News Summary
Generated by OK AI. Editorially reviewed.- रविन महतो राष्ट्रिय स्वतन्त्र पार्टीबाट सर्लाही–२ क्षेत्रबाट ४२ हजार ५१२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
- महतोले नेपाली कम्युनिस्ट पार्टीका महेन्द्र राय यादव र राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोलाई पछि पार्दै पहिलो पटक संसदीय यात्रा सुरु गरेका छन्।
- निर्वाचनपछि महतोले विकास र सुशासनलाई प्राथमिकता दिने र सर्लाहीलाई सजेको र बलेको बनाउने लक्ष्य लिएको बताएका छन्।
२७ फागुन, सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन महतो भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । स्थापित दलका प्रभावशाली नेताहरूलाई पछि पार्दै उनले पहिलो पटक संसदीय यात्रा सुरु गरेका हुन् ।
महतोले ४२ हजार ५१२ मत प्राप्त गर्दै विजय हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका महेन्द्र राय यादवले ८ हजार ५२३ मत पाए भने राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो ५ हजार ९९२ मतमा सीमित भए । सर्लाही–२ मा लामो समयदेखि प्रभाव जमाउँदै आएका दुई ‘हेभिवेट’ नेतामाथि महतोले स्पष्ट जित निकाले ।
कविलासी नगरपालिका–१० सलेमपुर निवासी ३८ वर्षीय महतो यस क्षेत्रमा नयाँ अनुहार भए पनि जेनजी आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । उम्मेदवारी गर्दासँगै उनी स्थानीय राजनीतिमा एकाएक चर्चामा आएका थिए ।

पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा उदाएको नयाँ राजनीतिक धार र वरिष्ठ नेता बानेन्द्र शाहको लोकप्रियताले पनि उनको जितमा प्रभाव पारेको स्थानीय मतदाताहरू बताउँछन् ।
सामान्य परिवारमा जन्मिएका महतो बुवा रामपुकार महतो र आमा ललिया देवीका जेठा छोरा हुन् । स्थानीय परिवेशमै हुर्के–बढेका उनले संघर्षपूर्ण जीवन पार गर्दै संसद्सम्मको यात्रा तय गरेका हुन् ।
उनले महोत्तरीको लोहारपट्टीस्थित श्री भेरुखी माध्यमिक विद्यालयबाट २०६२ सालमा एसएलसी उत्तीर्ण गरे । त्यसपछि उच्च शिक्षाका लागि जनकपुरस्थित राजर्षि जनक क्याम्पसमा प्लस टु अध्ययन सुरु गरेका थिए । आर्थिक अवस्था कमजोर भएका कारण पढाइसँगै उनले ट्युसन पढाउने काम पनि गरेका थिए ।
प्लस टु उत्तीर्ण गरेपछि केही समय विभिन्न अवसरको खोजीमा लागेका महतोले नेपाल प्रहरीको असई (सहायक निरीक्षक) पदका लागि पनि परीक्षा दिएका थिए । तर सफल हुन नसकेपछि पढाइलाई निरन्तरता दिने निर्णय गरे र काठमाडौं पुगे ।
काठमाडौंस्थित त्रिचन्द्र मल्टिपल क्याम्पसबाट २०६९ सालमा बीएससी उत्तीर्ण गरे । अध्ययनकै क्रममा जीविकोपार्जनका लागि उनले विभिन्न काम गरे । कहिले कपडामा बुट्टा बुन्ने, कहिले विद्यार्थीलाई कलेजमा भर्ना गराउने जस्ता काम गर्दै उनले आफ्नो पढाइ अघि बढाएका थिए ।

राजनीतिमा प्रवेश गर्ने निर्णयबारे महतो भन्छन्, ‘यस क्षेत्रका जनताले परिवर्तन चाहेका बेला म उम्मेदवार बनेर आएको हुँ ।’ उनले मतदाताले आफूलाई दिएको विश्वासलाई कहिल्यै गुम्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महतोका अनुसार मतदाताले बालेनको काम र शैलीबाट प्रभावित भएर नयाँ विकल्पलाई समर्थन गरेका हुन् । ‘जनताले बालेनलाई विश्वास गरे जस्तै मलाई पनि विश्वास गर्नुभयो,’ उनले भने, ‘त्यो विश्वासलाई म कहिल्यै गुम्न दिन्नँ ।’

निर्वाचन परिणामसँगै सर्लाही–२ मा लामो समयदेखि प्रभाव जमाएका नेताहरूलाई पछाडि पार्दै नयाँ पुस्ताको प्रतिनिधित्व संसद्मा पुगेको विश्लेषण गरिएको छ । यस क्षेत्रबाट पटक–पटक सांसद र मन्त्री बनेका महेन्द्र राय यादव तथा पूर्वसांसद राजेन्द्र महतोलाई पराजित गर्नु महतोका लागि ठूलो राजनीतिक उपलब्धि मानिएको छ ।
निर्वाचनपछि महतोले विकास र सुशासनलाई प्राथमिकतामा राख्ने बताएका छन् । ‘मान्छेले सडेको सर्लाही र गलेको मलंगवा भन्थे,’ उनले भने, ‘म सजेको सर्लाही र बलेको मलंगवा बनाउने लक्ष्य लिएर आएको छु ।’
प्रतिक्रिया 4