो परिवर्तन भएन भने पाँचै वर्षमा पनि असन्तोष विस्फोट हुन सक्छ ।

सरकारले अबको पाँच वर्ष काम मात्रै गर्नुपर्नेछ । कामबाहेक अर्को कुरा सोच्ने फुर्सद सरकारसँग छैन । किनभने, काम गर्नका लागि ठूलो मैदान खाली छ र दौडिँदा अवरोध गर्ने कोही छैन ।

नागरिकले लोकतन्त्र स्थापनापछि २० वर्ष कुरे । यो २० वर्षमा पटकपटक मत परिवर्तन गरे । कांग्रेस, कम्युनिस्ट सबैलाई आफ्नो जनमत दिए । तर सोचेजस्तो केही भएन । अहिलेको परिवर्तन कुनै पार्टीलाई ठूलो बनाउन वा कसैलाई प्रधानमन्त्री बनाउनका लागि नागरिकले गरेका होइनन् । आफ्नो जीवनस्तर विश्वस्तरको बनाउन यो मत दिएका हुन् भन्ने बालेन–रविले बुझ्न जरुरी छ । यदि सोचेजस्तो भएन भने, यसअघि २० वर्ष कुरेका नागरिकलाई ५ वर्ष कुर्न पनि बढी हुन सक्छ । दुईतिहाइ भनेको सहज मात्र होइन, जोखिमपूर्ण बहुमत पनि हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
प्रशान्त लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?