१८ वैशाख, काठमाडौं । २८ दिनदेखि मिटरब्याज पीडितको मुकाम बनेको छ राजधानीको शान्तिबाटिका ।
यी २८ दिनमा मिटरब्याज पीडितहरु कहिले सिंहदरबार अगाडि पुग्छन्, कहिले संसद भवन अगाडि त कहिले प्रधानमन्त्री निवास अगाडि । जहाँ पुगेपनि पीडितहरु साँझ ओत लाग्न भने शान्तिवाटिकास्थित पाटीमा फर्किन्छन् ।
शान्तिवाटिकाको सामुहिक भान्सामा भात खाने यी सयौं मानिसको पीडा पनि सामूहिक छ ‘मिटर ब्याज’ । घरबार चलाउन साहुसंग ऋण लिएका यिनीहरु त्यही ऋणको दलदलमा यसरी फसे कि अहिले उनीहरु त्यो दलदलबाट निकालिमाग्न सरकारको साथ खोजिरहेका छन् ।
सरकारको साथ पाउने आश लिएर आएका उनीहरुमाथि ४ वैशाखमा प्रहरीले लाठीचार्ज गर्यो । ‘हाम्रो जीवनमा आँशुको के कमी थ्यो र हामी माथि आँसु(अश्रु)ग्यास हान्यो सरकारले’, सिरहाकी मञ्जुदेवी सदा गुनासो गर्छिन् ।
मिटरब्याज विरुद्धको आन्दोलनमा आएका नवलपरासी प्रतापपुर गाउँपालिका–५ का रामकवल चमारमाथि ४ वैशाखमा प्रहरीले लाठी हान्यो । उनको हात भाँचियो । शान्तिवाटिकामा त्रिपालको ओत लागेर बसिरहेका ७० वर्षे रामकवललाई हारेर गाउँ जान मन छैन ।
‘म यही मर्छु तर गाउँ जान्न’, भाँचिएको हात उचाल्न खोज्छन् रामकवल ।
५ कठ्ठा जमिन दृष्टिबन्धक राखेर ८० हजार रुपैयाँ ऋण लिएका उनले ९ लाख रुपैयाँ तिरिसके । तर, साहुले अझै उनको जग्गा फुकुवा गरेको छैन । साहुको हिसाबमा अझै उनले १ लाख ७३ हजार रुपैयाँ तिर्न बाँकी छ ।
उनको हाँत भाँचिएको खबर गाउँ पुगिसकेको छ, छोरा र श्रीमती काठमाडौं आउन खोजेका थिए । ‘सरकारसंग म एक्लै लड्छु तिमीहरु नआऊ भनेँ’, रामकवल सुनाउँछन् ।
२८ दिनदेखि लालाबालासहित पीडितहरु शान्तिवाटिकामा धर्ना बसिरहेका छन् । २ वर्षको बच्चा काखी च्यापेर झरीमा रुझ्दै, ‘जाली तमसुक खारेज गर’, भन्दै नारा लगाइरहेकी छिन् द्रौपदीदेवी राम ।
रुखको ओत लाग्दै द्रौपदीदेवी राम साहुले दिने तनाव झेल्न नसकेर बच्चा बोकेर आन्दोलनमा आइन् । ‘साहुले घरैमा आएर दिनकै तनाव दिन्छ । त्यो तनावका अगाडि यहाँको दुःख त केही होइन’ उनी भन्छिन् ।
द्रौपदीको कुरामा थप्छन् शिवशंकर राम । ‘खेतबारी सबै साहुले लगिसक्यो गाउँ फर्केर पनि हाम्रो त के छ र ?’ मिटरब्याजीले हत्याएका आफ्ना जग्गा, जमिन फिर्ता नहुँदासम्म गाउँ फर्किने छैनन द्रौपदी र उनीजस्तै मिटरब्याज पीडित ।
२८ दिनदेखि घामपानी नभनेर शान्तिवाटिकामा धर्ना बसिरहकी मञ्जु सदाले अझै हार मानेकी छैनन् । आफ्ना माग पूरा नहुँदासम्म शान्तिवाटिका नछाड्ने अड्डी लिएकी छिन् उनले । ‘गाउँमा खेत नजोतियोस्, गहुँ, मकै नकाटियोस् १ वर्ष लागोस् कि ५ वर्ष लागोस् हामी यहाँबाट जाँदैनौ’, सदा भन्छिन् । सरकारले आफ्ना कुरा नसुने गाउँ गएर अरु पीडित महिला ल्याएर काठमाडौं आउने योजना बनाएकी छिन् उनले ।
करिब एक महिनासम्म शान्तिवाटिकामा धर्ना दिँदा पनि सरकारले वास्ता नगरेर आफूहरुलाई हेँला गरेको ठानेकी छिन् उनले ।
सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्न भनेर अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग बनाएको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा बनाइएको आयोगको कार्यालय १७ वैशाखमा गृहमन्त्रीले नै उद्घाटन गरेका छन् ।
तर, शान्तिवाटिकामा बसिरहेका मिटरब्याज पीडितले भने आयोगले आफ्ना समस्या समाधान गर्नेमा विश्वास देखाएनन् । रौतहटकी बोधकुमारी गिरी भन्छिन, ‘त्यो आयोगले पनि केही गर्ने होइन । त्यो आयोगले गर्ने जस्तै काम गर्ने भनेर सरकारले १ असोजमा नै हामीसंग सम्झौता गरेको थियो ।’
आयोगले १४ वैशाखमा मिटरब्याजबाट पीडितहरुलाई उजुरी गर्न आह्वान गरेको छ । यस अगाडि ७७ वटै जिल्ला प्रशासनले पनि यस्तै आह्वान गरेका थिए ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार आयोगले उजुरी लिएर छानबिन गरेपछि मिटरब्याजीलाई के–कस्तो कारबाही गर्ने भनेर सिफारिस गर्नेछ । उनी भन्छन्, ‘आयोगले कारबाही गर्ने व्यवस्था छैन । आयोगले उजुरी छानबिन गरेर मिलापत्र गराउने र कारबाहीका लागि सरकारसमक्ष सिफारिस गर्छ ।’
शान्तिवाटिकामा धर्ना बसिरहेका पीडितले भने साहुले हडपेको आफ्ना जग्गा जमिन फिर्ता पाउनुपर्ने, मिटरब्याज विरुद्ध तत्काल कानून बनाउनुपर्ने, मिटरब्याज सम्बन्धी लिखतहरु तत्काल अवैध घोषणा गर्नुपर्ने र मिटरब्याज पीडितलाई विपक्षी बनाएर अदालत पुगेका मुद्दाको सुनुवाइ स्थगित हुनुपर्ने माग राखेका छन् ।
यी माग पूरा नहुँदासम्म शान्तिवाटिका नछाड्ने बताउँछिन् बोधकुमारी गिरी । उनी भन्छिन्, ‘खेती लगाउने बेला हामी यहाँ छौं, साना बच्चा छाडेर यहाँ त्यत्तिकै त आएका होइनौं । हामी सबै चिज त्यागेर आएका छौं । हाम्रा माग पूरा नहुँदासम्म हामी शान्तिवाटिका छाडेर जाँदैनौं ।’
मिटरब्याज पीडितले मिटरब्याजलाई अपराध करार गर्दै छुट्टै कानून बनाउन माग गरेका छन्, सरकारले भने मुलुकी अपराध संहिता संशोधन गर्ने तयारी अगाडि बढाएको छ ।
शान्तिवाटिकामा रहेका पीडितको माग आयोगले नभई सरकारले सम्बोधन गर्ने विषय भएको बताउँछन् कार्की । उनले भने, ‘उहाँहरुले आयोगलाई नै शक्तिशाली बनाउनेगरी माग राख्नु भएको छ, कानुन बनाउने र उहाँले राखेका मागहरु त सरकारले सम्बोधन गर्नुपर्ने हो । हामीले उहाँहरुलाई पनि आयोगमा उजुरी भने गरिराख्नुहोस् भनेका छौं ।’
पर्सागढी नगरपालिका पर्साका ६० वर्षे गरिब मुखियाको एउटा आँखामा समस्या छ । २१ कट्ठा जमिन दृष्टिबन्धक राखेर २ लाख रुपैयाँ ऋण लिएका थिए उनले । महाजनले अहिले उनी विरुद्ध अदालतमा मुद्धा दायर गरेका छन् ।
मुद्धा मामिला थेग्न भनेर उनले आफ्नो श्रीमतीको नाममा रहेको १२ कट्ठा जमिन दृष्टि बन्धक राखेर फेरि ऋण लिए । ‘अहिले हामीसंग केही छैन, हामी रोडमा आइसक्यौं,’ गरिब मुखिया गुनासो गर्छन्, ‘सबै बर्बाद भइसक्यो ।’
रौतहट सन्तपुरकी सैरुल खातुनले छोरालाई विदेश पठाउन भनेर २ लाख ऋण लिएकी थिइन् । झरीको परवाह नगरीकन शान्तिबाटिकाको आँगनमा मिटरब्याज विरुद्ध नाराबाजी गरिरहेकी परिवार र सम्पत्ति जोगाउन आन्दोलनमा ओर्लिएकी छिन् ।
भन्छिन्, ‘बेटाबेटी छन् उनीहरुका लागि घरजग्गा बचाउ भनेर यो बारिसमा भिजेर आन्दोलन गरिरहेकी छुँ ।’ जग्गाजमिन नै साहुको नाममा गरेर छोरालाई इन्जिनियर पढाउन खोजेकी थिइन् उनले । तर, पैसा नपुगेपछि छोराको पढाई अधुरै रह्यो । र, उनी साहुको हातमा पुगिसकेको सम्पत्ति फिर्ता माग्दै शान्तिवाटिका आएकी छिन् । मिटरब्याज पीडितको पीडाले शान्तिवाटिकाको शान्ति बिथोलेको महिना दिन पुग्न लाग्यो ।
शान्तिवाटिका भित्रै छ ‘लौहपुरुष’ को उपमा पाएका गणेशमान सिहको शालिक । दृढताका प्रतिक मानिने सिंहको शालिकमुनि बसिरहेका यी पीडितले पनि न्यायका लागि लड्ने हौसला गुमाएका छैनन् । झरीमा रुझ्दै मिटरब्याजी विरुद्ध नारा लगाइरहेका वयोवृद्ध रामकवल चमारले घरमा खबर गरिसके, ‘जग्गा फिर्ता हुने पक्का भएपछि मात्र म आउँछु ।’
हेर्नुहोस् भिडियो र थप तस्वीरहरु
भिडियो/तस्वीर : शंकर गिरी
प्रतिक्रिया 4