+
+
Shares
विचार :

एआईको युगमा लोकतन्त्र: डिजिटल सुशासन र युवा

यी प्लेटफर्महरू सार्वजनिक विमर्शका अदृश्य सम्पादक बनेका छन्, जसले अरबौं मानिसले के हेर्छन्, उनीहरू के कुरामा रिसाउँछन् र उनीहरू केलाई सत्य मान्छन् भन्ने निर्णय गर्छन्।यस गतिशीलताले ध्रुवीकरण, लोकरिझ्याइँ र अविश्वासलाई बढावा दिन्छ, जसले लोकतान्त्रिक संस्थाहरूलाई खतरामा पार्छ।

डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई
२०८२ फागुन ३० गते १३:०२
Listen News
0:00
0:30
🔊

ठीक एक महिनाअघि, ‘भारत मण्डपम’ मा ‘सर्वजन हिताय, सर्वजन सुखाय’ अर्थात् सबैको कल्याण, सबैको खुसी भन्ने प्रेरणादायी मूल मन्त्रका साथ ‘एआई इम्प्याक्ट समिट’ सम्पन्न भएको थियो। प्रविधिको प्रयोग मानवजातिको कल्याण र खुसीका लागि गर्ने यस्तो महान् दृष्टिकोणमा आधारित रहेर भारतले अन्तर्राष्ट्रिय भेला आयोजना गरेको देख्नु एक अविस्मरणीय क्षण थियो। भारतमा पढेको र जीवनका महत्त्वपूर्ण वर्षहरू बिताएको एक व्यक्तिको रूपमा र भारतको सबैभन्दा नजिकको छिमेकी देश नेपालको एक नागरिकको रूपमा, यो प्रगति देख्दा मलाई अत्यधिक गर्व र आशावादको अनुभूति हुन्छ।

आज मलाई बोल्न दिइएको विषय, ‘एआईको युगमा लोकतन्त्र: डिजिटल सुशासन र युवा’, जटिल मात्र छैन, अत्यन्त सान्दर्भिक पनि छ। म स्वीकार गर्छु कि शीर्षकमा भएको ‘युवा’ शब्दले मलाई विशेष रूपले आकर्षित गर्‍यो- एउटा ७१ वर्षीय वृद्धभित्र लुकेको यौवनलाई।

जब म मेरो आफ्नै युवावस्थालाई फर्केर हेर्छु, मलाई अक्सर लाग्छ कि मैले दुईवटा फरक सभ्यताहरूमा जीवन बिताएको छु। म नेपालमा सानो छँदा हाम्रो गाउँमा बिजुली थिएन। त्यहाँ टेलिफोन थिएन, टेलिभिजन थिएन र पत्रपत्रिकाको पहुँच पनि निकै सीमित थियो। सूचनाको प्रमुख स्रोत र फराकिलो विश्वसँग जोडिने मेरो एकमात्र माध्यम रेडियो थियो।

मलाई अझै पनि मेरो स्कुलको परीक्षाको नतिजा सार्वजनिक भएको दिन याद छ। मैले रेडियोमा मेरो नाम र प्राप्ताङ्क सुनेँ, जसले मलाई नेपालको राष्ट्रिय बोर्ड परीक्षामा प्रथम भएको जानकारी दियो। त्यतिबेला हामीसम्म सूचना यसरी नै पुग्थ्यो: एउटै साझा आवाज, एउटै साझा क्षण, एउटै साझा यथार्थ।

त्यतिबेला मैले महसुस गरेको थिइनँ कि म लोकतन्त्रको एउटा आधारभूत कुराको अनुभव गरिरहेको थिएँ: ‘साझा सूचना भण्डार’ । सबैले एकै समयमा एउटै तथ्य सुन्थे। यथार्थलाई व्यक्तिगतीकरण गरिएको थिएन।

आजका युवाहरू पूर्ण रूपमा फरक सूचनाको वातावरणमा बाँचिरहेका छन्। उनीहरू एउटा साझा आवाज सुन्दैनन्।

उनीहरू अल्गोरिदमद्वारा निर्देशित अरबौं व्यक्तिगत आवाजहरू सुन्छन्। सूचनालाई मानिसको ध्यान तान्नको लागि छानेर, फिल्टर गरेर र अनुकूलित गरेर प्रस्तुत गरिन्छ। आजका युवाहरू पहिलेभन्दा धेरै कनेक्टेड छन्, तर पनि उनीहरू अक्सर आफूलाई एक्लो महसुस गर्छन्। उनीहरूसँग पहिलेभन्दा धेरै सूचना छ, तर सत्य वा झुटको बारेमा उनीहरू झनै अन्योलमा छन्।

प्रविधिले हामीलाई तुरुन्तै सूचना प्राप्त गर्न सक्षम बनाएको छ। तर एउटा गम्भीर प्रश्न अद्यापि छ: के हामी साँच्चै बुद्धिमान् बन्दैछौँ, वा केवल सूचनाको भारले थिचिएका मात्र छौँ?

पेशाले एक आर्किटेक्ट भएको नाताले, म यी प्रविधिहरूले ल्याएका अभूतपूर्व फाइदाहरू राम्रो स्वास्थ्य सेवा, शिक्षा, भौतिक सुखसुविधा, आर्थिक अवसर, लोकतान्त्रिक पहुँच र ज्ञानको आदानप्रदान लगायतलाई पनि स्वीकार गर्छु ।

मैले आफ्नै जीवनकालमा यस्ता परिवर्तनहरू देखेको छु जुन इतिहासका विरलै कालखण्डहरूले यति छोटो समयमा देखेका होलान्।

तर सँगसँगै, एउटा विरोधाभासपूर्ण कुरा पनि भइरहेको छ। ग्यालप जस्ता संस्थाहरूले गरेका सर्वेक्षणहरूले देखाउँछन्- प्रायःले जेनजी भन्ने आजको युवा पुस्ता- मेरो पुस्ता लगायत अघिल्ला पुस्ताहरूको तुलनामा आफ्नो भविष्यलाई लिएर उच्च स्तरको चिन्ता, अनिश्चितता र निराशावादबाट गुज्रिरहेको छ।

यो हाम्रो समयको सबैभन्दा ठूलो विरोधाभासमध्ये एक हो। एकातिर, हामी अभूतपूर्व प्राविधिक प्रचुरताको युगमा बाँचिरहेका छौँ। अर्कोतिर, धेरै युवाहरू आफ्नो भविष्यलाई लिएर अनिश्चित महसुस गरिरहेका छन्: रोजगारीबारे अनिश्चित, आर्थिक स्थायित्वबारे अनिश्चित र परिवार निर्माण तथा अर्थपूर्ण जीवन जिउने कुरामा अनिश्चित।

यस विरोधाभासको एउटा हिस्सा हामीले उत्सव मनाइरहेका तिनै प्रविधिहरूमा लुकेको छ। एआई, रोबोटिक्स र अटोमेसन (स्वचालन) को तीव्र विकासले पहिल्यैदेखि अर्थतन्त्र, श्रम बजार, सुशासन प्रणाली र हाम्रा राजनीतिक प्रक्रियाहरूलाई समेत रूपान्तरण गरिरहेको छ। एकातिर यी प्रविधिहरूले अपार सम्भावनाहरू ल्याइरहेका छन् भने अर्कोतिर गम्भीर जोखिमहरू पनि खडा गरिरहेका छन्।

नोबेल पुरस्कार विजेता अर्थशास्त्री ड्यारोन एसेमोग्लुले चेतावनी दिएजस्तै, एआई विकासको वर्तमान मार्गचित्रले उनले भन्ने गरेको मेसिनको उपयोगिताभन्दा पनि अटोमेसन र कामदारको निगरानीमा बढी जोड दिइरहेको छ। मेसिनको उपयोगिता भन्नाले त्यस्ता प्रविधिहरूलाई बुझिन्छ जसले मानव क्षमतालाई प्रतिस्थापन गर्नुको सट्टा त्यसलाई अझ वृद्धि गर्छन्।

जब अटोमेसनले केवल मानव श्रमलाई प्रतिस्थापन गर्छ, यसले कामदारहरूलाई किनारा लगाउन, असमानतालाई गहिरो बनाउन र मध्यम वर्गलाई कमजोर पार्न सक्छ। यसको परिणाम मेसिनको स्वामित्व भएकाहरू र पहिले ती मेसिनसँगै काम गर्नेहरू बीचको खाडल फराकिलो हुनु हुन सक्छ। इतिहासकार र सार्वजनिक बौद्धिक व्यक्ति युभल नोआ हरारीले चेतावनी दिँदै भनेका छन् कि यसले एउटा यस्तो वर्गको उदय गराउन सक्छ जसलाई उनी ‘अनुपयोगी वर्ग’ भन्छन् । ती मानिसहरू जो आर्थिक रूपमा अनावश्यक भइसकेका छन् किनभने मेसिनले उनीहरूको काम गरिरहेको छ।

यदि यस्तो परिदृश्य उत्पन्न भयो भने, यो केवल एउटा आर्थिक समस्या मात्र हुनेछैन। यो सम्पूर्ण पुस्ता, विशेषगरी युवाहरूलाई प्रभावित पार्ने एउटा सामाजिक र राजनीतिक चुनौती हुनेछ।

रोजगारी बजार र अर्थतन्त्रको दायराभन्दा बाहिर, अर्को डर वा सम्भावना के छ भने एआईले राजनीतिक प्रक्रिया र विमर्शलाई पुनर्आकार दिइरहेको छ। कानुनविद् लरेन्स लेसिगका शब्दमा भन्नुपर्दा, अल्गोरिदममा आधारित प्रणालीहरूले बढ्दो रूपमा ‘लोकतन्त्रलाई ह्याक’ गरिरहेका छन्।

मेरो युवावस्थामा, रेडियोले यथार्थप्रतिको हाम्रो साझा बुझाइ निर्माण गर्थ्यो। आज, अल्गोरिदमले त्यस्तै भूमिका निर्वाह गर्छ- तर एउटा महत्त्वपूर्ण भिन्नताका साथ। सामाजिक सञ्जाल प्लेटफर्महरूले मानिसको ध्यानलाई अधिकतम बनाउन डिजाइन गरिएका सिफारिस गर्ने प्रणालीहरू (रेकमेन्डेसन) प्रयोग गर्छन्। विडम्बनाको कुरा, जसले ध्यानलाई सबैभन्दा प्रभावकारी रूपमा तान्छ, त्यो प्रायः आक्रोश, ध्रुवीकरण र अतिवादी सामग्री नै हुन्छ।

उनीहरू (प्लेटफर्महरू) सार्वजनिक विमर्शका अदृश्य सम्पादक बनेका छन्, जसले अरबौं मानिसले के हेर्छन्, उनीहरू के कुरामा रिसाउँछन् र उनीहरू केलाई सत्य मान्छन् भन्ने निर्णय गर्छन्।

यस गतिशीलताले ध्रुवीकरण, लोकरिझ्याइँ र अविश्वासलाई बढावा दिन्छ, जसले लोकतान्त्रिक संस्थाहरूलाई खतरामा पार्छ।

यसबाहेक, यी प्रणालीहरूले मानव व्यवहारलाई समेत रूपान्तरण गरिरहेका छन्।

हामी पहिलेभन्दा धेरै कनेक्टेड छौँ, तर पनि हामी बढ्दो रूपमा अल्गोरिदमद्वारा सिर्जना गरिएका इको चेम्बरभित्र बाँचिरहेका छौँ, जसले हाम्रा विद्यमान विश्वासहरूलाई मात्रै थप मजबुत बनाउँछन्।

हामी पहिलेभन्दा धेरै सुसूचित छौँ, तर पनि हामी गलत सूचना, हेरफेर र डिपफेकको सिकार हुने जोखिममा बढ्दो रूपमा छौँ।

नेपालमा हालै सम्पन्न निर्वाचनका क्रममा हामीले यीमध्ये केही चुनौतीहरू प्रत्यक्ष रूपमा अनुभव गर्‍यौँ। चुनावी अभियानहरू बढ्दो रूपमा सडकबाट स्क्रिन (पर्दा) तर्फ सरे।

सामाजिक सञ्जालका प्लेटफर्महरूमा डिपफेक, गलत सूचना र तोडमोड गरिएका सामग्रीहरू व्यापक रूपमा फैलिए। यी उपकरणहरूले मतदाताहरूलाई भ्रमित पार्न, सार्वजनिक बहसलाई विकृत गर्न र लोकतान्त्रिक प्रक्रियाहरूमाथिको विश्वासलाई कमजोर बनाउन सक्छन्।

अझ चिन्ताजनक कुरा त के छ भने, केही विद्वानहरूले जसलाई ‘झुटाको लाभांश’ भन्छन्, त्यसको उदय भइरहेको छ।

एकपटक डिपफेक व्यापक भइसकेपछि, गलत कामको कुनै पनि वास्तविक प्रमाणलाई ‘त्यो भिडियो नक्कली हो, त्यो एआईले बनाएको हो’ भनेर खारेज गर्न सकिन्छ। मैले अघि नै भनेजस्तै, लोकतन्त्र साझा तथ्य वा साझा सूचना भण्डारमा निर्भर हुन्छ। जब तथ्यहरू नै अस्वीकार गर्न मिल्ने बन्छन्, लोकतन्त्र भत्किन थाल्छ।

अर्को गम्भीर चिन्ता भनेको डिजिटल संसारमा शक्तिको केन्द्रीकरण हो। विश्वव्यापी सूचना प्रवाहलाई निर्देशित गर्ने अल्गोरिदमहरू बढ्दो रूपमा मुठीभर शक्तिशाली प्रविधि कम्पनीहरूको नियन्त्रणमा छन्। यी कम्पनीहरू कुनै पनि मतदाताप्रति जवाफदेही छैनन्। उनीहरूको मुख्य उद्देश्य लोकतान्त्रिक भन्दा पनि व्यापारिक हुन्छ।

जब सरकारहरू एआईलाई नियमन गर्ने प्रयास गर्छन्, उनीहरू प्रायः यस्ता निकायहरूसँग सम्झौता गरिरहेका हुन्छन् जोसँग धेरै राज्यहरूसँग भन्दा बढी आर्थिक र प्राविधिक स्रोतहरू हुन्छन्। यस्तो परिस्थितिमा, लोकतन्त्र विस्तारै डिजिटल अल्पतन्त्रमा परिणत हुने जोखिम रहन्छ।

विकासशील देशहरूका लागि यो जोखिम अझ ठूलो हुन सक्छ। ड्यारोन एसेमोग्लुले ‘डेटा उपनिवेशवाद’ को परिघटनाबारे चेतावनी दिएका छन्।

यो तब हुन्छ जब देशहरू आफ्नो आफ्नै प्राविधिक सार्वभौमसत्ता विकास नगरी अन्यत्र विकसित एआई प्रणालीहरूमा निर्भर हुन्छन्। यदि राष्ट्रहरू पूर्ण रूपमा बाह्य प्रणालीहरूमा भर पर्छन् भने, उनीहरूले यी प्रविधिहरू कसरी सञ्चालन हुन्छन् र तिनले कसको सेवा गर्छन् भनेर निर्धारण गर्ने क्षमता गुमाउँछन्।

यद्यपि, यस रूपान्तरणमा दक्षिण एशिया केवल एक निष्क्रिय दर्शक मात्र होइन।

हाम्रो क्षेत्र विश्वकै सबैभन्दा ठूलो युवा जनसंख्या भएको क्षेत्र हो, र हामी पहिलो ‘एआई-नेटिभ’ (एआई सँगै हुर्किएको) राजनीतिक पुस्ताको उदय देखिरहेका छौँ।

सामाजिक सञ्जालमार्फत युवाहरूको परिचालनले कसरी राजनीतिक आन्दोलन र लोकतान्त्रिक प्रक्रियाहरूलाई प्रभाव पार्न सक्छ भन्ने हामीले देखेका छौँ।

तर एउटा महत्त्वपूर्ण कुरा याद राख्नु जरुरी छ: प्रविधिले परिवर्तनको आकांक्षा सिर्जना गर्दैन, मानिसले गर्छ।

नेपालमा, अन्य धेरै देशहरूमा जस्तै, युवाहरूले जवाफदेहिता, राम्रो सुशासन र आफ्नो भविष्य निर्माणमा बृहत्तर सहभागिताको माग गरे। सामाजिक सञ्जालले उनीहरूलाई संगठित हुन र यी आकांक्षाहरू व्यक्त गर्न उपकरण प्रदान गर्‍यो।
युवाहरू अल्गोरिदममा आधारित प्रणालीका केवल निष्क्रिय उपभोक्ता मात्र होइनन्। उनीहरू तिनलाई आकार दिने सक्रिय सहभागी पनि बन्न सक्छन्।

र यसले मलाई एउटा महत्त्वपूर्ण बुँदामा ल्याइपुर्‍याउँछ: एआईको भविष्य पूर्व-निर्धारित छैन।

कुनै पनि प्रविधि, चाहे त्यो एआई होस् वा अन्य केही, एक्लै विकास हुँदैन। यो राजनीतिक छनोटहरू (हामी प्रविधिलाई कसरी नियमन गर्छौँ), आर्थिक प्रोत्साहनहरू (हामी प्रविधिलाई कसरी डिजाइन गर्छौँ), र सामाजिक मूल्यमान्यताहरू (यसले कसको स्वार्थको सेवा गर्छ) मार्फत विकसित हुन्छ।

त्यसैले वास्तविक प्रश्न यो होइन कि एआईले हाम्रो भविष्यलाई आकार दिन्छ कि दिँदैन। प्रश्न यो हो कि: हामी एआईलाई कसरी आकार दिन्छौँ? सायद, हामीले एआई विकास गइरहेको विद्यमान बाटोभन्दा फरक बाटो खोज्नुपर्छ।
आर्थिक रूपमा, हामी मानव श्रमलाई प्रतिस्थापन गर्ने भन्दा पनि त्यसलाई पूरक बनाउने एआई प्रणालीहरूलाई प्राथमिकता दिन सक्छौँ।

सरकारहरूले कर नीतिहरूमा सुधार गर्न सक्छन् ताकि मानव रोजगारी भन्दा अटोमेसनले बढी प्रोत्साहन नपाओस्।

सुशासनमा, हामी ‘सार्वजनिक एआई’ – सार्वजनिक हितका लागि लोकतान्त्रिक निगरानीमा सिर्जना गरिएका एआई प्रणालीहरू विकास गर्न सक्छौँ।

सार्वजनिक संस्थाहरूद्वारा विकसित ओपन-सोर्स एआई मोडलहरूले निजी कर्पोरेट अल्गोरिदमहरूको पारदर्शी र जवाफदेही विकल्प प्रदान गर्न सक्छन्।

निर्वाचनहरूमा, हामी एआई-निर्मित सामग्रीहरू खुलाउनुपर्ने नियमहरू ल्याउन सक्छौँ, यस्ता सामग्री पहिचान गर्ने प्रविधिहरू विकास गर्न सक्छौँ, र डिजिटल साक्षरतालाई बलियो बनाउन सक्छौँ ताकि नागरिकहरूले म्यानिपुलेसन (हेरफेर) लाई चिन्न सकून्।

कृत्रिम बौद्धिकता आफैंमा लोकतन्त्रको शत्रु होइन। वास्तविक खतरा केन्द्रीकृत शक्ति र शक्तिशाली प्रविधिको संयोजनमा लुकेको छ।

यदि हामीले एआईको विकास र प्रयोगलाई लोकतान्त्रिकीकरण गर्‍यौँ भने, यी प्रविधिहरूले वास्तवमै लोकतान्त्रिक सहभागितालाई कमजोर बनाउनुको सट्टा बलियो बनाउन सक्छन्।

मैले युवाहरूको बारेमा कुरा सुरु गरेको हुनाले, म उनीहरूका लागि केही विचारहरू राख्न चाहन्छु।

पहिलो, बलियो डिजिटल साक्षरता विकास गर्नुहोस्। अल्गोरिदमहरू कसरी काम गर्छन् भनेर बुझ्नुहोस्। डिपफेकहरू चिन्न सिक्नुहोस्। सामाजिक सञ्जालले कसरी सूचना प्रवाहलाई आकार दिन्छ भनेर बुझ्नुहोस्। प्रविधि कुनै रहस्यमय ‘ब्ल्याक बक्स’ बनेर रहनु हुँदैन।

दोस्रो, अटोमेसनलाई निष्क्रिय रूपमा स्वीकार नगर्नुहोस्- यसका सर्तहरू आफैं निर्धारण गर्नुहोस्। यदि तपाईंको डेटा एआई प्रणालीहरूलाई तालिम दिन प्रयोग गरिन्छ भने, तपाईंले त्यसबाट लाभ पाउनुपर्छ। यदि अटोमेसनले उत्पादकत्व बढाउँछ भने, त्यसको लाभ समाजभरि बाँडिनुपर्छ।

तेस्रो, प्रविधिको केवल उपभोक्ता मात्र होइन, निर्माता बन्नुहोस्। दक्षिण एसियाका केही भागहरूमा, विशेषगरी भारतमा, युवा आविष्कारकहरूले सार्वजनिक सेवा, स्वास्थ्य सेवा र शिक्षाका लागि एआई प्रणालीहरू डिजाइन गरिरहेका छन्।
यस क्षेत्रभरिका युवाहरू प्रविधिलाई आकार दिन संलग्न हुनुपर्छ ताकि यसले केवल नाफालाई अधिकतम बनाउनुको सट्टा मानिसहरूको सेवा गरोस्।

मेरो जीवनकालमा, मैले मेरो गाउँलाई बिजुली नभएको ठाउँबाट विश्वव्यापी डिजिटल अर्थतन्त्रसँग जोडिएको समाजमा रूपान्तरण भएको देखेको छु।

जुन प्राविधिक शक्तिहरूले अरबौं मानिसहरूमाझ बिजुली, साक्षरता र स्वास्थ्य सेवा पुर्‍याए, तिनै शक्तिहरूसँग अहिले हाम्रो भविष्यलाई पुनर्आकार दिने अपार शक्ति छ।

प्रश्न यो होइन कि हामी पछाडि फर्किनुपर्छ- त्यो न सम्भव छ न त वाञ्छनीय नै।

प्रश्न यो हो कि के हामी एउटा यस्तो भविष्य निर्माण गर्न सक्छौँ जहाँ प्रविधिले मानव मर्यादाको सेवा गर्छ, जहाँ एआईले लोकतन्त्रलाई कमजोर बनाउनुको सट्टा बलियो बनाउँछ?

दक्षिण एसियाको विशाल युवा जनसंख्याले हामीलाई एक अद्वितीय अवसर प्रदान गरेको छ।

यदि हामीले शिक्षा, खुला ज्ञान, जिम्मेवार सुशासन र क्षेत्रीय सहकार्यमा लगानी गर्‍यौँ भने, हाम्रो क्षेत्रले अझ बढी लोकतान्त्रिक डिजिटल भविष्य निर्माण गर्न नेतृत्वदायी भूमिका खेल्न सक्छ।

दक्षिण एसियाले पहिले नै विश्वव्यापी प्रविधि इकोसिस्टममा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको छ। लाखौं दक्षिण एसियालीहरू डिजिटल अर्थतन्त्रमा काम गर्छन्, र धेरै विश्वव्यापी प्रविधि कम्पनीहरूका नेतृत्वकर्ताहरू यही क्षेत्रबाट आएका छन्।

तर चुनौती के हो भने: हामीले हाम्रो ज्ञान र प्रतिभालाई केवल विश्वव्यापी प्राविधिक उद्योगहरू सञ्चालन गर्न मात्र होइन, हाम्रा आफ्नै समाजहरूलाई माथि उकास्न कसरी प्रयोग गर्न सक्छौँ?

यसका लागि युवाहरूको नेतृत्व आवश्यक छ। यसका लागि सही मूल्यमान्यताद्वारा निर्देशित नेतृत्व आवश्यक छ।

हालै नेपालमा युवाहरूले इतिहास रचेका छन्। उनीहरूले बहालवाला सरकारलाई सत्ताच्युत गरेका छन् र संसदीय निर्वाचनमा शानदार जित हासिल गरेका छन्। हामी सबै सतर्कतासहितको आशावादका साथ हेरिरहेका छौँ।

‘सर्वजन हिताय, सर्वजन सुखाय’ अर्थात् सबैको कल्याण, सबैको खुसी भन्ने प्राचीन विचारले एक शक्तिशाली नैतिक आधार प्रदान गर्छ।

मानिसमा हुने सहकार्य र प्रतिस्पर्धाका अन्तर्निहित गुणहरूलाई एकीकृत गर्ने वैज्ञानिक मानवतावादको दर्शन, र ‘वसुधैव कुटुम्बकम्’ अर्थात् विश्व एक परिवार हो भन्ने नैतिक सिद्धान्तसँग जोडिएर, यी विचारहरूले हामीलाई सम्झाउँछन् कि विज्ञान र प्रविधिले अन्ततः मानवताको सेवा गर्नुपर्छ।

एआई केवल आर्थिक प्रतिस्पर्धा वा प्राविधिक महत्त्वाकांक्षाद्वारा मात्र निर्देशित हुनु हुँदैन।

यो नैतिकता, करुणा र सामूहिक उत्तरदायित्वद्वारा पनि निर्देशित हुनुपर्छ।

एआईले समाजका खराब प्रवृत्तिहरूलाई बढावा दिनु हुँदैन। यसको सट्टा, यसले साझा हित र मानव प्रगतिलाई अगाडि बढाउन मद्दत गर्नुपर्छ।

सामूहिक कल्याणलाई जोड दिने आफ्नो गहिरो दार्शनिक परम्परा भएको दक्षिण एसियाले एआईको विकासलाई यी मूल्यमान्यताहरूतर्फ निर्देशित गर्न अद्वितीय भूमिका खेल्न सक्छ।

र अन्त्यमा, म यो सरल विचारका साथ आफ्नो कुरा टुङ्ग्याउन चाहन्छु: एआईको भविष्य कुनै नियति होइन। यो एउटा छनोट हो।

र आज हामीले गर्ने छनोटहरूले नै निर्धारण गर्नेछन् कि एआई लोकतन्त्रलाई बलियो बनाउने शक्ति बन्छ वा कमजोर बनाउने; यसले युवाहरूका लागि अवसरहरू सिर्जना गर्छ वा उनीहरूलाई आर्थिक रूपमा अनुपयोगी भएको महसुस गराउँछ; र यसले अन्ततः मानव क्षमतालाई बढाउँछ वा घटाउँछ।

(शनिबार नयाँ दिल्लीमा एनएक्सटी २०२६ ग्लोबल समिटमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले राखेको विचारको सम्पादित अंश)

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री समेत रहेका लेखक प्रगतिशील लोकतान्त्रिक पार्टीसँग आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?