+
+

कसरी सजाउने बैठक कोठा ?

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० वैशाख १७ गते १७:०९

काठमाडौं । अंग्रजीमा एउटा भनाइ छ- ‘फस्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन’ । यसको अर्थ पहिलो भेटमा पारेको प्रभाव नै अन्तिमसम्म पनि कायम रहन्छ भन्ने हो ।

बैठक कोठा घरको सबैभन्दा मुख्य र जोकोहीलाई आकर्षित गर्ने मुख्य ठाउँ हो । घरको सजावट र वातावरण कस्तो छ भन्ने कुराको बैठक कोठाले संकेत दिन्छ । त्यसैले बैठक कोठामा आगन्तुकको पहिलो नजर पर्ने भएकाले यसको सजावटमा विशेष ध्यान दिने गरिन्छ ।

बैठक कोठालाई कसरी सजाउने ? यो चिन्ता प्रायःलाई हुन्छ । काठमाडौंको शंखमूलस्थित इन्टेरियर पोइन्ट प्रालिका प्रबन्ध निर्देशक चन्द्रप्रसाद हुमागाईं बैठक कक्षलाई यसरी नै सजाउनुपर्छ भन्नै निश्चित नियम नभएको बताउँछन् । डिजाइन आ-आफ्नो रुचि अनुसार हुने उनी बताउँछन् ।

‘कसरी सजाउने र कुन सामान कहाँ र कता राख्ने भन्ने कुरा तपाईंको घरको अवस्थाले निर्धारण गर्छ,’ भन्छन् ।

डिजाइन छनोट

बैठकको कोठा सजाउँदा मुख्य ध्यान दिनुपर्ने कुरा हो, कोठाको साइज । कोठाको साइज कत्रो छ, भित्ता कस्तो छ ? त्यसकै आधारमा आवश्यक डिजाइन गरिने हुमागाईं बताउँछन् ।

‘सबै घरको बनावट एउटै हुँदैन । कुनै कुनै घरमा त चारैतिर भित्ता नभई दुईतिर वा एकतिर पूरै लाइट आउने गरी सिसा राखिएको हुन्छ,’ हुमागाईं भन्छन्, ‘त्यसैले यसमा पनि चारैतिर भित्ता भएको कोठामा जसरी डिजाइन गर्न सकिंदैन । वेबसाइट वा फोटो हेरेर मात्रै डिजाइन तय गर्नु राम्रो नहुनसक्छ ।’

चल्तीका डिजाइन

बैठक कोठा सामान्यतया तीन किसिमले सजाउन सकिने हुमागाईं बताउँछन् ।  जसमा आधुनिक, परम्परागत र फ्युजन शैली छन् ।

अहिलेको लागि सुलभ विधि भनेको आधुनिक शैलीले बैठक कोठाको सजाउनु नै हो । यसमा बनिबनाउ आधुनिक सामग्रीहरु राखेर छोटो समयमा डिजाइन गर्न सकिन्छ । यसो गर्दा समयको बचत हुनुका साथै खर्च पनि तुलनात्मक रुपमा कम लाग्छ ।

अर्को तरिका परम्परागत शैलीले सजाउने हो । यसमा काठ, बुट्टेदार इँटा, फर्निचर, डिको पेन्ट लगायत राखिन्छ । परम्परागत सामग्री प्रयोग हुने भएकाले यसमा खर्च केही बढी पर्न जान्छ । पछिल्लो समय मानिसमा आधुनिक भन्दा परम्परागत ढंगको सजावटतर्फ आकर्षण बढेको देखिन्छ ।

फ्युजन शैली आधुनिक र परम्परागत दुवैको सम्मिश्रण हो । यसमा भित्ता आधुनिक शैलीमा सजावट गरे अन्य कुरा परम्परागत ढंगले गर्न सकिन्छ । अहिले यही शैली बढी चलेको हुमागाईं बताउँछन् । ‘यो आधुनिकभन्दा महंगो र परम्परागत शैलीभन्दा केही सस्तो पर्छ,’ उनी भन्छन् । यी शैलीमध्ये आफ्नो आवश्यकता, रुचि र आर्थिक क्षमता हेरेर कुनै पनि शैलीमा बैठक कोठाको सजावट गर्न सकिन्छ । डिजाइन कस्तो देखिन्छ भन्ने हेर्न पहिले थ्रीडीमा हेरेर मात्रै काम अघि बढाउँदा झन्झट कम हुन्छ ।

के के सामग्री सजाउने ?

बैठक कोठामै धेरैजसो समय बितिरहेको हुन्छ । पारिवारिक भलाकुसारी, पाहुना आउँदा बस्ने ठाउँ, टिभी हेर्ने ठाउँ समेत भएकाले बैठक कोठामा धेरै कुरा व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

त्यसैले बैठक कोठामा आकर्षक फर्निचर राख्नुपर्छ । जसतै सोफा, टेबल, दराज, लाइट, अन्य कलाकृति, पर्दाको राम्रो ‘कम्बिनेसन’ मिलाउनुपर्ने हुमागाईं सुझाउँछन् ।

टेलिभिजन बैठक कोठाको एक महत्वपूर्ण सामग्री हो । यसलाई सोफामा बसेर सहज ढंगले हेर्न सकिने गरी भित्तामा वा टिभी स्ट्याण्डमा राख्न सकिन्छ । साथै बैठक कोठालाई आकर्षक देखाउन वालपेपर पनि राख्न सकिन्छ । त्यसबाहेक एक्वेरियम, कुनै सम्मानपत्र, पुरस्कार छन् भने तिनलाई पनि राख्न सकिन्छ ।

अहिले बैठक कोठाभित्र चिटिक्क परेको सानो पुस्तकालय, बार, फायर हाउस समेत बनाउने चलन बढ्दै गएको छ ।

कति खर्च लाग्छ ?

इन्टेरियर डिजाइन भन्ने बित्तिकै महंगो पर्छ होला भन्ने धेरैको सोच हुन्छ । यसमा कोठाको साइज, सजावटमा प्रयोग गरिने सामग्रीलगायतमा भर पर्ने हुमागाईं बताउँछन् ।

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?