+
+
Shares
संसद्‍मा नयाँ :

महत्त्वाकांक्षी योजना बोकेर इन्जिनियर श्रीराम संसद्‍मा

अब रास्वपाको स्थिर सरकार, स्थिर नीति, इमानदार नेतृत्व र लगानीमैत्री वातावरणमा यी महत्त्वाकांक्षी सपना पूरा गर्न सकिने उनको विश्वास छ ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ चैत ३ गते २१:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ निर्वाचन क्षेत्र-२ मा इन्जिनियर श्रीराम न्यौपाने ३२ हजार ६८७ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरले निर्वाचित भए।
  • न्यौपानेले तनहुँमा फलाम प्रशोधन उद्योग, हरित हाइड्रोजन ऊर्जा प्लान्ट र सुरक्षित राजमार्ग जस्ता विकास योजनाहरु अघि सारेका छन्।
  • उनले ऊर्जा, जलस्रोत र पूर्वाधारमा विज्ञ भएर २४ घण्टा निर्माणकार्य सञ्चालन गरी विकास बजेट ९०/१०० प्रतिशत खर्च गर्नुपर्ने पक्षमा रहेको बताए।

३ चैत, काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लडेका इन्जिनियर श्रीराम न्यौपाने प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरले निर्वाचित भए । ३२ हजार ६८७ मत प्राप्त गर्दै नेपाली कांग्रेसका शंकर भण्डारीलाई दोब्बरभन्दा बढी मतले पछि पार्दै उनले जित हासिल गरे ।

न्यौपानेका अनुसार, यो विजय रास्वपाको तनहुँमा बढ्दो प्रभाव र नयाँ पुस्ताको नेतृत्वप्रति जनताको आकर्षणको स्पष्ट संकेत हो । जसरी बालेन शाह र रास्वपा केन्द्रको लहरले देशव्यापी मत आयो, त्यसरी नै तनहुँमा न्यौपानेको व्यक्तिगत छवि पनि जितको कारक बन्यो ।

न्यौपाने १४ फागुन २०७९ सालमा डा. स्वर्णिम वाग्लेसँगै रास्वपामा प्रवेश गरेका थिए । त्यसअघि भने कुनै पनि राजनीतिक दलसँग आबद्ध थिएनन् । रास्वपामा जोडिएपछि तनहुँ–१ को पछिल्लो उपनिर्वाचनमा रास्वपाको निर्वाचन परिचालन समिति संयोजकको रूपमा काम गर्दै स्वर्णिम वाग्लेलाई तनहुँ लग्न प्रमुख भूमिका खेलेका थिए ।

यसपटक पनि स्वर्णिमले तनहुँ–१ मै निरन्तरता दिएपछि न्यौपानेले पनि तनहुँ–२ बाट उम्मेदवारी दिए । तर, उम्मेदवार बन्नुअघि नै उनले आफ्ना तर्फबाट सर्वेक्षण गरे । केही स्थानीयस्तरमा प्रभाव पार्ने कामहरूमा आफूलाई प्रत्यक्ष रूपमै जोड्न थाले । आफूलाई परीक्षण गरे ।

पृथ्वी राजमार्गमा ओभरहेड क्रसिङ, लेनिङ र लाइटिङ गरी दुर्घटना न्यूनीकरण गर्ने सुरक्षित राजमार्गको अवधारणा पनि उनले अगाडि सारेका छन् ।

निर्वाचनको करिब डेढ महिना अगाडि तनहुँ–२ का ४३ वटै वडा पुगेर स्थानीयसँग भेटघाट गरेका उनले टिकट लिनुअघि नै आफ्नो स्वीकार्यता जाँचे । उनका अनुसार, यो क्रममा उनी घुम्न मात्र गएनन्, सामाजिक काम पनि गरे । सिक्लेस जलविद्युत् आयोजनाको अवलोकन भ्रमण गराए, विकट ग्रामीण क्षेत्रका सरकारी विद्यालयमा स्मार्टबोर्ड जडान गरी काठमाडौंका स्कुलसँग लाइभ कक्षा जोडे ।

यिनै प्रयासले व्यक्तिगत छवि निकै बलियो बनाएको दाबी उनको छ । इन्जिनियरिङ पृष्ठभूमिका उनले सोही लेन्सबाट हेर्दा तनहुँमा राष्ट्रियस्तरबाट गर्न सकिने धेरै काम छ । उनले रिसिङ–घिरिङ क्षेत्रमा १० हजार हेक्टरभन्दा बढी समथर सुक्खा टार देखेका छन्, जसलाई कालीगण्डकी कोरिडोर, ४३२ केभी ट्रान्समिसन लाइन, प्रशस्त पानी र नजिकैको धौबादी फलामखानीसँग जोडेर औद्योगिक हब बनाउन सकिने उनको दाबी छ ।

न्यौपानेको प्रमुख अवधारणा फलाम प्रशोधन उद्योग हो, जसमा धौबादी फलामखानीबाट कच्चा पदार्थ ल्याएर स्टिल उत्पादन गर्न सकिन्छ । सय वर्षलाई पुग्ने कच्चा पदार्थ त्यहाँ उपलब्ध रहेको दाबी उनले अनलाइनखबरसँग गरे ।

त्यस्तै कालीगण्डकीको पानी प्रयोग गरी हरित हाइड्रोजन ऊर्जा प्लान्ट स्थापना गरेर रासायनिक मल, विस्फोटक, एमोनिया उत्पादन गर्न सकिने उनको योजना छ । ठूलो सिमेन्ट उद्योग र रासायनिक मल कारखाना पनि घाम, हावा र पानीबाट सञ्चालन गर्न सकिने उनको भनाइ छ । तनहुँ हाइड्रोको २१ किलोमिटर लामो जलाशयलाई नेपालकै ठूलो बनाएर पर्यटकीय गन्तव्य, होमस्टे र गिट्टी–बालुवा उत्खनन गरी बहुउद्देश्यीय प्रयोग गर्न सकिने उनले बताएका छन् ।

पृथ्वी राजमार्गमा ओभरहेड क्रसिङ, लेनिङ र लाइटिङ गरी दुर्घटना न्यूनीकरण गर्ने सुरक्षित राजमार्गको अवधारणा पनि उनले अगाडि सारेका छन् ।

यी अवधारणा उनले उम्मेदवार बन्नुअघि नै तयार पारेका थिए र अवधारणापत्र तत्कालीन ऊर्जामन्त्री कुलमान घिसिङका साथै छ वटा मन्त्रालयका सचिवलाई बुझाएका थिए । मन्त्रालयबाट सकारात्मक रेस्पोन्स आएपछि काम अघि नबढेको अनुभव उनको छ ।

त्यसैले अब रास्वपाको स्थिर सरकार, स्थिर नीति, इमानदार नेतृत्व र लगानीमैत्री वातावरणमा यी महत्त्वाकांक्षी सपना पूरा गर्न सकिने उनको विश्वास छ ।

ऊर्जा, जलस्रोत र पूर्वाधारमा विज्ञ रहेका उनी विकास बजेट ९०/१०० प्रतिशत खर्च गर्न तीन सिफ्टमा २४ घण्टा निर्माणकार्य सञ्चालन गरी रोजगारी बढाउने र सुशासन ल्याउने पक्षमा छन् ।

यसरी उनले आफ्ना योजना सुनाउनुको आधार हो, उनको इन्जिनियरिङ र ऊर्जा क्षेत्रमा गहिरो अनुभव । तनहुँमा जन्मेका उनी गोर्खाको अमरज्योति जनता माविबाट एसएलसी गरे । पोखराको डब्लूआरसीबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ र पुल्चोक क्याम्पसबाट बीई सिभिल र जलस्रोत इन्जिनियरिङमा मास्टर्स गरे ।

विद्यार्थी जीवनमा स्वतन्त्र विद्यार्थी युनियन र नेविसंघमा सक्रिय थिए । तर, विद्यार्थी राजनीतिको तत्कालीन चरित्र उनका लागि सहज थिएन । आफ्नो प्रकृतिभन्दा फरक व्यवहार त्यसभित्र गर्नुपर्ने भएपछि उनी राजनीति छाडेर व्यवसायिक जीवनमा फर्किए । २५ वर्षको उमेरमा सरकारी जागिर छोडेर सपना पूरा गर्न उत्कृष्ट इन्जिनियरिङ कलेज खोले । २९ वर्षमा एडभान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट स्थापना गरी ९ वर्ष प्रिन्सिपल बने ।

मेलम्ची खानेपानीको सुरुङ र नागढुंगा सुरुङमार्ग जस्ता ठूला आयोजना सम्हालेका उनलाई नेपाल सरकारबाट प्रबल जनसेवा श्रीबाट सम्मानित गरिएको थियो । तर, पुरस्कार दिएको सरकारले काम गर्ने उचित वातावरण भने कहिल्यै नदिएको उनको भनाइ छ । त्यसैले काम गर्ने सम्मानित वातावरणको अभाव, भ्रष्टाचार र ढिलासुस्तीले राजनीतिमा प्रवेश गरे ।

२०६२/६३ को आन्दोलनपछि ६०१ संविधानसभा सदस्यलाई नि:शुल्क इन्टरनेट/इमेल तालिम दिए । तर, अपेक्षित सहभागिता नआएपछि प्रविधि र नेतृत्वको ग्याप महसुस गरे । अहिले जेनेरेसन जेडको आन्दोलनलाई प्रविधिसँग जोड्दै नेतृत्वले प्रविधिसँग अभ्यस्त हुन नसकेको उनको ठहर छ ।

ऊर्जा, जलस्रोत र पूर्वाधारमा विज्ञ रहेका उनी विकास बजेट ९०/१०० प्रतिशत खर्च गर्न तीन सिफ्टमा २४ घण्टा निर्माणकार्य सञ्चालन गरी रोजगारी बढाउने र सुशासन ल्याउने पक्षमा छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?