News Summary
Generated by OK AI. Editorially reviewed.- २०७९ सालको निर्वाचनमा करिब २५० जना नयाँ सांसद निर्वाचित भएका छन्, जसमा प्रत्यक्षतर्फ १६५ मध्ये १४० जना नयाँ सांसद छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाइ बहुमत पाएको निर्वाचनमा सबैभन्दा बढी नयाँ सांसदहरू ल्याएको छ भने कांग्रेस, एमाले र नेकपामा पनि आधाभन्दा बढी नयाँ सांसद छन्।
- प्रतिनिधिसभामा ३० वर्षमुनिका १३ जना सांसद छन्, जसमा सबै रास्वपाका छन् र ५० वर्षमुनिका सांसदहरूको संख्या ११९ पुगेको छ।
२७ फागुन, काठमाडौं । अबको केही दिनमा गठन हुने प्रतिनिधिसभामा ९० प्रतिशत बढी नयाँ सांसदहरू देख्न पाइने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुई तिहाइ बहुमत पाएको निर्वाचनमा सबैजसो दलमा नयाँ जनप्रतिनिधिको बाहुल्यता रहने छ ।
समानुपातिकको नतिजा बाँकी छ, त्यहाँबाट पनि केही सीमित पुराना सांसदहरू बाहेक सबै नयाँ सांसद आउने छन् । सबै आँकडा केलाउँदा २७५ मध्ये करिब २५० जना सांसद नयाँ हुनेछन् ।
यसपालिको प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ जनामध्ये १४० जना नयाँ सांसद हुनेछन् । उनीहरू पहिलोपटक निर्वाचित भएकाहरू हुन् । त्यसरी निर्वाचित हुनेमध्ये अधिकांश रास्वपाका सांसद छन् । कांग्रेस, एमाले र नेकपाबाट निर्वाचितमध्ये पनि आधाभन्दा बढी नयाँ छन् ।
पुराना भनिएका २५ जनामा पनि अधिकांश अघिल्लो पटक मात्रै निर्वाचित भएका हुन् । पटकपटक सांसद भएका र संसदीय राजनीतिलाई पेसा बनाएकाहरू होइनन्, ती २५ जनामा रास्वपाका सांसदको बाहुल्यता छ ।
१० जना मात्रै पुराना
प्रतिनिधिसभामा विभिन्न दलबाट १० जना सांसदहरू निर्वाचित भएका छन्, जो यसअघि नै पटकपटक संसद्मा देखिएका अनुहार हुन् ।
रुकुम पूर्वबाट निर्वाचित नेकपा उम्मेदवार पुष्पकमल दाहाल, रोल्पाबाट निर्वाचित वर्षमान पुन, सर्लाही–४ मा रास्वपाबाट निर्वाचित अमरेशकुमार सिंह त्यसका उदाहरण हुन् ।
कांग्रेसका टेकबहादुर गुरुङ, पुष्पकमल दाहाल, वर्षमान पुन र धनबहादुर बुढा र महेन्द्रबहादुर शाही र मोहम्बर इस्तिहाक राई मात्रै दुई पटकभन्दा बढी निर्वाचित सांसद हुन् ।

धनकुटामा एमाले सांसद राजेन्द्रकुमार राई, मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ, डोल्पामा नेकपाका धनबहादुर बुढा, कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही पनि यसअघि निर्वाचित सांसद हुन् । बाँके–२ का एमालेका मोहम्बद इस्तियाक राई र बाजुराबाट नेपाली कांग्रेसका जनकराज गिरी पनि पुरानै सांसद हुन्, जो यसपालि पनि निर्वाचित भए ।
सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको काठमाडौं उपत्यकाले १५ सिटमध्ये तीन बाहेक सबै नयाँ सांसद पठायो । अघिल्लो पटक निर्वाचित भएका शिशिर खनाल, विराजभक्त श्रेष्ठ र गणेश पराजुली हुन् । यसपालि प्रत्यक्ष निर्वाचित डीपी अर्याल अघिल्लो पटक समानुपातिक सूचीमा थिए ।
१६ जना दोस्रो पटक
२०७९ सालको प्रतिनिधिसभामा कैयौं सांसदहरू निर्वाचित भएर आएका थिए, जो यसपालि पनि दोहोरिएका छन् । रास्वपाबाट निर्वाचितमध्ये १२ जना दोहोरिएका छन् ।
रवि लामिछाने, हरि ढकाल, सोविता गौतम, निशा डाँगी, इन्दिरा राना मगर, मनिष झा, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, डीपी अर्याल र डा. तोसिमा कार्की यसपालि निर्वाचित भए ।

पूर्वसभामुख सुवास नेम्वाङको निधनका कारण भएको उपचुनावमा सुहाङ नेम्वाङ र रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएका कारण भएको उपचुनावमा निर्वाचित डा. स्वर्णिम वाग्ले यसपालि पनि दोहोरिए ।
जुम्लाबाट निर्वाचित राप्रपा सांसद ज्ञानेन्द्र शाही र मुस्ताङबाट अघिल्लो पटक निर्वाचित कांग्रेस सांसद योगेश गौचन पनि दोहोरिएका छन् ।
समानुपातिकमा केही पुराना
११० सिटको समानुपातिक निर्वाचन प्रणालीमा पनि पुराना केही सांसदहरू दोहोरिन सक्छन् । तर केही सीमित बाहेक अधिकांश नयाँ सांसदहरू निर्वाचित हुने निश्चित छ ।
५७/५८ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी र नेकपाले सबै नयाँ अनुहारलाई समानुपातिक सूचीमा राखेको छ । त्यहाँबाट कोही पनि पुराना सांसदहरू आउने सम्भावना छैन ।
एमालेका उषाकला राई, पदमा अर्याल, निरु पाल, कोमल वली र शान्ता चौधरी यसअघि निर्वाचित भइसकेका सांसद हुन् । तीमध्ये सबै होइन, केही मात्रै चुनिने भएकाले नयाँ अनुहार अझै बढ्ने छ ।
नेपाली कांग्रेसका भीष्मराज आङदेम्बे र अर्जुननरसिंह केसी मात्रै पटकपटक संसदीय राजनीतिमा देखिएका अनुहार हुन्, अरू सबै नयाँ छन् । समानुपातिकको ११० सिटमध्ये सबै दलको जोडेर १० जना पनि पुराना दाहोरिने सम्भावना छैन ।
प्रतिस्पर्धा नगरेका अनुहार
यसपालिको चुनावमा दुई कारणले पुराना सांसदहरू संसदीय राजनीतिबाट टाढा हुने भएका हुन् । पहिलो, कतिपय दलहरूले उम्मेदवार बनाउँदा सीमित पुराना नेताहरूलाई मात्रै उम्मेदवार बनाएको थियो । अर्कोतर्फ उम्मेदवार बनेकाहरू पनि अधिकांश निर्वाचित हुन सकेका छैनन् ।
प्रत्यक्ष प्रणालीतर्फ १६५ निवर्तमान सांसदमध्ये ७० जना यो पटक प्रतिस्पर्धामा थिएनन् । ११० समानुपातिकमध्ये बढीमा १० जना मात्रै प्रतिस्पर्धामा थिए । आठ जना पूर्वसांसद आपसी प्रतिस्पर्धामा भएकाले निर्वाचित हुन सकेनन् ।
रास्वपाकी निवर्तमान सांसद सुमना श्रेष्ठ संसदीय प्रतिस्पर्धामा थिइनन् । सन्तोष परियार प्रगतिशील लोकतान्त्रिक पार्टीको समानुपातिक सूचीमा त थिए, तर प्रलोपाले थ्रेसहोल्ड कटाउन सकेन ।
कांग्रेसका शेरबहादुर देउवादेखि धनराज गुरुङ र उपसभापति विश्वप्रकाश शर्मा प्रतिस्पर्धामा थिएनन् । प्रकाशमान सिंहदेखि आरजु राणा प्रतिस्पर्धा बाहिर थिए । एमालेका टोपबहादुर रायमाझीदेखि योगेश भट्टराई अनि विद्या भट्टराईले प्रतिस्पर्धा गरेका थिएनन् ।
आपसमा पराजित
जुम्ला, झापा–२, सर्लाही–४ र धनुषा–३ मा एकभन्दा बढी निवर्तमान सांसदहरू आपसमा प्रतिस्पर्धा गरिरहेकाले उनीहरूमध्ये एक/एक जना मात्रै निर्वाचित भए । आपसी प्रतिस्पर्धाले ६ जना पूर्वसांसद प्रतिनिधिसभामा आउन रोकिए ।
सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह निर्वाचित हुँदा कांग्रेस सभापति गगन थापा पराजित भए । रास्वपा सांसद सिंह भने नयाँ अनुहार होइनन् । उनी पटकपटक कांग्रेसबाट निर्वाचित थिए भने अघिल्लो पटक स्वतन्त्र रूपमा निर्वाचन जितेका थिए ।

झापा–२ मा इन्दिरा राना मगर निर्वाचित भएकाले निवर्तमान सभामुख देवराज घिमिरे र कांग्रेस समानुपातिक सांसद सरिता प्रसाईं प्रतिनिधिसभामा आउन सकेनन् । व्यवस्थापिका व्यवस्थापनको नेतृत्व गरेको अनुभव बोकेका राना मगर र घिमिरे आपसमा प्रतिस्पर्धा गरेकाले एक जना रोकिने निश्चित जस्तै थियो ।
धनुषा–३ मा रास्वपाका मनिष झा प्रतिस्पर्धामा थिए । एमालेकी पूर्वसांसद जुलीकुमारी महतो, कांग्रेसका समानुपातिक पूर्वसांसद विमलेन्द्र निधि पराजित भए । जुम्लाबाट राप्रपाका ज्ञानेन्द्रबहादुर शाहीले रास्वपाका विनिता कठायतलाई रोके ।
समानुपातिकमा छैनन्
अघिल्लो पटक समानुपातिबाट निर्वाचित एमालेका कोही पनि सांसद यसपालि प्रत्यक्ष र समानुपातिकको सूचीमा थिएनन् । तर २०७९ सालअघि निर्वाचितहरू भने सुरक्षित रहन समानुपातिक सूचीमा बसेका छन् ।
समानुपातिक सूचीमा रहेका रामबहादुर थापा नयाँ संविधान बनेपछिको प्रतिनिधिसभामा थिएनन् । पद्मा अर्याल २०७४ सालमा निर्वाचित सांसद हुन् । एमाले, कांग्रेस, रास्वपाले अघिल्लो निर्वाचनको समानुपातिक सूचीलाई दोहोर्याएका थिएनन् ।
एमालेले २०७९ सालका सांसदहरूलाई समानुपातिक सूचीमा राखेको छैन । तर त्यसअघि सांसद भइसकेका उषाकला राई, पदमा अर्याल, निरु पाल, कोमल वली र शान्ता चौधरीलाई सूचीमा राखेको छ ।
कांग्रेसबाट अघिल्लो पटक समानुपातिक सूचीमा रहेका डा. प्रकाशशरण महत र बिमलेन्द्र निधि मात्रै प्रत्यक्ष प्रतिस्पर्धामा थिए, दुवै जना निर्वाचित हुन सकेनन् । माओवादी, एकीकृत समाजवादीलगायत अरू समूह मिलेर बनेको नेकपामा पनि समानुपातिक सूचीमा नयाँ अनुहार थिए, पुराना सांसद दोहोरिएनन् ।
बहुचर्चित नेता पराजित
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल आ–आफ्नो क्षेत्रमा पराजित भए । कांग्रेस सभापति गगन थापा निर्वाचित हुन सकेनन् । एमालेको संगठनमा रहेका महत्वपूर्ण व्यक्तिहरूले चुनाव जित्न सकेनन् भने कांग्रेसमा पनि त्यही हालत भयो ।
एमालेका ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदिप ज्ञवाली, गोकर्ण विष्ट पराजित भए । कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभाव राख्ने शेखर कोइरालासहित गुरुराज घिमिरे, प्रदिप पौडेल, विमलेन्द्र निधि लगायत पराजित भए ।
मधेशमा क्रियाशील दलहरूका नेता एवं मधेशवादी दलका कुनै पनि प्रमुख नेताहरू निर्वाचित हुन सकेनन् । उपेन्द्र यादवदेखि राजेन्द्र महतो, सीके राउतलगायत पराजित भए । कांग्रेस एवं एमालेबाट मधेशमा क्रियाशील नेताहरु निर्वाचित हुन सकेनन् । मधेश प्रदेशका ३२ मध्ये ३० सिट रास्वपाले जितेको छ ।

संसदीय राजनीतिमा सदाबहार निर्वाचित सांसदहरू यसपालि प्रतिनिधिसभामा देखिने छैनन् । पञ्चायतकालमा रजगज गरेका शरदसिंह भण्डारी पराजित भएका छन् । महन्थ ठाकुर राष्ट्रिय सभातिर लागेका छन् । २०४६ सालको परिवर्तनपछि राजनीतिमा लागेका धेरै अनुहारहरू निर्वाचित छैनन् ।
पञ्चायतको पतनसँगै त्यही राजनीतिक आस्थाबाट खुलेको राप्रपामा समेत युवा अनुहार आएका छन् । प्रतिस्पर्धामा रहेका राप्रपाका कमल थापा जमानत जफतसहित पराजित हुनुपर्यो ।
टिप्पणीकार नवीन तिवारी नेपालको प्रजातान्त्रिक एवं लोकतान्त्रिक संघर्षमा कांग्रेस, एमाले र माओवादीको योगदान रहे पनि ती दलका नेताहरूले नेपालको राजनीतिलाई जमेको पोखरी जस्तो बनाइदिएको टिप्पणी गर्छन् ।
‘उनीहरूले विगतमा संघर्ष गरेका थिए, तर नेताहरूले त्यसको ब्याज खान खोजिरहे, प्रतिफल दिएनन्,’ तिवारी भन्छन्, ‘जनताले त्यो प्रवृति स्वीकार गरेनन् । तीन दलीय सिन्डिकेटको भाष्यका कारण उनीहरूले आफ्नो मत बदलेर नयाँ राय प्रकट गरेका हुन् ।’
युवा बाहुल्य
३० वर्षमुनिका १३ जना सांसद चुनिएका छन् । जसमध्ये सबै रास्वपाका छन् भने एकजना मात्रै श्रम संस्कृति पार्टीका छन् । ४० वर्षमुनिका सांसदको संख्या ६२ छ । ५० वर्षमुनिका सांसदहरु ११९ जना छन् ।

पाका सांसदहरूको संख्या उल्लेख्य रूपमा घटेको छ । पुष्पकमल दाहाल र महावीर पुन बाहेक कोही पनि ७० कटेका सांसद छैनन् । ६० कटेका सांसद १३ जना मात्रै छन् । प्रत्यक्षतर्फ सांसदहरूको औसत उमेर नै ४३ छ र ८२ जना सांसद त्यो उमेर समूहभन्दा मुनिका छन् । तर समानुपातिक सांसद चयनपछि भने आँकडा केही फेरबदल हुनसक्छ ।
प्रत्यक्षको तुलनामा समानुपातिकमा केही प्रौढ उम्मेदवारको सूची छ । तुलनात्मक रूपमा रास्वपा बाहेकका दलहरूले प्रौढलाई ज्यादा उम्मेदवार बनाएका छन् । जबकि, मतका आधारमा उनीहरूले कम सांसद चुन्न पाउँछन् । कम्तीमा पनि ५७/५८ सांसद चुन्न पाउने रास्वपामा भने तुलनात्मक रूपमा युवा बढी छन् ।
अभियान चलेन, असर देखियो
२०७९ सालको प्रतिनिधिसभामा निकै चलेको अभियान हो, ‘नो नट अगेन’ । संसदीय राजनीतिमा बारम्बार निर्वाचित हुने तर जनताको हितमा काम नगर्ने सांसदहरूलाई जनताको मतबाट निषेध गर्नुपर्छ भनेर केहीले ‘नो नट अगेन’ अभियान चलेको थियो ।
अभियानका कारण केही उम्मेदवार अप्ठेरोमा समेत परेका थिए । निर्वाचन आयोगले नै ‘नो नट अगेन’ भनेर व्यक्ति किटान गरी निषेध गर्न मिल्दैन भनी निर्देशन जारी गरेपछि अभियानमा संलग्नहरू सर्वोच्च अदालतसम्म पुगे । अदालतले उनीहरूलाई नरोक्नू भनी आदेश जारी गर्यो ।
गत वर्षको तुलनामा यसपालि भने ‘नो नट अगेन’ अभियान चलेन । तर मत परिणाम अघिल्लो पटक अभियान चलाएका व्यक्तिहरूले चाहेअनुसार आए जस्तो भयो ।
टिप्पणीकार नवीन तिवारी साढे तीन वर्षअघि ‘नो नट अगेन’ अभियान चल्दा पनि पुराना दल र नेताहरूप्रति जनताको विश्वास टुटिनसकेको निष्कर्ष सुनाउँछन् ।
‘त्यति हुँदाहँुदै पनि उनीहरूले कार्यशैली बदल्न सकेनन् । सत्तामा टाँसिएर बस्ने र जनताको हितमा केही काम नगर्ने शैली दोहोर्याए,’ तिवारी भन्छन्, ‘कैयौं नेताहरूलाई मैले जे गर्दा पनि हुन्छ, जनताले भोट दिइहाल्छन् भन्ने दम्भ थियो, यस पटक तोडिएको देखिन्छ ।’
असफल हुने छुट छैन
टिप्पणीकार नवीन तिवारीको बुझाइमा अनुभवहीन हुनु आफैंमा अयोग्यता होइन । तर अनुभवविहीनको बाहुल्य रहने अबको प्रतिनिधिसभाले त्यसैलाई चुनौतीको रूपमा सामना गरेर नतिजामुखी संसदीय अभ्यासमा आफूलाई ढाल्नु पर्नेछ ।
‘उहाँहरूमध्ये केहीलाई समाजमा चलेको लोकप्रियवादले यहाँसम्म आउन सहयोग गर्यो, अब भने आफूलाई पुष्टि गर्नुपर्ने छ,’ उनी भन्छन्, ‘अब पुरानालाई गाली गरेर मात्रै पुग्दैन, आफैंले पनि काम गरेर देखाउनु पर्नेछ ।’
एमाले नेता उषाकिरण तिम्सिना जनमतबाट चयन भएका सांसदहरूलाई उमेर र अनुभवका आधारमा प्रश्न गर्न जाजय नहुने बताउँछिन् ।
‘हिजोका सांसदहरूलाई पनि सबै कुराको क्षमता र ज्ञान थिएन । त्यस्तो अवस्थामा त विज्ञ र विशेषज्ञहरूको सहयोग लिन पाइहालिन्छ,’ तिम्सिना भन्छिन्, ‘२५/३० वर्षको उमेर आफैंमा परिपक्व हो । अरूलाई जस्तै उहाँहरूलाई पनि चुनौती छ । अहिले जुन धरातलबाट आउनुभएको छ, अब असफल हुने छुट छैन भन्ने बुझेर नतिजा देखिने गरी काम गर्नुपर्ने छ ।’
प्रतिक्रिया 4