९ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारलाई विगत सरकारहरूले सुरु गरेका राम्रा अभ्यास उपयोगी हुनसक्ने बताएका छन् । सोमबार फेसबुकमार्फत भट्टराईले रास्वपा सरकारले सन्दर्भ सामग्रीका रूपमा विगत सरकारका राम्रा अभ्यास उपयोगी हुनसक्ने भन्दै आफ्नो नेतृत्वको १८ महिने सरकारका कामबारे सम्झाएका हुन् ।
‘नेपाली राजनीतिको ऐतिहासिक पुस्तान्तरणसहित नवोदित रास्वपाको सुविधाजनक एकमना सरकारले देशको नेतृत्व सम्हाल्न लाग्दा आम जनता र विशेषत: युवापुस्ताका आकांक्षा चुलिनु स्वाभाविक छ,’ भट्टराईले लेखेका छन्, ‘यस सन्दर्भमा नयाँ बन्ने सरकारले समयबद्ध तरिकाले कार्यान्वयनका लागि आफ्ना कामका प्राथमिकता निर्धारण अवश्य गरिरहेकै छ ।’
त्यसका निम्ति विगतका सरकारहरूले सुरु गरेका कतिपय राम्रा अभ्यासहरू उपयोगी सन्दर्भ-सामाग्री हुनसक्नेमा उनले जोड दिएका छन् । ‘तीमध्ये मेरो नेतृत्वको विशिष्ठ कालखण्डको छोटो अवधि (१८ महिना)को सरकारका प्रमुख काम र उपलब्धी पनि केही काम लाग्नसक्छ,’ भट्टराईले लेखेका छन् ।
विशेषत: सुशासन, भ्रष्टाचार निवारण र पारदर्शिताको क्षेत्रमा आफ्नो सरकारका पालामा सुरु गरिएका हेलो सरकार, जनतासँग प्रधानमन्त्री, संवैधानिक निकायमा नियुक्ति प्रक्रियामा सुधार, संस्थान निर्देशन बोर्ड गठन रास्वपाका लागि उपयोगी हुनसक्ने भट्टराईको दाबी छ ।
‘त्यसरी नै तीव्र आर्थिक रूपान्तरण र समृद्धिका निम्ति पहल गरिएका लगानी बोर्ड, बिप्पा सम्झौता, राष्ट्रिय गौरवका आयोजना, रूग्ण उद्योगहरूको पुनरूत्थान, विशेष अर्थिक क्षेत्र, काठमाडौं उपत्यका विकास प्राधिकरण, वैज्ञानिक भूमिसुधारका निम्ति तयारी, भू–उपयोग नीति निर्माण र कार्यान्वयन, गरिबीको पहिचान र परिचयपत्र, राष्ट्रिय स्वयं सेवा अभियान आदिलाई परिमार्जन र प्राथमिकतासहित अघि बढाउन सकिन्छ,’ भट्टराईले अगाडि लेखेका छन् ।
प्रतिक्रिया 4