News Summary
Generated by OK AI. Editorially reviewed.- ३० वर्षीय शिव यादवले सिरहा–२ मा फराकिलो मतान्तरले चुनाव जिते र मधेशमा ठेकेदारी प्रथा भत्किएको बताए।
- यादवले जेनजी आन्दोलनकै पृष्ठभूमिमा भएको चुनावमा सक्रिय अभियन्ता निर्वाचित हुनु अर्थपूर्ण रहेको उल्लेख गरे।
- उनले भ्रष्टाचार अन्त्य, सुशासन र युवा मुद्दा सदनमा निरन्तर उठाउने प्रतिबद्धता जनाए।
३० वर्षीय शिव यादवले सिरहा–२ मा फराकिलो मतान्तरले चुनाव जिते । उनकै तर्कअनुसार, यसपटक चुनावमा मधेशमा चल्दै आएको ठेकेदारी प्रथा र पुराना दलका गढ सबै भत्किए । स्वच्छ हिसाबले भएको चुनावमा मतदाताले असामान्य तरिकाले मत हाले ।
यो मत परिणामले मधेश प्रदेशको वैकल्पिक राजनीतिको उदयलाई पनि प्रतिबिम्वित गर्छ । अझ जेनजी आन्दोलनको पृष्ठभूमिमा भएको यो चुनावमा जेनजी आन्दोलनकै सक्रिय अभियन्ता निर्वाचित हुनु झन् अर्थपूर्ण रहेको यादवको बुझाइ छ ।
यादव आफैंमा जेनजी आन्दोलनका सक्रिय कार्यकर्ता थिए । विगत ७–८ वर्षदेखि सडक संघर्षमा रहेका उनी सामाजिक न्याय, भ्रष्टाचारविरुद्ध र युवा मुद्दामा आवाज उठाउँदै कयौं पटक गिरफ्तार भइसकेका व्यक्ति हुन् ।सामाजिक मुद्दामा बोल्दै गर्दा पटकपटक प्रहरी दमनसमेत सहे ।
हुन त, यादवका लागि यो चुनाव पहिलो होइन । यसअघि २०७९ को निर्वाचनमा पनि उनी लौरो चिह्नबाट सिरहा–२ मै चुनाव लडेका थिए । त्यतिबेला पनि मतदाताको घरदैलोमा उनी पुगेका थिए । तर पार्टीको राष्ट्रिय स्तरको प्रभाव कम थियो ।

पहिलाको चुनावको तुलनामा प्रतिस्पर्धाका हिसाबले यो चुनाव एकदमै सहज भएको अनुभव यादवको छ । रास्वपाको देशव्यापी लहरसँगै उनको जित सहज देखियो । सिरहा–२ मा उनले फराकिलो मतान्तरले जिते । चुनावी अभियानमा शिवले परम्परागत राजनीतिक शैलीलाई चुनौती दिए । पुरानै शैलीमा चुनाव जितिन्छ भन्ने भ्रम चिर्न सुरुबाटै लागिपरे ।
‘मधेशका टोल–टोलमा ठेकेदारहरूले भोटको हिसाबकिताब गर्थे, यो टोल मेरो, यो तेरो भनेर,’ उनले भने, ‘तर यसपालि जनताले स्वतन्त्र रूपमा मत दिए । पुराना पार्टीहरूले पटक–पटक विश्वासघात गरेपछि जनतामा ठेकेदारी मानसिकता तोडिएको छ ।’
मधेश प्रदेशका हरेक क्षेत्रमा यस्तो देखिएको शिवको दाबी छ । यतिसम्म कि, मधेशमा मधेशकै मुद्दा केन्द्रित गरेर उदाएका मधेशवादी दलले एक सिट पनि जितेनन् । सिंगो मधेशको एक सिटबाहेक सबै रास्वपाकै पक्षमा आयो ।
यादवको तर्क छ, विगतमा क्षेत्रीय दलहरूले मधेश मुद्दा उठाउने गरे पनि जनताले विश्वास गर्न छोडेका थिए । त्यसैले यसपालि रास्वपाले मधेश आन्दोलनलाई स्वीकार गरेको र बालेन शाहले जनकपुरकै सभाबाट दिएको सन्देशले काम गर्यो । मधेशका अधिकांश मतदाताले आफ्नो प्रतिनिधिको अनुहार बालेनमा देखेकाले पनि चुनावमा अझ सहज प्रतिस्पर्धा भएको उनको ठम्याइ छ ।
त्यसैले होला, चुनाव खर्च पनि सोचे जस्तो धेरै भएन । ‘यो पटक साढे सात लाखदेखि आठ लाख रुपैयाँ जति खर्च भयो । निर्वाचन आयोगले तोकेको सीमाभन्दा निकै तल खर्च भयो,’ उनले भने, ‘तर यसअघि सामान्य तरिकाले एक्लै लड्दा भने दुई–तीन लाख मात्र खर्च भएको थियो । यसपटक त्योभन्दा केही धेरै भयो । साथीभाइले पनि आवश्यक गाडी फ्रीमा दिए, अलिअलि नगद सहयोग गरे ।’
चुनावी प्रतिस्पर्धामा उत्रिँदै गर्दा यादवले महत्त्वाकांक्षी विकासको वाचा गरेनन् । बरु सामान्य मतदाताका आधारभूत कुरामा जोड दिए । स्थानीय समस्या समाधानमा पनि नीतिगत पहल गर्ने वाचा गरे । ‘रास्वपाले बहुमत नपाए सरकार बनाउन नसक्ने अवस्था आयो भने काम गर्न कठिन हुन्छ । त्यसैले झुटो आश्वासन दिनु हुँदैन भन्ने लाग्यो,’ उनले भने ।
तर, जब बहुमत पक्का भयो उनले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा सुधार हुने आश्वासन बाँडे । चुनावअघि दिनुपर्ने आश्वासन विजयी भएपछि दिएको उनको दाबी छ ।
जनताका अन्य अपेक्षा चाहिँ कस्तो छ ? यादवले घरदैलोमा सुनेका अनुभव बताए, ‘इमानदार नेतृत्व चाहियो । सुशासन चाहियो । सरकारी कार्यालयमा घुसखोरी र बिचौलिया सकियोस् । सरकारी स्कुल र स्वास्थ्य केन्द्र सुधार होस् । युवा विदेश जान नपरोस् । जनताले खोजेका यस्तै सामान्य आधारभूत कुराहरू नै हुन् ।’
यादवका लागि सबैभन्दा आदर्श नेता प्रदीप गिरि हुन् । उनी गिरिको विचारलाई सम्मान गर्छन् । ‘पार्टीभन्दा व्यक्ति र इमानदारिताले फरक पार्छ,’ उनले भने, ‘प्रदिप गिरि कांग्रेसमा हुनुहुन्थ्यो, म रास्वपामा छु । तर उहाँको वैचारिक बहस र इमानदारिताको म सधैं सम्मान गर्छु । मैले उहाँबाट सिक्नुपर्ने कुरा अथाहा छ ।’
प्रदीप गिरिका विगतबाट प्रेरणा लिँदै संसद्मा अब युवा र मधेशका मुद्दा सशक्त ढंगले उठाउने यादवको भनाइ छ । साथै आफू जेनजी आन्दोलनमा सक्रिय रूपमा लागेकाले पनि ती मुद्दा (जेनजी आन्दोलनको भावना) सधैं बोक्ने उनले बताए ।
‘भ्रष्टाचार अन्त्य, सुशासन, युवा राजनीतिमा प्रवेश, यी मुद्दा सदनमा निरन्तर उठाउँछु,’ यादवले प्रतिबद्धता जनाए ।

जेनजी आन्दोलनले देशलाई पाँच वर्षको राजनीतिक स्थिरता दिएको बताउँदै उनले अब डेलिभरी दिने पालो आएको बताए । बालेन शाह प्रधानमन्त्री बन्दा र रवि लामिछानेले व्यक्तिगत स्वार्थभन्दा देशको स्वार्थलाई प्राथमिकता दिएकोमा अब देशले गति लिनेमा उनी पूर्ण विश्वस्त छन् ।
‘र, अर्को कुरा फेरि दोहोर्याउन चाहन्छु– मधेशी दलहरू हारे पनि मधेशको मुद्दा अब कमजोर हुँदैन,’ उनले भने, ‘किनकि रास्वपामा मधेश आन्दोलनका युवा, दलित, मुस्लिम, जनजातिका मुद्दा बोकेका सांसदहरू आएका छन् । पार्टी नेतृत्व आफैंले मधेशप्रति प्रतिबद्धता जनाइसकेको छ । यो देश जोड्ने अभियान पनि हो ।’
अब जेनजी आन्दोलनका अगुवा शिव यादव सांसद बनेका छन् । उनले कुल ३९ हजार ५६१ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र यादवले १२ हजार ८१४ मत ल्याउँदा नेकपा (एमाले) का नवीनकुमार यादवले ६ हजार ७१३, नेकपाका मुक्तिनारायण सिंहले ३ हजार ६८०, जनता समाजवादी पार्टी (नेपाल) का सञ्जीवकुमार यादवले ३ हजार ८७ मत र जनमत पार्टीका विनोदकुमार यादवले २ हजार ३५९ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया 4