२६ फागुन, पोखरा । २०७९ मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुँदा योगेश गौचन २९ वर्षका मात्रै थिए । गण्डकी प्रदेशको हिमाली जिल्ला मुस्ताङबाट चुनाव जितेर गएका योगेशले पूरा कार्यकाल बिताउन पाएनन् ।
जेनजी आन्दोलनपछि २१ फागुनमा भएको चुनावमा पनि पार्टीले उनै योगेशलाई टिकट दियो । बाबु रोमी गौचन थकालीको राजनीतिक तथा व्यावसायिक विरासतको जगमा दोस्रो पटक मैदानमा उत्रिएका योगेशले चुनावी अभियानमा भन्थे, ‘देशमा नवयुवाले विद्रोह गर्नु अगाडि नै हामीले मुस्ताङबाट त्यस्तै आन्दोलन छेडेर आएका हौं ।’
२०७९ को चुनावमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा र प्रदेशसभामा तीनै जना युवाले जितेका थिए ।
‘अब राजनीतिक नेतृत्व र देशको शासन सत्तामा युवा पुग्नुपर्छ भनेर हामीले मुस्ताङमा एक किसिमको आन्दोलन नै गरेका थियौं र सफल पनि भयौं,’ कांग्रेसका प्रदेश सांसद विकल शेरचन भन्छन्, ‘देशमा भदौ २३ र २४ गते जेनजी आन्दोलन भयो र उनीहरूले युवा आउनुपर्छ भने, फेरि हामीले योगेशलाई नै टिकट दियौं र जित्यौं ।’
२९ वर्षीय योगेश चुनाव जितेर नीति निर्माण तहमा पुग्दा यसअघि संघीय संसद्कै सबैभन्दा कान्छा उम्मेदवार बनेका थिए । कांग्रेसले युवा भएका कारण चुनाव जितेको दाबी गरे पनि योगेशले जित्नुका अन्य कारण अझै बलिया छन् ।
उनले जित निकाल्नुको कारणमध्ये एउटा उनीसँग राजनीतिक तथा व्यावसायिक विरासतको बलियो आधार थियो । उनका बाबु रोमीले मुस्ताङमा राजनीतिक रजगज मात्रै गरेका थिएनन्, नेपाली कांग्रेस भित्रै उनी हक्की स्वभावका नेता हुन् ।
नेतृत्वसँग आँखा जुधाएर प्रश्न गर्नसक्ने नेताको परिचय बनाएका रोमीकै वरिवरि लामो समय मुस्ताङको राजनीति घुमेको थियो । योगेशले दोस्रो पटक चुनाव जित्नुको अर्को कारण आर्थिक रूपमा सम्पन्न हुनु हो । ‘मुस्ताङमा थोरै पैसा हुनेले चुनाव लड्नै सक्दैन,’ मुस्ताङका एक कांग्रेस नेताले भने, ‘गौचन परिवारले लामो समयदेखि पर्यटन तथा होटल व्यवसाय गरिरहेको छ र आथिक रूपमा समेत सम्पन्न छ । जसको प्रभाव मुस्ताङमा पर्छ ।’
योगेशले चुनाव जित्नुको अर्को कारण भूगोल र पारिवारिक सम्बन्ध पनि हो । एमाले उम्मेदवार तथा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ईन्द्रधारा विष्ट लोमान्थाङका हुन् भने योगेश लेतेका । मतादाता संख्याका हिसाबले पनि तल्लो मुस्ताङमा बढी छ भने त्यहाँ अधिकांश थकालीसँग योगेशको पारिवारिक सम्बन्ध नै छ । जसका कारणले पनि योगेशलाई जित्न सजिलो बनेको कांग्रेसी नेताहरूको भनाइ छ ।
अघिल्लो पटक २९ वर्षको उमेरमै चुनाव जितेका गौचनले आफूले काम गर्नै नपाएको बताउने गरेका थिए भने देशमा युवाको माग भएकाले आफू फेरि चुनावी मैदानमा होमिएको बताउने गरेका थिए । युवाप्रतिको आकर्षण, बुबाकै नेतृत्वमा प्राप्त नेपाली कांग्रेसको राजनीतिक विरासत र आर्थिक सबलताका कारण पनि योगेशलाई चुनाव जित्न सहज बनेको विश्लेषण कांग्रेसको छ ।
मुस्ताङमा उम्मेदवारहरू पनि ८ जना थिए । जसका कारणले कांग्रेसलाई नआउने मत बाँडिदा पनि योगेशलाई फाइदा नै हुन पुग्यो । नयाँ पार्टीका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको देशैभरि लहर देखिएको भए पनि पारिवारिक तथा राजनीतिक प्रभावले बढी काम गरेको मुस्ताङलाई यसले ठूलो असर पार्न सकेन ।
योगेशले ३ हजार ३०७ मत ल्याएर दोस्रो पटक संसद् यात्रा तय गर्दा निकटतम प्रतिस्पर्धी ईन्द्रधारा विष्टले १ हजार ८०६ मत प्राप्त गरेका थिए । २०७४ सालमा नेकपा एमालेबाट प्रदेशसभामा विजयी विष्ट अघिल्लो पटक प्रदेशसभामै पराजित भएका थिए र एमालेले फेरि उनैलाई टिकट दिएको थियो । त्यसको समेत फाइदा उठाउँदै योगेशले १ हजार ५०१ अन्तरले जित निकाले ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७५९ मत पाए । २०७९ मा योगेशले ३९९६ मत ल्याएर विजयी भएका थिए । बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका योगेशले मुस्ताङको विकासमा योगदान गर्न सक्ने विश्वास त्यहाँका नागरिकले लिएका छन् ।
‘कोरोला नाकाको बाँकी काम पनि योगेश सांसद भएर छिटो पूरा गर्न सक्छन् । अन्य विकास निर्माणमा पनि उनले नेतृत्व गर्न सक्छन् । उनी युवा पनि हुन् र सांसद भएर भ्रस्टाचार गर्ने, दुई पैसा कमाउँ भन्ने लोभ नभएकाले मतादाताले आशा र भरोसा गरेका हुन्,’ प्रदेश सांसद विकलले भने, ‘कांग्रेसले पहिले पनि मुस्ताङको विकासमा गरेको योगदान गरेका छन्, योगेशले लिएको नेतृत्वसँग पनि खुसी थिए र फेरि जिताए ।’
झण्डै ४ दशक मुस्ताङको राजनीतिमा रजगज गरेका कांग्रेस नेता रोमी गौचन थकालीले नै अघिल्लो पटक छोरालाई टिकट दिलाएको भन्दै केहीले प्रश्नसमेत उठाएका थिए । तर रोमीले मुस्ताङकै आकांक्षीले योगेश नै अब्बल छन्, अरू उठेर जितिँदैन भनेरै उठाएको बताउने गरेका थिए ।
यसपटक रोमीको नाम समानुपातिक सूचीमा थियो भने प्रत्यक्षतर्फ टिकट फेरि योगेशले नै लिएका थिए । तर बाबु–छोरा नै समानुपातिक र प्रत्यक्षमा उठेको भन्दै विरोध भएपछि रोमीले आफूलाई समानुपातिक सूचीबाट हटाउन निवेदन दिएको बताएका थिए ।
२०७४ सालको निर्वाचनमा एमाले प्रेम तुलाचनले हराएपछि २०७९ को चुनावमा रोमीले छोरा योगेशलाई अगाडि सारेका हुन् ।
निर्वाचित योगेशका बुबा रोमीले चार दशक बढी कांग्रेस मुस्ताङको राजनीतिमा एकछत्र पकड कायम राखेका थिए । रोमीले २०५६ र २०७० सालमा निर्वाचनमा जितेका थिए । पूर्वमन्त्रीसमेत रहेका रोमीले २०६४ र २०७४ मा चुनाव हारेका थिए ।
नवनिर्वाचित योगेशका हजुरबुबा भने पञ्चायती व्यवस्थाका पक्षधर थिए । मुस्ताङका प्रधानपञ्च तथा कट्टर राजावादी परिवारका रोमी २०३४ सालतिरदेखि कांग्रेसमा आवद्ध भएका थिए ।
योगेशले चीनको सिमानामा रहेको कोरला नाका सञ्चालन गर्न चीनसँग कूटनीतिक पहल गर्ने, त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिने बताएका छन् । जोमसोम–कोरला सडक कालोपत्रे गर्ने र बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने मतदातासमक्ष प्रतिवद्धता गरेका थिए । चीनको तिब्बतसँग जोडिएको मुस्ताङ धेरै संवेदनशीलसमेत भएकाले यसको विविधता र महत्वलाई जोगाइराख्न कूटनीतिक पहल गर्नेसमेत उनको जोड थियो ।
यसअघि चुनाव जितेपछि योगेश एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्टको युवा समिति अध्यक्षमा निर्वाचितसमेत भएका थिए ।
एसिया–प्रशान्त र मध्य एसियाका ३० वटा राष्ट्रिय समितिका सांसदहरू मिलेर बनेको क्षेत्रीय सञ्जालमा जोडिएका योगेशले मुस्ताङलाई अन्तर्राष्ट्रिय रूपमै जोड्ने कामसमेत गर्ने विश्वास मतदाताले गरेको उनीहरू बताउँछन् ।
प्रतिक्रिया 4