+
+

लुम्बिनीका मुख्यमन्त्री चौधरीले १९ वैशाखमा विश्वासको मत लिने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १७:४५

१७ वैशाख, दाङ । लुम्बिनीका नव नियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वैशाख १९ गते विश्वासको मत लिने भएका छन् ।

प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशन बमोजिबम प्रदेश सभाको बैठक मंगलवार बिहान ११ बजे आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सोही दिन नवनियुक्त मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने छन् ।

शुक्रबार पदभार ग्रहणपछि देउखुरीमा बसेको मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री चौधरीले वैशाख १८ गते सोमबार विश्वासको मत लिने निर्णय गरेको थियो । तर प्रदेश सभा सचिवालयमा आइतबार बिहान मात्रै विश्वासको प्रस्ताव दर्ता भएकाले मंगलवार बैठक आह्वान गरिएको प्रदेश सचिवालयका सचिव दुर्लभकुमार पुनले बताए ।

‘विश्वासको प्रस्तावका लागि मुख्यमन्त्रीले ४८ घण्टा अगाडी नै सचिवालयमा सूचना दिनुपर्ने व्यवस्था छ’ प्रदेश सभाका सचिव पुनले भने, ‘तर आइतवार बिहान १० बजेमात्रै  सचिवालयमा विश्वासको प्रस्ताव दर्ता हुन आयो । यो हिसाबले ४८ घण्टा गणना गर्दा मंगलवार हुन गयो ।’ सचिवालयमा विश्वासको प्रस्ताव दर्तामा ढिलाई भएकाले बैठक मंगलवार तय गरिएको उनले बताए ।

५३ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेसका चौधरी बिहिवारमात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्रीसँगै माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे विना विभागीय मन्त्री बनेका छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक प्रदेशसभा सदस्‍य गरी ५३ प्रदेशसभा सदस्‍यको समर्थन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?