News Summary
Generated by OK AI. Editorially reviewed.- विशेष निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना कांग्रेस र कम्युनिस्ट दलप्रति अविश्वासको पूँजी प्रयोग गरी बलियो आम वैधता हासिल गर्यो।
- कांग्रेस र कम्युनिस्टले विचारहीन राजनीतिक व्यवहारले समाजलाई दलीयकरणको घातक सिकार बनाएको र आम जनताको वितृष्णा बढाएको छ।
- निर्वाचनबाट प्राप्त वैधताको उपयोग लोकतन्त्र मजबुत पार्न वा दक्षिणपन्थी दौडमा सामेल हुन हुने प्रश्न अनुत्तरित छ।
विशिष्ट चरित्रसहितको ‘जेनजी आन्दोलन’ पश्चात् सम्पन्न विशेष निर्वाचनको परिणाम तिनै विशिष्टताबाट प्रभावित भयो । यस मतादेशलाई गहिराइमा बुझ्न समय लाग्छ ।
तत्कालै देख्न सकिने चार अन्तरसम्बन्धित संकेतबारे भने विमर्श थाल्नु अत्यवाश्यक छ ।
एक– राजनीतिक र सामाजिक आन्दोलनको ऐतिहासिक विरासत भएका कम्युनिस्ट एवं लोकतान्त्रिक पार्टीहरु एकमुष्ट खारेज भएका छन् ।
दुई– सात साल यताका आन्दोलनका सावाँ–ब्याजका हिसाब गरिरहने तर हिजोका कुनै वैचारिक मानक अनुसारको व्यवहार गर्न नसक्ने ती दलप्रतिको अविश्वसनीयता नै नयाँ राजनीतिक दलको पूँजी बन्यो ।
तीन– त्यसरी आर्जित हुन पुगेको आक्रोश, अविश्वास एवं वितृष्णाको पूँजी डिजिटल आमवृत्तमा परिचालन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सफल रह्यो ।
चार– निर्वाचनबाट प्राप्त अत्यन्त बलियो आम वैधताको नयाँ पूँजी लोकतन्त्रको मजबुतीमा खपत हुन्छ वा दुनियाँभर देखिएको दक्षिणपन्थको दौडमा सामेल हुन उपयोग गरिन्छ, प्रश्न अनुत्तरित छ ।
पहिलो बुँदाबाट कुरा थालौं ।
नेपाली कांग्रेस वामपन्थी रुझान भएको गैरकम्युनिस्ट पृष्ठभूमिबाट निर्मित राजनीतिक पार्टी थियो । भारतको लोकतान्त्रिक आन्दोलनमा सहभागी नेताले ऊबेला चल्तीमा रहेको समाजवादको दीक्षा ग्रहण गर्दै रचेको राजनीतिक संरचना थियो कांग्रेस ।
समयक्रममा कांग्रेसले सो वैचारिक धरातलको गम्भीरता र गहिराइसहित अद्यावधिक गरेन। यस दलमा सक्रिय अत्यन्त सानो संख्याका नेता मात्र वैचारिकता र सो अनुसारको राजनीतिक व्यवहारमा चिन्तनशील रहे। ती अल्पसंख्यक वैचारिक नेताले गर्न खोजेका सानातिना हस्तक्षेपहरू निस्तेज भए।
देशका जटिल राजनीतिक मोडमा व्यावहारिक रूपमा मारिएका फड्कोलाई समेत पार्टीको वैचारिकीमा गाल्ने काममा कांग्रेस असफल रह्यो। ती महत्वपूर्ण व्यावहारिक छलाङअनुरूप संगठनलाई आकार दिन गिरिजाप्रसाद कोइराला एवं शेरबहादुर देउवा दुवै असफल रहे।
कोइराला र देउवा निर्वाचन जित्ने रणनीति बनाउन, पार्टी भित्रका प्रतिस्पर्धीलाई ठेगानमा राखेर आफैं शक्तिसम्पन्न बन्न र संसद्को अंकगणितीय खेलमा दण्डभेदका अनेक तिकडम रच्न सिपालु खेलाडी थिए। वैचारिकता र सो अनुसारको व्यावहारिकतामा खरो उत्रन भने सर्वथा असफल।
नेपाली राजनीतिमा देखा परेका र अद्यापि प्रभावी रहेका दर्जनौं विकृतिका संस्थापक र सफल प्रयोक्ता हुनु नै कांग्रेस नेतृत्वको मुख्य पहिचान बन्यो। हालसालै फेरिएको भनेर दाबी गरिएको गगन–विश्वप्रकाश नेतृत्वको कांग्रेसप्रति विश्वसनीयता बढ्न नसक्नुमा कांग्रेसको विचारहिनताको लामो इतिहास कारक छ।
नेपालका कम्युनिस्ट पार्टीका दुःखका लामा फेहरिस्त बनाउन सकिन्छ। आफ्ना नाममा मार्क्स, लेनिन, समाजवाद, साम्यवाद इत्यादि लेखाइरहनु कतिपय कम्युनिस्ट नामधारी पार्टीको बाध्यता हो। कतिपयले यी सबै नामको जपना मात्रलाई आफ्ना शुद्धताको दसीका रूपमा पेस गरिरहे, क्रान्ति भने गरेनन्।
खासगरी एमाले र माओवादीका नाममा परिचित मूलधारका दुई प्रभावी दलका समग्र धमनीमा नेपाली कांग्रेसले प्रादुर्भाव गरेका विकृत व्यवहारवाद थप विकृत बनेर फैलियो। त्यसका साथै, कांग्रेसमा भन्दा स्पष्ट र ठूलो घनत्वमा महेन्द्रीय राष्ट्रवाद एवं नश्लीय बहिष्कारवादी चरित्र एमालेमा देखिन्थ्यो।
प्रचण्ड नेतृत्वको माओवादीले अपनाएको अत्यन्त भद्दा व्यवहारवादले उसले दर्शाउने गरेको वामपन्थी लोकतन्त्रप्रतिको ओठे भक्तिमा धमिरा फैलिएर कम्युनिस्ट र माओवाद जस्ता शब्दप्रति नै आम चिड्चिडाहट उत्पन्न भयो। नेपाली समाजको रुपान्तरण गर्ने नाममा त्यत्रो समर लडेर आएको पार्टीको समूल वैचारिकता अन्ततः प्रचण्डका सत्ताखेलका केही दर्जन तिकडम संग्रहमा परिणत भयो।
केपी ओलीले पछिल्ला केही वर्ष आम जनताप्रति देखाएको ठाडो हेपायती, राष्ट्रवादी लफ्फाजी र विकासका असंगत र खोक्रा नाराहरूले खासगरी दुई पदको गरिमा धुलिसात बनाइदियो– कम्युनिस्ट पार्टीको निर्वाचित प्रमुख एवं संसद्बाट निर्वाचित प्रधानमन्त्रीको पद।
आइन्दा कति वर्ष कुनै कम्युनिस्ट नाम गरेको पार्टीको अध्यक्ष पदमा आसिन मान्छेले निर्वाचित भएर प्रधानमन्त्री पद लिन्छु भन्दा सोही अविश्वसनीयताको सिकार बन्नुपर्ने ओलीले निश्चित गरिदिएका छन्।
राजनीतिक व्यवहारवादको अत्यन्त भद्दा प्रयोग गरेका मूलधारका कांग्रेस र कम्युनिस्ट दुवैले एउटै काम सफलतापूर्वक सम्पन्न गरे– समग्र नेपाली समाजको विद्रुप दलीयकरण। समाज सञ्चालनका निम्ति निर्मित समग्र संस्था दलीयकरणको घातक सिकार भए।
किसानले बीउ पाउनु परे दलकै अगुवाको पछुवा हुनुपर्ने, रोगीले रोगको निदान खोज्न नेताकै फेर समातेर कुद्नुपर्ने। जो यसो गर्न मञ्जुर हुँदैन वा जसको दलसम्म पहुँच पुग्दैन, ऊ सधैं किनारीकृत हुने र आफ्नै पुर्पुरोलाई दोष दिएर संकट सहनुपर्ने अवस्था उत्पन्न भयो।
हरेक सरकारी कार्यालय र संस्थान जनतालाई कसरी सास्तीमा राखेर कज्याउन सकिन्छ भन्ने पञ्चायती मानसिकताबाट कहिल्यै मुक्त भएनन्। सोही मानसिकतालाई दलका नेताले ‘जनताको काम गरिदिएको’ भान पार्न उपयोग गरे।
आम जनतामा सरकारी एजेन्सीबाट नपाउनु दुःख पाएपछि दलका नेता गुहार्ने बाध्यता नरहे आफैं असान्दर्भिक भइन्छ भन्ने कांग्रेस, एमाले र माओवादीका नेतालाई सधैं लागिरह्यो। त्यसैले सामान्य सेवा प्रवाह चुस्त बनाउनसमेत उनीहरूले काम गरेनन्।
विचारहीन राजनीतिक व्यवहारवादले उनीहरूलाई त्यति आधारभूत काम गर्नबाटसमेत रोकेको थियो। अत्यन्त सामान्य अपेक्षा पनि पूरा गर्न नसकेकैले कांग्रेस, एमाले र नेकपा यो चुनावबाट अनुमोदित हुन सकेनन्, करिब खारेजीमा परे।
दोस्रो बुँदा–
राजनीतिक व्यवहारवादको एउटा मूल मन्त्र संगठनको पुछारसम्म प्रसारित थियो– शक्तिमा पुग्न चुनाव जित्नुपर्छ, चुनाव जित्न पैसा चाहिन्छ, पैसा थुपार्न कमिसनको मेहेरो निर्माण नगरी सम्भव छैन। नक्कली भुटानी शरणार्थी काण्डदेखि सत्तरी करोड काण्डसम्ममा नेताहरूको स्पष्ट संलग्नता विचारहीन राजनीतिक व्यवहारवादको स्पष्ट अभिव्यक्ति हो।
दशकौं सत्ताधारी बनेका कांग्रेस र कम्युनिस्टका यिनै विचारहीन राजनीतिक यात्राबाट आजित भएका आम जनता यी दुवैथरीबाट थकित भए। उनीहरूको थकान विस्तारै यी दलका नाम, यिनले औपचारिकता निम्ति प्रयोग गर्ने सैद्धान्तिक जार्गन, यिनका नारा र यिनले कर्मकाण्ड निम्ति जारी गरेका घोषणापत्रप्रति चरम वितृष्णामा रुपान्तरण भयो।
विकास गरेको गफ जतिसुकै प्रचार गरे पनि यी दलका बहुसंख्यक नेतालाई जनताले पत्याउन सकेनन्। सोही वितृष्णाका कारण हिजो यी दलका नाममा भएका सामाजिक एवं राजनीतिक आन्दोलनप्रति समेत पछिल्लो पुस्तामा गहिरो सन्देह उत्पन्न हुन थाल्यो।
त्यही अविश्वसनीयता, सन्देह र वितृष्णाको विष्फोट जेनजी आन्दोलनमा भयो। आन्दोलनको परिणामस्वरूप हुन पुगेको यस विशेष निर्वाचनमा सो ऐतिहासिक विरासत चुनावी व्याज उठाउनसम्म नसक्ने संकथनमा पतित भयो ।
राजनीतिक मूलधारमा दशकौँ रजगज गरेका दलका यिनै असफलता र उनीहरूको बदनामी रास्वपाको सग्लो पूँजी बन्यो। सोही पूँजीको सानो अंश विद्युतीय सामाजिक सञ्जालमा उपयोग गर्दै चार वर्षअघि बालेन काठमाडौंका मेयर बनेका थिए। साथै, रास्वपा पार्टीको उदयका निम्ति पनि सोही पूँजीको उपयोग सर्वथा उपयोगी सावित भएको थियो।
आफ्नो बदनामी र आफैंप्रतिको अविश्वसनीयताबाट निर्मित सो पूँजी घटाउने उपक्रममा नेपाली कांग्रेस, एमाले र नेकपा पटक्कै लागेनन्। बरु रास्वपाले सहजै उपयोग गर्न सक्ने पूँजीमा ज्यामितीय वृद्धि गरिदिने मानौं उनीहरूको ध्याउन्न हो । यी दलका शीर्षस्थहरू सत्ताको म्युजिकल चेयरको तमासा रच्न र रचिरहन मग्न रहे।
जनतालाई सहजै झुक्याउन सफल भएकोमा मुकुरमुकुर गरिरहे र सत्ताको तरमा ठाडो र भद्दा छिनाझपटी प्रदर्शन गरिरहे। पहिल्यै आजित जनतामा र खासगरी युवाहरूमा यसबेलासम्म उनीहरूप्रति घृणा उत्पन्न भइसकेको थियो।
जनतामा छाएको निराशा नेता र नेतृत्वप्रति घृणाको तहमा बाक्लिएको अन्दाज गगन थापा र विश्वप्रकाश शर्मा, घनश्याम भुसाल र राम कार्की, उषाकिरण तिम्सेना र मानुषी यमीहरूमा थियो। यीमध्ये केहीले मुखर भएर आ–आफ्ना दलमा यी समस्या उठाए र नेतृत्वको रवैया औंल्याएर प्रश्न गरे।
यहाँ दोहोर्याउन आवश्यक छैन, केपी ओलीले प्रश्न सुन्न चाहेनन् मात्र होइन, प्रश्न उठाउने सबैलाई कारबाहीको डन्डा चलाए। पार्टीको तानाशाह प्रमुख बनेर उनले पार्टीलाई आफ्ना चाकडहरूको बगालमा रुपान्तरण गरे।
लेखपढ र चिन्तन मननमा रुचि प्रदर्शन गरिरहने प्रदिप ज्ञवाली र शंकर पोखरेलहरू पक्कै पूरै बेखबर थिएनन् होला। तर उनीहरूले आफ्नो सग्लो वैचारिकी र राजनीतिलाई पछिल्ला केही वर्षदेखि दलाधीशको चाकडीमा पूर्णतया समर्पण गरिसकेका थिए। ओलीले चलाएका तानाशाही डन्डाको बचाउ गर्नमै उनीहरूले आफ्नो बुद्धिको दुरुपयोग मात्र गरिरहे।
गगन र विश्वप्रकाशहरूलाई पार्टी रुपान्तरणमा परिणाममुखी हुन जति समय लाग्यो, त्यसको मूल्य असाध्यै चर्को बन्यो। उनीहरूले आफ्नो सफलताको सार्वजनिक आह्वान गर्ने बेलासम्म जनतामा उत्पन्न घृणाभाव रास्वपाका निम्ति अत्यन्त प्रभावी डिजिटल पूँजीमा परिणत भइसकेको थियो।
तेस्रो बुँदा–
सामाजिक सञ्जालले प्रेम, कोमलता, सदभावभन्दा कयौं गुणा बढी घृणा र हिंसा फैलाउँछ । मिम होस् वा रिल, टिकटक भिडियो होस् वा एआई निर्मित तस्वीर, यी सबैको चौबीस घन्टे प्रसारबाट जनतामा उत्पन्न घृणाभावको घनत्वमा वृद्धि भयो। ती घृणाका स्रोत बनेका दलका नाम, नेतृत्व र तिनले भन्ने गरेको गौरवशाली इतिहासप्रतिको विकर्षण त्यसरी नै फैलिँदै र गहिरिँदै गयो।
पुराना पुस्ताले वर्षौंदेखि सुन्दै आएका भाष्यमा अर्थ देख्न छोडे। विगतका राजनीतिक आन्दोलन र संघर्ष प्रत्यक्ष नदेखेका नवयुवामा उनीहरूप्रति विश्वास उत्पन्न हुनै सकेन।
आफ्ना आँखा अघिल्तिर गरिएका व्यवहार, आफैंले दैनन्दिन जीवनमा भोगेका कठिनाइ र आफ्ना अनिश्चित भविष्यप्रति गरिएका घातक खेलवाड थाहा पाएका उनीहरूले कसरी ऐतिहासिक विरासतको कथा पत्याउन् ?
कसरी विश्वस्त होउन्, टोपबहादुर रायामाझी समाज रुपान्तरणको त्यो महासमरमा इमान्दारीपूर्वक लडेका जोदाहा लडाकु हुन् भन्ने ? कसरी भरोसा गरुन् उही बालकृष्ण खाँणलाई जो नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कमिसनखोरी प्रपञ्चमा मुछिएको छ ?
यी सबै अपराधीलाई एक्सपोज गरेर सजाय दिएको दाबी प्रस्तुत गरिरहेको प्रचण्डका गफ कसरी पत्याउन् जब उनले सत्ताको म्युजिकल चेयर मात्रलाई आफ्नो राजनीतिको समूल उद्देश्य बनाएको सतहमा प्रष्टै देखिन्छ ?
कसरी सहून् उही ओलीको चर्को दम्भलाई जो सोझै गिरिबन्धु टी इस्टेट कान्डको मुख्य खेलाडी हो ? अनि, आफू सरकार प्रमुख भएका बेला गोबरग्यासबाट १० घरमा पाइप जडान गरिएको घटनालाई आफ्नै सफलता मानेर प्रचार गर्ने उही प्रधानमन्त्रीले आफैं सत्तामा भएका बेला आन्दोलनमा मारिएका किशोरहरूको मृत्युप्रति आफू पटक्कै जिम्मेवार छैन भनेको कसरी स्वीकारुन् ?
यही अपत्यार र अस्वीकार्यता टिकटक र युट्युब, फेसबुक र ट्विटर, रिल र मिमका प्रभावकारी सामाग्री बने।
यसैबीच तीन दल र तीन शीर्षस्थको विकल्पको खोजी तीव्र भयो। यद्यपि, रास्वपा मात्र विकल्पका रूपमा अघि आएको भने होइन। राजनीतिक विकृति र समस्याका सैद्धान्तिक सन्धान गरेको र त्यसबाट बाहिर निस्कने उपाय आफूसँग भएको भनेर केही कम्युनिस्ट रुझानका समूहहरूले अनेक गतिविधि नगरेका होइनन्।
दल निर्माणकै केही कोसिस पनि नभएका होइनन्। यस्ता प्रयत्न गर्ने केही नेता र पार्टीले सामाजिक सञ्जालका युट्युब, टिकटक र न्यू मिडिया भनिने च्यानलहरूको उपयोग गरेर दैनिकजसो अन्तर्वार्ता प्रसार नगरेका पनि होइनन्। तर तिनले प्रयोग गरेका उस्तै सुनिने कम्युनिस्ट शब्दावली र पार्टीका उस्तै नामहरूले आम नेपालीमा ठूलो आकर्षण पैदा गर्न सकेनन्।
ज्ञानेन्द्र शाही र रवीन्द्र मिश्रहरू पनि विकल्पकै रूपमा ‘पृथ्वीपथ’ र ‘विचारभन्दा माथि देश’ भन्दै सुनिइन र देखिइन नखोजेका होइनन्। दुर्गा प्रसार्इंहरूले नानाभाँती तमासाका कर्कश आवाज फैलाएकै थिए। तर गणतन्त्र ल्याउन लडेको ब्याज उठाउनमा काबिल नेतृत्वको सबैभन्दा प्रभावकारी विकल्प रास्वपा नै बन्यो। कारण, उसले ‘एल्गोरिदम’को दौड जित्यो। सञ्जालमा फैलिएको कांग्रेस–कम्युनिस्ट घृणालाई ‘एल्गोरिदम’को प्रभावकारी र चलायमान पूँजी बनाउने सवालमा ऊ सबैभन्दा अब्बल ठहरियो।
‘एल्गोरिदम’को दौड जित्न सम्भवतः सबैभन्दा प्रभावकारी हतियार बालेनको ‘डिजिटल पर्सोना’ बन्यो। मेयर लड्दै गर्दा कालो चस्मा र कालो पहिरन, चिटिक्क दाह्री र फेसबुकमा लेखिने छोटा सन्देशमार्फत निर्मित उनको इमेज एकदमै प्रभावकारी औजार बनेको थियो।
नेपाली समाज र इतिहाससम्बन्धी ‘अनक्रिटिकल पेडागोजी’का साथै बदनाम दलाधीश एवं नेतृत्वको विरोध प्रचार गरेर पहिल्यैदेखि एकदमै लोकप्रिय बनेको ‘रुटिन अफ नेपाल बन्द’ जस्ता फेसबुक पृष्ठबाट बालेनको ‘डिजिटल पर्सोना’ व्यापक बनाइएको थियो। ‘एल्गोरिदम’ र विद्युतीय सञ्जालको खेल तमासाका अन्तर्य बुझेका र त्यसलाई आफू अनुकूल प्रयोग गर्नसक्ने तन्नेरीको सानो तर प्रभावकारी समूहले यसमा मेधापूर्वक काम गरेको तथ्य यसअघि नै सार्वजनिक भइसकेको हो। यसरी निर्मित डिजिटल पूँजीको सुझबुझपूर्ण उपयोगले रास्वपा दुई तिहाइ बराबरको मत ल्याएर आफ्नो पक्षमा आम वैधता मजबुत बनाउन सफल भयो।
चौथो बुँदा–
अब प्रश्न उठ्छः निर्वाचनबाट हासिल गरेको मजबुत आम वैधताको यो पूँजी कसरी उपयोग गरिन्छ ? दलतन्त्र निःसृत समग्र संस्थाहरूको बेहिसाब दलीयकरणले साँघुरो बनाएको लोकतन्त्र फैलाउन यो वैधताको उपयोग हुन्छ वा भएको लोकतन्त्रको धिपधिपे पनि निभाउन यसको दुरुपयोग हुन्छ ? पुराना दलले विचारधाराको सवालप्रति नै उत्पन्न गराएको चिड्चिडबाट वशिभूत पत्रकार र बुद्धिजीवीले ‘वाद’ र विचारधारा बेकार हो भन्ने सग्लो संकथन नै प्रचार गरेको याममा रास्वपालाई सोध्नै पर्ने प्रश्न भने विचारधाराकै हो।
अनेक संकटले घेरिएर घिटिघिटी भएको र कसैले नजित्ने अर्थहीन युद्धको भुमरीमा रुमल्लिएको वैश्विक पूँजीवाद र दिन प्रतिदिन मक्किएर नष्ट हुन लागेको नवउदारवादी अर्थतन्त्रकै एउटा सानो हाँगो बन्ने हो भने, आम वैधताको पूँजी तानाशाह उत्पन्न गर्न उपयोग हुने प्रबल सम्भावना छ।
कुनै एउटा भलाद्मी रास्वपा नेताले नचाहेर वा सुरिलो स्वरमा त्यसो होइन भन्ने ओठे दाबी प्रस्तुत गरेर त्यो दौड रोकिँदैन। त्यसभन्दा अलग काल्पनिकी छ र लोकतन्त्रलाई आम नेपालीको जीवन रुपान्तरणको ऊर्जा बनाउने हो भने, त्यसबारे पेचिला प्रश्नहरू सोध्नै पर्छ। रास्वपाको घोषणापत्रका सय बुँदाले त्यस्तो नयाँ काल्पनिकी प्रकट गरेको देखिँदैन। त्यसैले विचारधारासँग जोडिने प्रश्नहरू प्रायः अनुत्तरित छन्।
यति भनिसकेपछि अब छिट्टै सत्ताधारी बन्ने रास्वपालाई केही जरुरी प्रश्नहरू सत्ता नसम्हाल्दै सोधौं– मधेशमा प्रकट रूपमा फैलिरहेको हिन्दुत्ववादको प्रभाव रोक्ने रास्वपासँग कुनै योजना र कार्यक्रम छ? वा, सोही गेरुवा राजनीतिको उपक्रमलाई उकेरा लगाएर मधेशमा अहिलेभन्दा ठूलो राजनीतिक पकड बनाउने मनसुवा छ ?
मधेशका मुस्लिमप्रतिको दृष्टिकोणमा मधेशकै हिन्दुत्ववादीभन्दा रास्वपाको अलग विचारधारा छ भने, त्यो के हो ? बालेनले छोटो भाषणमा उच्चारण गरेको राजा महेन्द्रको वाणी केवल भाषणको रोगन मात्र हो वा महेन्द्रीय राष्ट्रवादमा गहिरो विश्वास ?
पञ्चायती राष्ट्रवादमा साँचो विश्वास हो भने, मधेशकै बलिदानबाट प्राप्त संघीयता र मधेशको मुक्तिसँग त्यस्तो आस्था कसरी मेल खान्छ ? वा, बालेनको व्यक्तिगत राजनीतिक आस्थाको रास्वपामा कुनै माने हुँदैन ? संविधानको उपलब्धि मानिएको धर्म निरपेक्षको प्रावधानमा प्रयुक्त सनातन धर्मको घनत्वलाई बाक्लो बनाउँदै सो प्रावधान नै खारेज गर्नतिर रास्वपा लाग्ने छैन भनेर विश्वस्त हुने आधार कति बलिया छन् ?
भोलि फेरि कोशी भनिने प्रदेशको नामकरण वा मुक्कुमलुङ संरक्षण गर्न जनजाति केन्द्रित जनपरिचालन भयो भने, त्यसलाई कसरी सम्बोधन गर्नेछ रास्वपा सरकारले ? त्यसलाई शान्ति सुरक्षाको साँघुरो लेन्सबाट हेर्दै विकास अवरुद्ध गरेको बहानामा दमन गरिन्छ वा जनजातिको पहिचान र पर्यावरणीय सवालको गम्भीरता समेतलाई गालेर लोकतन्त्र फैलाउने खाका अघि सारिन्छ ?
निजगढको विमानस्थल बनाउनैपर्ने ढिपीमा रास्वपाको अडान के हुन्छ ? प्राकृतिक घना जंगलका लाखौं रुख काटेर विकास र समृद्धिका निम्ति बलिदान दिनैपर्ने भाष्यको आडमा अघि बढिन्छ वा त्यस्ता बेफ्वाँकका आयोजना खारेज गरिन्छ ?
काम गरिखाने मजदुर र जमिनहीन सुकुम्वासीलाई सफा शहरको असंगत दाग भनेर पन्छाउने बालेन–डन्डाको पुनः उपयोग हुनेछ वा उनीहरूको हितका निम्ति उनीहरू समेतको सक्रियतामा कानुन, नीति, र कार्यक्रम तर्जुमा गर्दै कार्यान्वयन गरिनेछ ?
कसैलाई लाग्न सक्छ, यी प्रश्नको स्पष्ट र इमान्दार जवाफ दिन कुनै ‘वाद’ वा विचारधाराको नाम जोड्न जरुरी छैन । हो, कुनै चल्तीका ‘वाद’हरूको उच्चारण नगरी नै इमान्दार र स्पष्ट जवाफ दिन सकिन्छ। तर जवाफ साँच्चै स्पष्ट र इमान्दार हो भने, सोही जवाफमा विचारधारा उति नै स्पष्टसाथ अंकित भएर आउनेछ। रास्वपाको ‘वाद’ आखिर के रहेछ, जवाफ सुन्नेले नै सजिलै भनिदिन सक्नेछन्।
यस्ता कैयन प्रश्नको जवाफ नदिने हो भने, भोलि हुने निर्णयहरूबाट, भोलि बन्ने कानुनहरूबाट, जमिनका आन्दोलनसँग गरिने व्यवहारबाट, उठाइएका जरुरी प्रश्न सम्बोधन गर्ने तरिकाबाट सत्ताधारीको विचारधारा स्पष्ट हुनेछ।
हिजोका कांग्रेस र कम्युनिस्टले समाजवाद र लोकतन्त्र भनेर अलोकतन्त्र र कचल्टिएको पूँजीवादको भद्दा खेती गरे। विचारधाराप्रतिको चिड्चिडाहट भएको यस घडीमा के रास्वपाले ‘विचारभन्दा माथि देश’ नभनेरै सोही पन्थको जगेर्ना गर्नेछ ?
प्रतिक्रिया 4