+
+

सामाजिक विषयको प्रश्नपत्र अंग्रेजीमा पनि सोध्ने तयारी किन भइरहेको छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते १७:०९

१८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षामा सामाजिक अध्ययन विषयको नमूना प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा बनाएको छ ।

नमूना प्रश्नपत्र सार्वजनिक भएसँगै बोर्ड निजी क्षेत्रको प्रभावमा परेको आरोप लाग्न थालेको छ । परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले भने प्रतिकृया लिनका लागि मात्र दुवै भाषामा नमूना प्रश्नपत्र बनाएको बताएका छन् ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा र पाठ्यक्रमले अनिवार्य नेपाली विषयमा पठनपाठन गर्नुपर्ने र प्रश्नपत्र नेपालीमा बनाउनुको मर्म नबुझेर निजी विद्यालय सञ्चालकहरुको प्रभावमा परेको एक शिक्षक आरोप लगाउँछन् । उनी भन्छन्, ‘सामाजिक अध्ययन विषयको प्रश्नपत्र अंग्रेजीमा बनाउनु ठिक बेठिक भन्दा पनि विद्यार्थीले लेख्ने कलाको विषयमा, संस्कृतिको विषयमा मर्म अनुसार अंग्रेजी माध्यमबाट लेख्न सक्छन् कि सन्दैनन् भन्ने मूल कुरा हो । हचुवाको भरमा निजीको प्रभावमा परेर काम गर्नुभएन भन्ने हो ।’ सामाजिक अध्ययन विषयको शैक्षिक सामग्री, पठनपाठन, प्रश्नपत्र फेरबदल गर्नु अगाडि बृहत छलफल हुनुपर्ने उनको भनाइ छ ।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला अंग्रेजी र नेपाली भाषा भनेर फरक नपर्ने भए पनि सोधिएको प्रश्नमा अंग्रेजीमा लेख्न सक्छन् सक्दैनन् भन्ने विषयमा अध्ययन हुुनुपर्ने बताउँछन् । ‘अंग्रेजी र नेपाली भाषाले फरक परिहाल्ने त होइन तर सोधिएको प्रश्नको मर्म अंग्रेजीमा भन्न सक्छन् सक्दैनन् भन्ने हो ।’

उनी भन्छन् ‘हाम्रा चाडवाडको मर्म अंग्रेजीमा भन्न जान्छन् जान्दैनन्, हाम्रो बिस्का पर्वबारे मर्म नमर्ने गरी अंग्रेजीमा भन्न, बुझाउन सक्छन् कि सक्दैनन् भन्ने मूल कुरा हो ।’ सामाजिक अध्ययनमा समाजमा मनाइने चाडपर्व, कला, संस्कृतिको विषयमा पठनपाठन हुने भएकाले ती कुराहरु बुझाउन, भन्न हुने गाह्रोलाई सल्टाउने चिन्तनबारे कुराकानी हुनुपर्ने उनको भनाइ छ ।

सरकार आफूले गरेको कुनै पनि निर्णयप्रति कटिबद्ध हुन सक्दैन भन्ने कुरा सामाजिक अध्ययन विषयको प्रश्नपत्र अंग्रेजीमा पनि बनाउने निर्णयले देखाएको अर्का एक शिक्षक बताउँछन् । उनी भन्छन्, ‘सामाजिक अध्ययन विषयलाई अनिवार्य नेपालीमा बनाउने निर्णय कुने लहडमा गरिएको होइन । त्यसको एसेन्स जीवित राख्नलाई गरिएको थियो । तर अहिले कुनै समूह तथा क्षेत्रको दबावको आधारमा परिवर्तन हुनु हुँदैन थियो ।’ अंग्रेजीमा लेख्न, बुझाउन सक्ने भएपनि सामाजिक अध्ययन विषयबारे निर्णय परिवर्तन हुन नहुने उनको जिकिर छ ।

के छ व्यवस्था ?

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्क्रम प्रारुप २०७६ मा विद्यालय तहको पाठ्यसामग्री र पठन पाठनको भाषाबारे उल्लेख छ । त्यहाँ सामाजिक अध्ययन पठनपाठन तथा प्रश्नपत्र नेपालीमा हुनुपर्ने व्यवस्था छ ।

त्यहाँ लेखिएको छ, ‘विद्यालय शिक्षाको सिकाइ सहजीकरण प्रक्रियाका लागि आधारभूत तहमा माध्यम भाषा मातृभाषा वा नेपाली भाषा हुनेछ । सामाजिक अध्ययन र मानवमूल्य/चारित्रिक शिक्षा लगायत नेपाली कला, संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तुहरु बाहेक अन्य विषयका लागि भने अंग्रेजीलाई पनि माध्यम भाषा बनाउन सकिने नीति अवलम्बन गरिनेछ । माध्यमिक तहमा भने नेपाली वा अंग्रेजी माध्यम भाषा हुनेछ तर सामाजिक अध्ययन र मानवमूल्य/चारित्रिक शिक्षा लगायत नेपाली कला, संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तुहरुको पठनपाठनका लागि पाठ्यसामग्री र माध्यम नेपाली भाषा हुनेछ ।’ यदि फेरबदल गर्नुपर्ने भए पाठ्यक्रम तथा मूल्याङ्कन परिषद्ले निर्णय गरेको हुनुपर्नेछ ।’

पाठ्यक्रम विकास केन्द्रका महाप्रबन्धक बैकुण्ठ प्रसाद अर्याल पनि सामाजिक विषयको प्रश्नपत्रको भाषा फेरबदल भएको जानकारी नपाएको बताउँछन् । उनी भन्छन्, ‘पाठ्यक्रम प्रारुप तथा पाठ्यक्रममा सामाजिक अध्ययनको शैक्षिक सामग्री, पठनपाठन तथा प्रश्नपत्र नेपालीमा हुनुपर्ने व्यवस्था छ । यदि फेरबदल गर्नुपर्ने भए परिषद्ले निर्णय गर्नुपर्ने हुन्छ । परिषद् निर्णय गरे/नगरेको मलाई जानकारी छैन ।’

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले परिषद्ले निर्णय नगरिसकेको तर प्रतिकृया लिनको लागि दुवै भाषामा नमूना प्रश्नपत्र बनाएको बताए । उनले भने, ‘पाठ्यक्रम तथा मूल्याङ्कन परिषद् बैठकले निर्णय गरेपछि मात्रै लागू हुने हो । अहिले हामीले प्रतिक्रिया तथा सुझावको लागि दुवै भाषामा नमूना प्रश्नपत्र बनाइएको हो ।’

नेपालीमा मात्रै प्रश्नपत्र बनाउनुपर्ने भनिएको विषयमा कुनै पनि निर्णय नभइ अंग्रेजीमा पनि नमूना प्रश्नपत्र बनाउनको कारणबारे उनी भन्छन् ‘विद्यार्थीहरुका गुनासाहरु आए । हामीले अंग्रेजीमा पनि लेख्न पाए हुन्थ्यो भन्ने भएकाले प्रतिकृयाको लागि राखिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?