News Summary
Generated by OK AI. Editorially reviewed.- डा. बाबुराम भट्टराईलाई मार्च १२-१४ मा नयाँ दिल्लीमा आयोजित एनएक्सटी २०२६ ग्लोबल समिटमा विशिष्ट अतिथिका रूपमा निम्त्याइएको थियो।
- डा. भट्टराईले 'डेमोक्रेसी इन द एज अफ एआई' विषयमा प्रविधिको विकासले लोकतन्त्र र समाजमा गहिरो प्रभाव पारेको बताए।
- भट्टराईले मोदीसँग साइडलाइन भेटवार्तामा १२ बुँदे सम्झौताबारे सत्य के हो भन्ने प्रश्न उठाएका थिए।
यही मार्च १२-१४ मा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको एनएक्सटी २०२६ ग्लोबल समिट मा नेपालका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विशिष्ट अतिथिका रूपमा निम्त्याइएको थियो। उनीसँगै उक्त भ्रमणमा सहभागी हुन पाउनु मेरो लागि अत्यन्तै रोमान्चक र गर्वको क्षण रह्यो।
विश्व व्यवस्थामा देखिएको तीव्र परिवर्तनसँगै एसियाका दुई ठूला राष्ट्र चीन र भारतको प्रभाव विस्तार हुँदै गएको सन्दर्भमा भारतमा आयोजना गरिएको यस प्रकारको उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनले यसको गरिमा र महत्त्वलाई स्पष्ट रूपमा उजागर गरेको देखिन्छ। विभिन्न देश तथा विविध क्षेत्रका स्थापित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिले यस कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो।
विज्ञान–प्रविधि, अर्थतन्त्र, राजनीति, सामाजिक संरचना, मानवीय चेतना र पर्यावरणलगायतका क्षेत्रमा भएका दूरदर्शी बहस र छलफलहरू सुन्न पाउँदा डा. भट्टराईले विगत एक दशकदेखि उठाउँदै आएका ‘नयाँ युगको नयाँ कार्यभार’ को औचित्य पुष्टि भइरहेको अनुभूति मैले गरेँ। भट्टराईले तत्काली नेसपा (नयाँ शक्ति) को वैचारिक-राजनीतिक कार्यदिशा तथा घोषणापत्र लेखेका छन्, ‘…एक्काइसौँ शताब्दीको सुरुवात र चौथो औद्योगिक क्रान्तिसँगै मानव जाति नयाँ प्रबोधन युगमा प्रवेश गरेको छ। विश्वव्यापी रूपमा विज्ञान–प्रविधि, अर्थतन्त्र, राजनीति, सामाजिक संरचना, मानवीय चेतना र पर्यावरणीय क्षेत्रमा आएका अभूतपूर्व परिवर्तन तथा सङ्कटहरूले समग्र संरचनाको पुनर्संरचनासहित नयाँ युगको सङ्केत गरिरहेका छन्। नेपाल भूमण्डलीकृत विश्वको एक अभिन्न अङ्ग भएकाले आफूलाई सोहीअनुरूप अनुकूलन गर्दै नयाँ सम्भावनाहरूको खोजी र समीक्षा गर्नु अत्यावश्यक भएको छ…।’
नेपालमा डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको आवश्यकता २०७० सालदेखि नै उठाउँदै आएका थिए । २०७२ सालको असोजमा नयाँ संविधान निर्माण भएसँगै नयाँ शक्तिमार्फत उनले नयाँ विश्वदृष्टिकोण प्रस्तुत गर्दै त्यसलाई संस्थागत रूप दिएका थिए ।
हालै नयाँ दिल्लीमा सम्पन्न एनएक्सटी२०२६ ग्लोबल समिटमा पनि यिनै विषयहरूमा केन्द्रित बहस र छलफलहरूले उनको विश्वचेतना तथा वैश्विक चिन्तक/राजनीतिज्ञका रूपमा रहेको क्षमतालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने काम गरेको छ।
नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ‘भारत मण्डपम्’मा आयोजित उक्त सम्मेलनको पहिलो दिन, मार्च १२ मा ‘सिग्नेचर सेसस’ अन्तर्गत ‘द प्राइम मिनिस्टर्स राउन्ड टेबल’ आयोजना गरिएको थियो। उक्त सत्रमा नेपाल, अस्ट्रेलिया र स्विडेनका पूर्वप्रधानमन्त्रीहरू क्रमशः डा. भट्टराई, स्कट जे. मोरिसन र फ्रेड्रिक राइनफेल्डले ‘प्रविधि, सुशासन र हाम्रो भविष्य’ विषयमा महत्त्वपूर्ण बहस गरेका थिए ।
फरक महादेश र फरक विचारधारा बोकेका विशिष्ट राजनीतिज्ञहरूबीच भएको उक्त छलफलमा डा. भट्टराईले प्रस्तुत गरेको नेपालमा भएको जेनजी विद्रोह, युवा नेतृत्वको उदय, भू–राजनीतिक अवस्था तथा दक्षिण एसियाली विकाससम्बन्धी विचारहरूले केवल नेपालको मात्र होइन, समग्र दक्षिण एसियाको प्रतिनिधित्व गरेको अनुभूति त्यहाँ उपस्थित सहभागीहरूले गरेका थिए।
डा. भट्टराईले नेपालको जेनजी विद्रोह र युवा नेतृत्वप्रति गर्व व्यक्त गर्दै युवाहरू राष्ट्रलाई समृद्धिको मार्गमा अघि बढाउन सक्षम रहेको विश्वास व्यक्त गरे। नेपाललाई परम्परागत दृष्टिमा ‘दुई शक्तिशाली देशबीचको स्यान्डविच’ नभई दुई ठूला शक्तिबीचको गतिशील पुलका रूपमा हेर्नुपर्ने उनको धारणा थियो। डा. भट्टराईले प्रविधिको विकासले ‘वसुधैव कुटुम्बकम्’ को अवधारणा व्यवहारमा अझ सम्भव बनाएको बताए ।
चीन र भारतको आर्थिक वृद्धि र विकासबाट नेपालले लाभ लिन सक्ने अवसरहरू पनि उनले औँल्याए। विश्व राजनीति र आर्थिक संरचना तीव्र गतिमा परिवर्तन हुँदै गएको बेला साना देशहरूले रणनीतिक रूपमा आफूलाई अनुकूल बनाउनुपर्ने आवश्यकता रहेको उनले जोड दिए।
साथै, दक्षिण एसियामा गरिबी र अस्थिरताको मूल कारण स्रोतको अभाव होइन, कमजोर संस्थागत संरचना र सुशासनको कमी रहेको विश्लेषण पनि प्रस्तुत गरे। यसै सन्दर्भमा, क्षेत्रीय सहकार्य र विश्वव्यापी साझेदारीको सदुपयोग गरेर विकासको मार्ग अघि बढाउनुपर्ने उनको सुझाव थियो।
मोदीसँगको साइडलाइन भेटवार्ता
मार्च १२ को साँझ ७ बजे महत्त्वपूर्ण ‘द प्राइम मिनिस्टर्स प्लेनरी सेसन’ आयोजना गरिएको थियो। सहभागी सबैलाई साँझ ४:३० बजेसम्म हलमा पुगिसक्न अनुरोध गरिएको थियो। तर, भारतीय प्रधानमन्त्रीको कडा सुरक्षा प्रोटोकलका कारण खटिएका सुरक्षाकर्मीहरूको कडा जाँचले गर्दा हल प्रवेश सहज थिएन। सम्भवतः केही सहभागीहरूले हलमा प्रवेश गर्नसमेत नपाएका हुन सक्छन्।
हामीलाई भने ‘गेस्ट अफ ओनर’ का रूपमा निम्त्याइएको कारण प्रवेश सहज बनाइएको थियो। हाम्रो सहजताका लागि आयोजकले विशेष सम्पर्क व्यक्ति खटाएका थिए। उनीहरूले कत्ति पनि झिँजो नमानिकन निरन्तर सहयोग गरिरहे ।
मोदी आउनुभन्दा केही समयअघि विशिष्ट अतिथिहरू- भट्टराई, मरिसन र राइनफेल्डलाई साइडलाइन भेटवार्ताका लागि विशेष कक्षमा लगिएको थियो। सो अवसरमा डा. बाबुराम भट्टराईले प्रधानमन्त्री मोदीसँग छोटो कुराकानी भएको थियो ।
मार्च १३, दोस्रो दिन डा. भट्टराईको कुनै औपचारिक सेसन थिएन। उनलाई भेट्न इच्छुकहरूको सूची निकै लामो भए पनि समय अभावका कारण केही महत्त्वपूर्ण भेटघाट मात्र सम्भव भयो। दिनको सुरुवात साउथ एसियन युनिभर्सिटीका प्रोफेसर डा. मल्लिका शाक्यसँगको प्राज्ञिक भेटवार्ताबाट भयो।
त्यसपछि ‘द आउटलुक’ की वरिष्ठ पत्रकार सीमा गुहा र ‘द इकोनोमिक टाइम्स’ का दिपन्जन राय चौधरीसँग अन्तर्वार्तापछि प्रख्यात आर्किटेक्ट राजेन्द्र कुमारसँग अर्थपूर्ण संवाद सम्पन्न भयो। यी भेटघाटपछि हामीले दिउँसोको भोजन गर्यौँ।
त्यसपश्चात् केही नयाँ पुस्तक किन्ने उद्देश्यले हामी प्रसिद्ध ‘बहरिसन्स बुकसेलर्स’ पुग्यौँ, जहाँ डा. भट्टराईका मित्र तथा राजनीतिज्ञ केसी त्यागीजी प्रतीक्षारत थिए। केही पुस्तक खरिद गरेपछि उनले हामीलाई अर्का राजनीतिक मित्र सुधिन्द्र भदौरियालगायतसँग भेट गराउन ‘इन्डिया इन्टरनेसनल सेन्टर’ (आईआईसी) तर्फ लगे। त्यहाँ केही समय बिताएपछि हामी नयाँ दिल्लीस्थित नेपाली राजदूतावासद्वारा आयोजित ‘नेपाल फुड एन्ड कल्चरल फेस्टिभल’ मा सहभागी भयौँ।
उक्त कार्यक्रममा महामहिम राजदूत डा. शङ्कर शर्मालगायत दूतावासका कर्मचारीहरूको न्यानो आतिथ्य ग्रहण गर्दै उपस्थित नेपाली समुदाय र विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग भेटघाट गर्यौँ। त्यसपछि बेलुका ८ बजे एनएक्सटी२०२६ ग्लोबल समिट का प्रमुख आयोजक माननीय कार्तिकेय शर्माजीले आयोजना गरेको रात्रिभोजमा सहभागी भयौँ।
विभिन्न राष्ट्र र क्षेत्रका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको उक्त रात्रिभोजको मुख्य आकर्षण भने डा. बाबुराम भट्टराई नै थिए। उनीसँग चिनजान गर्न, संवाद गर्न र तस्बिर खिचाउन चाहनेहरूको लाम देख्दा ‘विद्वत्वं च नृपत्वं च नैव तुल्यं कदाचन। स्वदेशे पूज्यते राजा, विद्वान् सर्वत्र पूज्यते!’ यो श्लोकको सजीव अनुभूति यही कार्यक्रममा गर्न पाएँ।
कार्यक्रमको अर्को महत्त्वपूर्ण सत्र ‘द गेस्ट अफ वनर्स अड्रेस’ थियो। ‘डेमोक्रेसी इन द एज अफ एआईः डिजिटल गभर्नान्स एण्ड द युथ’ विषयमा बोल्दै डा. भट्टराईले प्रविधिको तीव्र विकासले लोकतन्त्र र समाज दुवैमा गहिरो प्रभाव पारेको बताए। आफ्नो युवावस्थामा साझा सूचना प्रणाली (रेडियो) बाट सबैले एउटै सत्य सुन्ने अवस्था रहेको स्मरण गर्दै उनले आजको एल्गोरिदम-नियन्त्रित डिजिटल युगमा सत्य नै खण्डित र व्यक्तिगत बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे।
उनका अनुसार, एआई र अटोमेसनले अवसरसँगै असमानता, बेरोजगारी र निष्प्रयोज्य वर्गको जोखिम बढाइरहेको छ। साथै, सामाजिक सञ्जाल र एल्गोरिदमले लोकतान्त्रिक बहसलाई ध्रुवीकरण, गलत सूचना र ‘डिपफेक’ मार्फत प्रभावित गरिरहेको उनले बताए।
डा. भट्टराईले विशेषगरी विकासोन्मुख देशहरूका लागि ‘डेटा उपनिवेशवाद’ को खतरा औँल्याउँदै प्रविधिमा आत्मनिर्भरता आवश्यक रहेको बताए। एआईको भविष्य पूर्वनिर्धारित नभई यो राजनीतिक निर्णय, आर्थिक नीतिहरू र सामाजिक मूल्यहरूद्वारा निर्धारण हुनुपर्नेमा उनले जोड दिए।
अन्त्यमा उनले ‘सर्वजन हिताय, सर्वजन सुखाय’ र ‘वसुधैव कुटुम्बकम्’ जस्ता मूल्यहरूसँग वैज्ञानिक मानववादलाई जोड्दै एआईलाई मानव कल्याण, लोकतन्त्रको सुदृढीकरण र साझा समृद्धिको साधन बनाउनुपर्ने धारणा व्यक्त गरे। आफ्नो महत्त्वपूर्ण मन्तव्य राखेर मञ्चबाट ओर्लंदै गर्दा दर्शकदीर्घामा सहभागीहरूको ताली र प्रशंसाले गुञ्जायमान भइरहँदा मैले गर्वानुभूति गरिरहेको थिएँ। यसप्रकारको विश्व मञ्चमा एउटा नेपाली राजनीतिज्ञप्रतिको सम्मान सबै नेपालीका लागि गौरवको विषय हो।
तत्पश्चात् भट्टराईको सम्मानमा भारतका महत्त्वपूर्ण कूटनीतिज्ञहरूले आयोजना गरेको एक लन्च मिटिङमा केही रोचक प्रसङ्ग उठेको थियो, जहाँ नेपालका राजदूत महामहिम डा. शङ्कर शर्मा पनि सहभागी थिए । यसबारे डा. भट्टराईले मलाई सुनाएका थिए ।
खास के भएछ भने- तत्कालीन माओवादी र नेपाल सरकारबीच भएको चर्चित १२ बुँदे सम्झौताबारे डा. भट्टराईले तत्कालीन भारतीय राजदूत शिवशङ्कर मुखर्जीलाई इङ्गित गर्दै सोधेछन्, ‘भारतीयहरू नेपालका कम्युनिस्टहरू चीनद्वारा निर्देशित हुन्छन् भन्नुहुन्छ, तर नेपालमा भने १२ बुँदे सहमति भारतले गराइदिएको भन्ने धारणा व्याप्त छ। आखिर सत्य त एउटै हुन्छ; लौ, तपाईं भन्नुहोस्, सत्य के हो? के तपाईंहरूले १२ बुँदे गराउनुभएको हो?’
उनले ‘हामीले होइन’ भन्ने जवाफ दिएछन्। त्यसपछि डा. भट्टराईले पुनः स्पष्ट पार्दै भनेछन्, ‘यदि होइन भने होइन भन्नुपर्यो। यी र यस्ता केही सत्यहरू छन्, जुन नियोजित रूपमा तोडमरोड गरेर झुटलाई नै नयाँ ‘सत्य’ का रूपमा स्थापित गरिदिएका छन्।’
समग्रमा डा. भट्टराईको यस भ्रमणले नेपाल र नेपाली नेतृत्वको अन्तर्राष्ट्रिय छवि बलियो बनाएको छ। नेपालको जेनजी विद्रोहप्रति गर्व, पछिल्लो निर्वाचनपछि उदाएको युवा नेतृत्वप्रतिको विश्वास, दुई ठूला शक्ति राष्ट्रबीचको गतिशील पुलका रूपमा नेपाललाई पुनर्परिभाषित, वैश्विक सङ्कटको वैचारिक राजनीतिक दिशानिर्देश आदि विषयहरूमा डा. भट्टराईको प्रस्तुति र दृष्टिकोणले नेपाललाई विश्व मञ्चमा नयाँ छवि निर्माण गर्न मद्दत गरेको छ।
तथापि मनमा एउटा थकथकी भने छ । भट्टराई संसद र सत्ताको राजनीतिबाट टाढा छन् । विश्वले चिनेजस्तै मेरो देशले पनि चिन्न सके ? उनको क्षमतालाई समृद्ध राष्ट्र निर्माणमा प्रयोग गर्न सके ?
(गुरुङ डा. भट्टराईका स्वकीय सचिव हुन् ।)
प्रतिक्रिया 4