 
																			११ वैशाख, काठमाडौं । अन्तिम मत परिणाम नआउँदै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले तनहुँ–१ को उपनिर्वाचनमा हार स्वीकारेका छन् । सामाजिक सञ्जालमार्फत् मतदातालाई धन्यवाद दिदै भट्टराईले पराजय स्वीकारेका हुन् ।
‘सायद, मेरो तपाईँप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ’, भट्टराईले लेखेका छन् । पराजय स्वीकार्दासम्म देखिएको मत अनुपात कायम रहे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेसँग उनी १० हजारबढी मतान्तरले पराजित हुनेछन् ।
भट्टराईको पराजयसँगै एक सिट गुमाएर प्रतिनिधिसभामा अब कांग्रेस ८८ सिटको शक्ति हुनेछ । यसले राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका तत्काललाई बदलिने देखिदैन । तर जुन परिस्थिति र स्थानमा कांग्रेसले उपनिर्वाचन हारेको छ, राष्ट्रिय राजनीतिमा यसको अर्थपूर्ण सन्देश गएको छ ।
कांग्रेस नेतृत्व भने यस्तो नतिजा कुनै हालतमा रोक्न चाहन्थ्यो । त्यसैले सभापति शेरबहादुर देउवाले ६ वैशाखमा तनहुँको डुम्रेबजारमा आयोजित सभाबाटै गोविन्द भट्टराईलाई मन्त्री बनाउने घोषणा गरेका थिए । देउवाको त्यो घोषणामा समर्थन जनाउँदै प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भट्टराईलाई मन्त्री बनाउने आश्वासन दिएका थिए ।
‘माननीय शेरबहादुरजीले उहाँ (गोविन्द) मन्त्री हुनुहुन्छ, भन्नुभयो । म प्रधानमन्त्री छु, मन्त्री बनाउने मैले हो, अहिले’ प्रचण्डले भनेका थिए । भट्टराईलाई जिताउन प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराई लगायत नेता लिएर देउवा डुम्रे पुगेका थिए ।
महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा त २० चैतमा मनोनयन दर्ता भए लगत्तैबाट भट्टराई जिताउन लागि परेका थिए । अरू कांग्रेस नेताहरुको यो क्षेत्रमा भीड नै लागेको थियो । सत्ता गठबन्धनका अरू दलका नेताहरु पनि उत्तिकै तागत लगाएर खटिएका थिए । तर, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुसहित सिंगो नेतृत्वले अपिल गर्दा पनि रास्वपाका वाग्लेले चुनाव जित्ने लगभग पक्का छ ।
जबकी वाग्लेको पक्षमा मतदानको अपिल गर्ने ठूलो नेता भनेकै पार्टी सभापति रवि लामिछाने र रास्वपाका युवा नेताहरु थिए । कांग्रेस नेतृत्वप्रति गम्भीर आरोप लगाएर रास्वपा प्रवेश गरेकाले पनि स्वर्णिमलाई जित्न सजिलो थिएन । किनकि कांग्रेसको बलियो विरासत र आधार क्षेत्र हो, तनहुँ । यहीबाट गत ४ मंसिरको चुनावमा जितेका रामचन्द्र पौडेल २५ फागुनमा मुलुकको तेस्रो राष्ट्रपति निर्वाचित भए । ०७४ को चुनाव बाहेक २०४८ साल यताका सबै चुनाव पौडेलले जितेका थिए । तनहुँमा चुनाव जितेका पौडेल सभामुख, गृहमन्त्री, मन्त्री र पार्टीको कार्यबाहक सभापति समेतको भूमिकामा रहे ।
पूर्व गृहमन्त्री एवम् कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी यही क्षेत्रका नेता हुन् । पौडेल जस्तै जोशी पनि कांग्रेसभित्र कुनै समय प्रभावशाली नेता थिए, भावी नेतृत्व भनेरै चिनिने गरेको थियो ।
अहिले पनि यो क्षेत्रका कांग्रेस नेताहरु राष्ट्रिय राजनीतिको चर्चामा छन् । नेवि संघका पूर्व केन्द्रीय अध्यक्ष प्रदीप पौडेल गत वर्ष पुसमा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार थिए । काठमाडौं–५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरी अहिले पौडेल सांसद छन् । यही क्षेत्रका अर्का नेता शंकर भण्डारी, तनहुँ–२ बाट सांसद छन् । अशोककुमार श्रेष्ठ, रघु पौडेल, ध्रुब वाग्ले, रामचन्द्र पोखरेलहरु पनि यही क्षेत्रका नेता हुन् ।
अझ यो उपनिर्वाचनमा कांग्रेस उम्मेदवार भट्टराईलाई सत्ता गठबन्धनको समर्थन थियो । गत मंसिरको चुनावमा समानुपातिकतर्फ कांग्रसले २०,१५८, माओवादीले ७,३२६ र एकीकृत समाजवादीले ९५० मत पाएको थियो । त्यो भनेको सत्ता गठबन्धनसँग २८,४८१ मत आधार थियो ।
प्रत्यक्षतर्फ पाएको मतले पनि कांग्रेस उम्मेदवार सहज अवस्थामा देखिन्थे । गत चुनावमा एमालेका एकबहादुर रानाले १९, ९८१ मत पाउँदा कांग्रेसबाट रामचन्द्र पौडेलले २५,३६१ मत ल्याएर जितेका थिए । प्रदेशसभामा पनि सत्ता गठबन्धनका उम्मेदवारहरुले मात्रै जितेका थिए । तनहुँ–१ (क) मा कांग्रेसका अशोककुमार श्रेष्ठले जित्दा (ख) बाट माओवादी केन्द्रका हरिबहादुर चुमानले जितेका थिए । अहिले चुमान गण्डकी प्रदेश संसदीय दलको नेता रहेका उनी मुख्यमन्त्री बन्ने दौडमा छन् ।
जबकी त्यो चुनावमा रास्वपाका विकास सिग्देलले ६,८८६ मत मात्रै पाएका थिए । समानुपातिकतर्फ भने रास्वपाले १२,७७३ मत ल्याएको थियो । यसमा फरक भनेको त्यसबेला उम्मेदवार बनेर ६,८८६ मत ल्याएका पुराना कांग्रेस नेता गोविन्दराज जोशी यसपटक मैदानमा नदेखिनु थियो । उनको समर्थनले वाग्लेलाई राहत पुगेकै देखिन्छ । तर जस्तो पृष्ठभूमिमा वाग्लेले जित्दैछन्, यसले रास्वपाको सिट संख्या बढ्नु भन्दा कांग्रेस हार्नुको सन्देश धेरै अर्थपूर्ण छ ।
‘सत्ता, शक्ति र पैसाले मत प्रभावित हुन्छन् भन्ने परम्परागत बुझाइ उपनिर्वाचनले बदलिदियो’, यहाँका एक नेता भन्छन्, ‘कांग्रेसको गढमा कांग्रेसकै नेतृत्वमाथि आरोप लगाएर पार्टी छोड्नेले जित्दा देशभर नकारात्मक पनि सन्देश गयो ।’ उनको बुझाइमा, अब परम्परागत सोंच र शैलीले पार्टीहरु चल्न सक्दैन भन्ने यो उपनिर्वाचनले सन्देश दिएको छ ।
झनै खुम्चियो एमाले
तनहुँ–१ को उपनिर्वाचनले कांग्रेसलाई जस्तै नोक्सानी एमालेलाई पनि पुगेको छ । कांग्रेसको मत बाँडिदा आफ्ना उम्मेदवार सर्वेन्द्र खनालले जित्ने हिसाब सुनाइरहेको एमालेले यो उपनिर्वाचनमा पार्टी मत समेत जोगाउन सकेन ।
गत मंसिरको चुनावमा सत्ता गठबन्धनको समर्थन पाएका पौडेल भन्दा एमालेका राना ५ हजारले मात्रै पछाडि थिए । तर काठमाडौं–६ मा चुनाव हारेका प्रहरीका पूर्व प्रमुख सर्वेन्द खनालले यसपटक त्यति मत ल्याउने देखिदैन । ‘अचम्मै भयो, पार्टीका कार्यकर्ताले पनि उहाँलाई भोट हालेनछन्’, एमाले नेता एकबहादुर राना भन्छन् ।
गत चुनावमा यो क्षेत्रमा समानुपातिकतर्फ एमालेले १६,६८३ मत पाएको थियो । तर यो उपनिर्वाचनमा खनालले त्यति मत ल्याउने संभावना देखिँदैन । ‘यो उपनिर्वाचनमा पुराना पार्टीहरुको विश्लेषण फेल खायो’, राना भन्छन्, ‘हामीलाई अबको राजनीति झनै गाह्रो हुने देखियो ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4